
नेपाल मर्चेन्ट बैंकर संघको संयोजकत्वमा टुगेदर फर हेल्दी लाइफस्टाइल भन्ने नारासहित पहिलो पटक ‘एमबान स्पाेर्ट्स मिट २०२२’ सञ्चालन हुने भएको छ । स्पोर्टस् मिटअन्तर्गत विभिन्न खेलकुद प्रतियोगिताहरू आयोजना गर्न लागिएको हो । उक्त प्रतियोगितामा नेपाल मर्चेन्ट बैंकर संघका सदस्य संस्थाहरू साथै नियमक निकाय तथा अन्य सरोकारवाला निकायहरूसमेत सहभागी हुने आयोजकले जानकारी दिएको छ ।
उक्त प्रतियोगितामा फुटसल, टेबल टेनिस र ब्याटमिण्टनका विभिन्न विधामा समावेश गरिएको छ । उक्त प्रतियोगितामा पुरुष तथा महिला विधामा टेबल टेनिस र ब्याटमिण्टनका प्रतिस्पर्धाहरू हुनेछ भने पुरुष विधामा फुटसल प्रतिस्पर्धा समेत हुनेछ । सम्पूर्ण प्रतियोगिताहरू राष्ट्रिय तथा अन्तर्राष्ट्रिय नियमहरूको अधिनमा रही सञ्चालन हुने आयोजकले जानकारी दिएको छ ।
सो कार्यक्रमको उद्घाटनसहित टेबल टेनिस र ब्याटमिण्टनका प्रतिस्पर्धाहरु भदौ १७ र १८ गतेका दिन भत्केको पुलअवस्थित धनवन्तरी फुटसलमा हुनेछन् भने फुटसलका प्रतिस्पर्धाहरू प्रतियोगिता समापनसहित भदौ २४ र २५ गते चण्डोलमा अवस्थित ढुकु फुटसल हबमा आयोजना हुनेछन् ।