०८ असार २०८३, सोमबार
प्रतिनिधिसभा निर्वाचन

जोखना हेर्दै 'हेभीवेट' : कुन क्षेत्र रोज्ने भन्ने अलमलमा माधव, आरजुदेखि उपेन्द्रसम्म

भदौ १६, २०७९
जोखना हेर्दै 'हेभीवेट' : कुन क्षेत्र रोज्ने भन्ने अलमलमा माधव, आरजुदेखि उपेन्द्रसम्म

आसन्न प्रदेशसभा र प्रतिनिधिसभा चुनावको सरगर्मी हरेक दिन बढ्दै छ । राजनीतिक दलहरू चुनावी तयारीमा जुटिसकेका छन् । निर्वाचन क्षेत्रबाट सम्भावित उम्मेदवारहरूको नाम सिफारिश हुन थालेका छन् । 

चुनावमा उम्मेदवार बन्ने आकांक्षा राखेका नेताहरू मैदानमा खटिन थालेका छन् । मतदाताको माझमा उपस्थिति देखाउने, स्थानीयको समस्या सुन्ने र समाधानको पहल गर्ने गरी निर्वाचन क्षेत्रमा नेताहरूले पसिना चुहाइरहेका छन् ।

अन्य समयमा निर्वाचन क्षेत्रमा आक्कलझुक्कल मात्रै देखिने नेताहरू पनि दिनहुँ जनसम्पर्कमा रहेको जस्तो भान पार्नेगरी निर्वाचन क्षेत्रमा पुग्न थालेका छन् । त्यससँगै उनीहरू केन्द्रीय नेतृत्वमा टिकटको दाबेदारी गर्दै त्यसअनुसारको समीकरण मिलाउन पनि उत्तिकै खटिन थालेका छन् । 

तर, कतिपय शीर्ष नेता तथा सांसदहरू कहाँबाट चुनाव लड्ने भन्नेमा अझै अन्योलमै रहेका छन् । उनीहरू आफूलाई कुन निर्वाचन क्षेत्र उपयुक्त होला भनेर जाँच्ने क्रममै छन् । 

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले झापाको निर्वाचन क्षेत्र नम्बर–१ छाडेर काठमाडौंबाट उम्मेदवार बन्ने चर्चा भएपछि उनले कुनै हालतमा झापाबाटै उम्मेदवार बन्ने घोषणा गरेका छन् । उनले प्रेम एकतातिर घरजम अर्कोतिर नहुने स्पष्ट पारेका छन् । 

केही दिनअघि उनले ट्वीट गर्दै भनेका थिए, ‘फेरि प्रस्ट्याउँ– बाग्मतीको किनारलाई श्रद्धापूर्वक ढोग्ने हो । तर मान्छे म मेची र निन्दा किनारकै हो ! काठमाडौ– ५ मा चुनाव प्रचारमा पुग्नेछु नै । तर, उम्मेदवार बन्न चाहँदा गठबन्धनका अर्का मित्रलाई सम्मानसाथ साथमा लिएर, झापामै उम्मेदवार बन्नेछु । प्रेम उता घरजम यता हुने कुरै हुन्न ।’

२०७४ को चुनावमा एमाले र माओवादी केन्द्रको गठबन्धन हुँदा माओवादी केन्द्रका उम्मेदवार राम कार्कीले शर्मालाई पराजित गरेका थिए ।

अहिले कांग्रेस र माओवादी केन्द्रसहित सत्तारूढ गठबन्धनले चुनावी सहकार्य गर्ने निर्णय गरेको छ ।

माओवादी केन्द्रका कार्कीले पनि उम्मेदवार बन्ने बताइरहँदा कांग्रेस महामन्त्री शर्मा काठमाडौं–५ बाट उम्मेदवार बन्न सक्ने चर्चा चलेको थियो ।

कांग्रेस र माओवादीले गठबन्धन गर्नेभएपछि झापा– १ मा शर्मा र कार्कीमध्ये एकले छाड्नुपर्ने अवस्था आएको छ ।

कांग्रेस महामन्त्री शर्मा नै झापा–१ मा उम्मेदवार बन्ने भनेपछि कार्कीले विकल्प हेरिरहेको माओवादी केन्द्रभित्र चर्चा छ । 

माओवादी केन्द्रभित्र माक्र्सवादी चिन्तक र बौद्धिक नेताको रूपमा चिनिने कार्की ओलढुंगाको चिसङ्खुगढीको दियालेमा जन्मिएका हुन् ।

