१२ साउन २०८३, मंगलबार

सामान्य बिरामी हुँदा पढाइ अचेल पहिला जस्तो छुट्दैन...

सामान्य बिरामी हुँदा पढाइ अचेल पहिला जस्तो छुट्दैन...

सिन्धुपाल्चोकको दुर्गम पाँचपोखरी थाङपाल गाउँपालिका–४ मा रहेको थाङपालभ्याली माध्यामिक विद्यालयमा कक्षा १० मा अध्ययनरत छात्रा सविना सुनुवारको पढाइ अचेल पहिला जस्तो छुट्दैन । महिनावारी भएको समय तल्लो पेट दुखेर उनी कति पटक कक्षा छाडेर घर फर्किइन् । तर अहिले विद्यालयमा नै नर्सको व्यवस्था भएपछि उनले कुनै कक्षा छाड्न नपरेको बताउँछिन् ।  
 
विद्यालयमा कुनै विद्यार्थीलाई पढाइ भइरहेकै बेलामा सामान्य चोटपटक लाग्यो, टाउको वा पेट दुख्यो भने पढाइ नै छोडेर घर जानुपर्ने बाध्यता अझै पनि अधिकांश विद्यालयमा कायम छ । यो समस्या धेरै ठाउँका विद्यार्थीले भोग्दै आइरहेका पनि छन् । तर बागमती प्रदेश सरकारले विद्यालयमा ‘एक विद्यालय एक नर्स’ कार्यक्रम सुरु गरेपछि सिन्धुपाल्चोकका दुर्गम ठाउँका विद्यार्थीलाई भने पढ्दापढ्दै बीचमा नै घर जानुपर्ने बाध्यता हटेको छ ।

कोही बिरामी भए आराम कक्षको सुविधा छ । महिनावारी भईहालेमा विद्यालयमै सेनेटरी प्याड उपलब्ध छ । बिरामी भएमा दुखाइबारे सोधेर नर्सले औषधि दिन्छन् । कसैलाई चोटपटक लागे विद्यालयमा नै प्राथमिक उपचारको सुविधा छ । सम्बन्धित व्यक्तिबाटै स्वास्थ्य र सरसफाइबारे जानकारी पाउन थालेपछि विद्यार्थी पनि सचेत बन्न थालेको विद्यालय नर्स अस्मिता केसी बताइन् ।

शिक्षकसँग आफ्नो समस्या राख्न हिच्किचाउने विद्यार्थी अहिले नर्ससँग समस्याबारे खुलेर समस्या राख्न सक्ने भएका छन् । विद्यार्थीको उपचार मात्र हैन फोहर व्यवस्थापन, वातावरणीय सरसफाइ, पोषण, व्यक्तिगत सरसफाइलगायत पनि सुधार भएको छ । विद्यालय नर्स कार्यक्रमले विशेष गरी किशोरीलाई सहज भएको अर्का विद्यार्थी वर्षा धिताल बताउँछिन् । 

पाँचपोखरी थाङपाल गाँउपालिकाले सहज रुपमा प्राप्त हुने गरी सेनेटरी प्याड उपलब्ध गराइरहेको गाउँपालिका अध्यक्ष टासी लामाले बताए । 
जिल्लामा हालसम्म ४६ माध्यमिक विद्यालयमा ‘एक विद्यालय, एक नर्स’ कार्यक्रम सञ्चालनमा छन् । रासस

salt training

कमेन्ट गर्नुहोस्