
विदेशी संस्था र पालिकाको साझेदारीमा म्याग्दीको जलजला–३ मल्लाजस्थित विद्याज्योति माध्यमिक विद्यालयमा कक्षा कोठाको थप गर्न भवन निर्माण गरेको छ ।
विकास बेल्जियम र जलजला गाउँपालिकाको साझेदारीमा १ करोड ६० लाख रुपैयाँको लागतमा १० कोठे २ तले कक्षा कोठा भवन बनाइएको हो ।
विकास बेल्जियमका स्थानीय समन्वयकर्ता टेकबहादुर बरुवालले बिद्यालयको भवन बनाउन संस्थाले गाउँपालिकालाई १ करोड २९ लाख ७८ हजार १५६ रुपैयाँ उपलब्ध गराएको जानकारी दिए ।
‘विकास बेल्जियमको ७५ प्रतिशत र गाउँपालिकाको २५ प्रतिशत लागत साझेदारीमा १ वर्षअघि थालिएको भवन निर्माणको काम सकिएको छ,’ उनले भने, ‘सम्झौता अनुसार संस्थाले गाउँपालिकालाई सहयोग उपलब्ध गराइसकेको छ ।’
२ करोड १३ लाख ९५ हजार ७६२ लागत अनुमान गरिएको भवन निर्माणका लागि विक्रम संवत् २०७८ साउन ५ गते त्रिशक्ति कन्ट्रक्सन इन्जिनीयरिङले करसहित १ करोड ६० लाख ७२ हजार ९७२ रुपैयाँमा ठेक्का सम्झौता गरेको थियो ।
पुरानो भवन जीर्ण भएपछि नयाँ भवन निर्माणका लागि गाउँपालिका र विकास बेल्जियममा डीपीआर तयार पारेर प्रस्ताव गरिएको थियो । प्रधानाध्यापक रघुनाथ आचार्यका अनुसार १२ कक्षासम्मको पठनपाठन हुने विद्यालयमा २७० जनाभन्दा बढी विद्यार्थी छन् ।
विक्रम संवत् २००४ सालमा स्थापना भएको विद्याज्योति धवलागिरि क्षेत्रकै पुरानो विद्यालय मानिन्छ । विकास बेल्जियमले यसअघि धवलागिरि गाउँपालिकाका–७ मा ताकम माध्यमिक विद्यालयको भवन र बेनीको कालीपुलदेखि डिलफाँट हुँदै मल्लाजसम्म पदमार्ग निर्माण गरेको थियो । ३ चरणमा ८६ लाख ९ हजार २५२ रुपैयाँको लागतमा १ हजार ९५२ मिटर पक्की पदमार्ग निर्माण हो ।
ठाडो भीरको उकालोमा सिँढी र रेलिङ सहितको पदमार्ग निर्माण भएपछि बेनी बजारका साथै बगरफाँट वारिवेनी, जलजला गाउँपालिकाको बाँसखर्क, मल्लाज, लेकफाँट र नागीका वासिन्दालाई आवतजावतमा सहज भएको छ ।