कार्कीको जन्मथलो भएको कारण पनि उनी चुनावमा ओलढुंगाबाट उम्मेदवार बन्न सक्ने चर्चा भइरहेको छ । 

ओखलढुंगा कांग्रेसका अर्का नेता रामहरि खतिवडाको निर्वाचन क्षेत्र हो । गत चुनावमा खतिवडालाई एमालेका उम्मेदवार यज्ञराज सुनुवारले पराजित गरेका थिए । त्यसैबेलादेखि खतिवडाले निर्वाचनको तयारी गरिरहेका छन् । खतिवडाले कुनै पनि हालतमा अर्को उम्मेदवारलाई निर्वाचन क्षेत्र छाड्न नसक्ने बताएका छन् । 

जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव पनि कहाँबाट चुनाव लड्ने भन्ने अझै यकिन भइसकेको छैन । उनी अहिले बारा क्षेत्र नम्बर– २ बाट उम्मेदवार सिफारिश भएका छन् । २०७४ मा यादव सप्तरी क्षेत्र नम्बर– २ बाट निर्वाचित भएका थिए । यादव सप्तरी– २ मै उम्मेदवार बन्ने चर्चा भए पनि त्यहाँ जनमत पार्टीका अध्यक्ष सीके राउतको चुनौती छ ।

नेकपा एमालेबाट छुट्टिएर एकीकृत समाजवादी पार्टीका अध्यक्ष बनेका माधव नेपाल पनि काठमाडौं क्षेत्र नम्बर– २ बाट उम्मेदवार बन्ने कि रौतहट क्षेत्र नम्बर– १ मा जाने भन्नेमा स्पष्ट भइसकेका छैनन् । तर, पार्टीको शक्ति हेर्दा नेपाललाई काठमाडौंभन्दा रौतहटबाट चुनाव जित्न सजिलो भएका कारण उनी यसपटकको चुनावमा रौतहटबाटै उम्मेदवार बन्न सक्ने एकीकृत समाजवादीका एक नेताले बताए । 

त्यसैगरी, कांग्रेस नेतृ एवं प्रधानमन्त्री पत्नी डा. आरजु राणा २०७४ को चुनावमा कैलाली– ५ बाट करीब ५ हजार मतान्तरले पराजित भएकी थिइन् ।

अहिले उनी सोही क्षेत्रबाट उम्मेदवार बन्ने चर्चा छ । त्यसबाहेक, बर्दिया र कञ्चरपुर– ३ बाट पनि राणालाई उम्मेदवार बनाउन सक्ने बारेमा कांग्रेसभित्र छलफल चलिरहेको छ ।

प्रधानमन्त्री देउवाले यसपटक राणालाई संसद्मा ल्याउन चाहेकाले उनका लागि सहज निर्वाचन क्षेत्रको खोजी भइरहेको कांग्रेसका नेताहरू बताउँछन् ।

नेपाली कांग्रेसका नेता चन्द्र भण्डारी २०७४ मा गुल्मी–१ बाट उम्मेदवार बनेका थिए । त्यसबेला एमाले–माओवादी गठबन्धनका एमाले उम्मेदवार प्रदीप ज्ञवालीले चुनाव जितेका थिए । त्यसबेला ज्ञवालीले ३७ हजार ८१४ मत प्राप्त गर्दा भण्डारीले ३० हजार २५६ मत मात्रै पाएका थिए ।

यसपटक कांग्रेस नेता भण्डारी गुल्मी नभई रूपन्देही– २ बाट चुनाव लड्न सक्ने चर्चा छ ।

गृहमन्त्री समेत रहेका कांग्रेस नेता बालकृष्ण खाँणले मतदाता नामावली स्थानीय तहको चुनाव अगाडि नै रूपन्देही क्षेत्र नम्बर– १ मा सारेका कारण उनी त्यहीँबाट चुनाव लड्ने आकलन कांग्रेसभित्र थियो । तर, स्थानीय तहको मत परिणामलाई हेर्दा रूपन्देही क्षेत्र नम्बर– १ भन्दा ३ सुरक्षित ठानेका कारण खाणले रूपन्देही– ३ बाट नै उम्मेदवार बन्ने रूचि देखाएको कांग्रेस नेताहरू बताउँछन् ।

नेता भण्डारीको गुल्मीबाट रूपन्देही झर्ने योजनामा गृहमन्त्री खाण बाधक बनिरहेको कांग्रेसकै नेताहरू बताउँछन् ।

