
कला, सङ्गीत, साहित्य, अपाङ्गता र सामाजिक क्षेत्रका आठ व्यक्तित्व शनिबार सम्मानित भएका छन् । एक सय ५७औँ मोती जयन्तीका अवसरमा उनीहरूलाई सम्मान समर्पण गरिएको हो ।
सार्थक प्रकाशन बागलुङले विसं २०७८ को ‘सार्थक मोती सम्मान’ बलेवाका कमलकुमार जिसी र विसं २०७९ को सुदर्शनकुमार श्रेष्ठलाई प्रदान गरेको हो । जिसीले अपाङ्गता भएका व्यक्तिको शिक्षा र अधिकारका पक्षमा वकालत गर्दै आएका छन् ।
यस्तै धवल कला मन्दिरका तर्फबाट चार कलाकार सम्मानित भएका छन् । विसं २०७८ को ‘धवल मोती सम्मान’बाट कलाकार नारायणप्रसाद श्रेष्ठ मृत्युपर्यन्त र मुकुन्द शाक्य सम्मानित भएका छन् । यस वर्षको उक्त सम्मान कलाकारद्वय बेदविक्रम शाक्य र मधुसुदन श्रेष्ठलाई प्रदान गरिएको हो ।
उनीहरु कला र सङ्गीत विधातर्फबाट सम्मानित भएका हुन् । सोही समारोहमा स्मृति प्रकाशन बागलुङले बर्सेनि प्रदान गर्ने ‘स्मृति युवा सम्मान’ यस वर्ष दुई युवा स्रष्टालाई प्रदान गरिएको प्रकाशनका अध्यक्ष काजी रोशनले जानकारी दिए ।
विसं २०७८ को सम्मान पर्वत पाङका स्रष्टा गुणराज पौडेल ‘गुराँस’ र यस वर्षको सम्मान बागलुङको जैमिनी नगरपालिका निवासी स्रष्टा निर्मला सुवेदीलाई प्रदान गरिएको हो । पौडेलको मुक्तक कृति प्रकाशित छ भने सुवेदी जैमिनी साहित्य मञ्चका अध्यक्ष हुन् ।
समाजसेवी देवबहादुर श्रेष्ठ र प्रकाशनका अध्यक्ष रोशनले सम्मानित व्यक्तित्वलाई खादासहित सम्मानप्रत्र प्रदान गरेका थिए ।