
सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र चितवनस्थित होटल जंगल क्राउन प्रालिबीच सिटिजन्स बैंकका कार्डबाहकहरूलाई विशेष छुट दिने समझदारीपत्रमा हस्ताक्षर भएको छ । सो समझदारीपत्रमा हस्ताक्षरपश्चात सिटिजन्स बैंकका कार्डबाहकहरूले होटल जंगल क्राउनले प्रदान गर्ने सेवाहरूमा १० प्रतिशतसम्मको आकर्षक छुट पाउनेछन् ।
यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरू लाभान्वित हुने साथै नगद कारोबारबाट डिजिटल कारोबारतर्फ उत्प्रेरित गर्ने विश्वास बैंकले लिएको छ । यस सुविधाबाट सेवाग्राहीहरूले गुणस्तरीय सेवा प्राप्त गर्नुका साथै अधिकतम लाभसमेत प्राप्त गर्न सक्नेमा बैंक विश्वस्त रहेको छ ।
ग्राहकहरूलाई वित्तीय आवश्यकताहरू सुरक्षित तवरले प्रदान गर्ने अभिप्रायका साथ यसअघि नै बैंकले कियोस्क, ई.के.वाई.सी। तथा नागरिक एपमार्फत अनलाइन खाता खोल्न सक्नेजस्ता सुविधाको शुरुवात गरिसकेको छ । साथसाथै, यस बैंकका ग्राहकहरूको बैंक सम्बन्धी जिज्ञासा तथा समस्याहरूको छिटोभन्दा छिटो समाधान प्राप्त होस् भन्ने उद्घेश्यले ग्राहक साहायता केन्द्रको समेत स्थापना गरिसकेको छ ।
जसबाट बैंकका ग्राहक सेवा प्रतिनिधिहरूसँग सम्पर्क गरी आफ्ना बैंकिङ्ग सम्बन्धी जिज्ञासा तथा समस्याहरूको समाधान शाखामा उपस्थित नभईकन फोनमार्फत वा ईमेल गरी प्राप्त गर्न सकिने बैंकले जनाएको छ । यस प्रकारको सेवाबाट बैंकका ग्राहकहरूले सहज रुपमा सेवा प्राप्त गरी लाभान्वित हुने तथा डिजिटल बैंकिङ सभ्यताको विकास हुने विश्वास बैंकले लिएको छ ।
सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी फैलिएका आफ्ना १८० वटा शाखा, १३२ वटा ए.टि.एम. र ९६ वटा शाखारहित बैंकिङ्ग इकाइहरूबाट करिव १४ लाख ४६ हजार ग्राहकवर्गलाई आधुनिक बैंकिङ सेवाहरू प्रदान गर्दै आएको छ ।