अर्कोतर्फ, कांग्रेसमा यी दुई नेता फरक खेमामा छन् । खाण प्रधानमन्त्री देउवा निकट हुन् भने भण्डारी संस्थापनइतर समूहमा छन् । गुल्मीबाटै चुनाव लड्दा पनि भण्डारीलाई टिकट लिनै हम्मे पर्ने चर्चा स्थानीय नेताहरूले गर्ने गरेका छन् । गुल्मी– १ मा प्रधानमन्त्री देउवाका विश्वासपात्र चन्द्र केसीले चुनावी तयारी गरिरहेका छन् । 

गुल्मीको क्षेत्र नम्बर– २ मा पनि नेताहरूले मतदाताको मनस्थिति परीक्षण गरिरहेका छन् । उक्त निर्वाचन क्षेत्रमा एमालेका सचिव गोकर्ण विष्टले चुनाव जित्दै आएका छन् । तर, यसपटक एमालेका केन्द्रीय सदस्य राजेन्द्र अर्यालले पनि टिकटको दाबी गरिरहेका छन् ।

एमालेभित्र गोकर्ण विष्टलाई पार्टी अध्यक्ष केपी ओली खेमाले असहयोग गर्न सक्ने भएका कारण आगामी चुनावमा उनले निर्वाचन क्षेत्र परिवर्तन गरेर काठमाडौं– ६ बाट उम्मेदवार बन्नेबारे सामान्य चर्चा गरेको उनी निकट नेताहरू बताउँछन् ।

गुल्मी क्षेत्र नम्बर– २ बाटै उम्मेदवार बन्ने चर्चामा रहेकी एकीकृत समाजवादीकी सचिव तथा युवा नेतृ रामकुमारी झाँक्री अहिले भूगोलमा खटिएर मतदातासँग छलफल गरिरहेकी छिन् । 

आफ्नो जन्मथलो भएको र राजनीति जीवन पनि त्यहीँबाट शुरू भएका कारण गुल्मीसँग आफ्नो भावनात्मक सम्बन्ध रहेको रामकुमारीले बताउने गरेकी छिन् । उनी गुल्मीबाटै उम्मेदवार बन्ने अवस्थामा आफ्नै अग्रज नेता गोकर्ण विष्टसँग चुनावी प्रतिस्पर्धा गर्नुपर्ने हुन्छ । 

गुल्मी क्षेत्र नम्बर– २ अनुकूल नदेखेको अवस्थामा रामकुमारीले काठमाडौं क्षेत्र नम्बर–२ मा पनि चासो राखेकी छिन् । तर, काठमाडौं– २ मा एमाले र राप्रपाले चुनावी सहकार्य गर्न सक्ने भएकाले उनले यो क्षेत्रलाई त्यति सुरक्षित मानेकी छैनन् ।

शहरी विकास मन्त्री हुनुभन्दा अघि रामकुमारीले काठमाडौं क्षेत्र नम्बर– ५ को मतदाताको पनि मनस्थिति बुझ्ने प्रयास गरेकी थिइन् । तर, उनले काठमाडौं– ५ आफ्नो लागि त्यति अनुकूल नदेखेको निकटस्थहरूसँग बताउने गरेकी थिइन् । 

चुनावी तयारीका सन्दर्भमा उनले काठमाडौंमा स्वतन्त्र उम्मेदवारी दिन चाहने व्यक्तिहरूलाई समेत इंगेज गराइरहेकी छिन् । 

रामकुमारी काठमाडौंबाट उम्मेदवार बन्न चाहने अवस्थामा स्वतन्त्र उम्मेदवारहरूले सहयोग गर्ने वचन उनलाई दिएका छन् । रामकुमारी र स्वतन्त्र उम्मेदवारहरूका बीचमा बाक्लो संवाद भइरहेको उनी निकट एक नेताले जानकारी दिए । 

एकीकृत समाजवादीका सचिव एवं प्रदेश– १ का मुख्यमन्त्री राजेन्द्र राईलाई पार्टीले सुनसरी क्षेत्र नम्बर– १ बाट उम्मेदवार सिफारिश गरेको छ । यसअघि २०७४ को चुनावमा राई भोजपुर प्रदेश ‘क’ बाट प्रदेशसभा सदस्य निर्वाचित भएका थिए । 

सुनसरी– १ बाट सिफारिश भएपछि राईले भोजपुर छाडेर अन्यत्र उम्मेदवार बन्ने सोच नभएको प्रस्ट्याएका छन् । 

सुनसरी– १ बाट भएको सिफारिश पार्टीको मूल्यांकन र त्यहाँका नेता कार्यकर्ताको चाहनाको आधारमा भएकाले त्यसका आफ्नो कुनै माग नभएको राई बताउँछन् ।

salt training

कमेन्ट गर्नुहोस्