१६ असार २०८३, मंगलबार
तेस्रो कार्यकालतर्फ सी

चिनियाँ राष्ट्रपतिको तेस्रो कार्यकाल पक्का– सी झन् शक्तिशाली बन्दा विश्वमा के पर्ला प्रभाव ?

भदौ १६, २०७९
चिनियाँ राष्ट्रपतिको तेस्रो कार्यकाल पक्का– सी झन् शक्तिशाली बन्दा विश्वमा के पर्ला प्रभाव ?

चीनको सत्तारूढ कम्युनिस्ट पार्टीले असोज ३० गतेबाट पार्टीको २०औं महाधिवेशन आरम्भ हुने घोषणा यसै साता गरेको छ ।

महाधिवेशनमा दुई हजारभन्दा बढी पार्टी सदस्यहरूले २०० सदस्यीय केन्द्रीय कमिटीमा नयाँ अधिकारीहरू निर्वाचित गर्नेछन् ।

तीमध्ये केहीलाई २५ सदस्यीय पोलिटब्युरोमा लगिनेछ अनि अन्य केहीलाई शक्तिशाली सात सदस्यीय स्थायी कमिटीमा बढुवा गरिनेछ । 

वृद्ध हुँदै गएका नेताहरूको स्थानमा युवा नेतालाई पोलिटब्युरो तथा केन्द्रीय कमिटीमा भित्र्याउन सकिने विश्लेषकहरूको अनुमान छ । राष्ट्रपति सी चिनपिङले सन् २००२ देखि २००७ सम्म चच्याङ प्रान्तमा गभर्नर तथा पार्टी सचिवका रूपमा कार्यभार सम्हालेका थिए र आउँदो महाधिवेशनमा उनले चच्याङका नेताहरूलाई पोलिटब्युरोमा ल्याउन सक्ने बताइएको छ । 

चच्याङ प्रान्तमा अलीबाबा जस्ता चीनका ठूला प्रविधि कम्पनीहरूको केन्द्रीय कार्यालय छ । चीनलाई प्रविधिको क्षेत्रमा अग्रणी मुलुकका रूपमा उभ्याउने सीको आकांक्षा यसबाट झल्किन्छ ।

यो महाधिवेशन अत्यन्तै महत्त्वपूर्ण छ किनकि राष्ट्रपति सीलाई यसै महाधिवेशनले तेस्रो कार्यकाल चलाउनका लागि निर्वाचित गर्नेछ । सीले चीनका लागि आगामी पाँच वर्ष वा त्यसभन्दा पनि लामो समयसम्मका लागि आधारहरू बनाउन थालिसकेको चिनियाँ विश्लेषकहरू बताउँछन् । 

गत जुलाई महिनामा सीले एक सेमिनारमा महत्त्वपूर्ण सम्बोधन गरेका थिए । उक्त सम्बोधनमा उनले चीनलाई आधुनिक तथा समाजवादी मुलुक बनाउने दिशामा लैजाने मार्गचित्र प्रस्तुत गरेका थिए । आगामी पाँचमा गरिने राम्रो विकासले चीनलाई आउँदो शताब्दीमा हासिल गर्नुपर्ने लक्ष्यमा सघाउ पुग्ने उनले बताएका थिए । 

इन्टेलिजेन्स अन्लाइनले मंगलवार प्रकाशित गरेको एक सामग्रीअनुसार, सीले चीनको राज्य सुरक्षा (स्टेट सिक्योरिटी) मन्त्री चन वनछिङलाई ताइवानमाथि चीनको आक्रमण भएमा विदेशीहरूको कस्तो प्रतिक्रिया आउँछ भन्ने पत्ता लगाउनका लागि सूचना संकलन गर्न आदेश दिएका छन् । 

चिनियाँ चरित्रको समाजवाद तथा राष्ट्रिय पुनरुत्थानको लक्ष्यप्राप्तिका लागि आउँदो महाधिवेशनमा पार्टीले नीति तथा कार्यक्रमहरू प्रस्तुत गर्ने सीले जानकारी दिएका छन् । त्यस लक्ष्यप्राप्तिको जग पाँच वर्षमा खन्नुपर्ने भनी प्रकारान्तरले आफ्नो तेस्रो कार्यकाललाई सीले संकेत गरेका हुन् ।

हुन पनि विश्व व्यवस्थामा आइरहेको तीव्र परिवर्तनमा चीनलाई स्थिर राख्न तथा विश्व मञ्चमा दरिलो उपस्थिति गराउन सी जस्तै दृढनिश्चय भएका नेता आवश्यक छन् । अहिले उनको ठाउँ लिन सक्ने हैसियत भएको अर्को कुनै पनि चिनियाँ नेता देखिँदैन । प्रधानमन्त्री ली खछ्याङलाई उनको सम्भावित उत्तराधिकारीका रूपमा हेरिएको थियो तर उनले राजनीतिबाट संन्यास लिने घोषणा गरिसकेका छन् । 

सीले तेस्रो कार्यकाल चलाउने छनक सन् २०१८ मै दिइसकेका थिए । त्यो वर्ष चीनको संसद् नेसनल पिपुल्स कंग्रेसले संविधान संशोधन गरी राष्ट्रपति पदको कार्यकाल हटाएको थियो । त्यसको दुई वर्षअघि सीलाई पार्टीले केन्द्रीय नेता समेत घोषणा गरेको थियो । 

संशोधित प्रावधानले सीलाई आजीवन कार्यकाल चलाउने अनुमति दिएको भए पनि उनी त्यसमा शायद रुचि राख्दैनन् । तर त्यस संविधान संशोधनलाई कार्यान्वयन गर्नैका लागि भए पनि उनले तेस्रो कार्यकाल चलाउने पक्का छ । 

सीलाई चुनौती दिने नेताहरू बग्रेल्ती रहेको र पार्टीमा अन्तर्विरोध चर्केको भनी पश्चिमाहरूले हल्ला फिँजाएको भए पनि सी नै सर्वमान्य नेताका रूपमा स्थापित भइसकेका छन् । आफ्ना विरोधीहरूलाई उनले भ्रष्टाचारविरोधी अभियानमार्फत ठेगान लगाइसकेका छन् । 

आउँदो महाधिवेशनमा सीले प्रस्तुत गर्ने राजनीतिक प्रतिवेदन तथा नियुक्त गर्ने पार्टी अधिकारीहरूको टुंगो लागिसकेको छ । कम्युनिस्ट पार्टीले १० वर्षमा एकपटक नयाँ अधिकारी नियुक्तिको निर्णय लिने गर्छ । 

त्यस्तो निर्णय लिनका लागि चिनियाँ नेताहरू अगस्टको आरम्भमा बेताइख रिजोर्टमा गएर सहमति गर्ने गर्छन् । त्यसबाट पनि थाहा हुन्छ, सीलाई तेस्रो कार्यकाल चलाउनका लागि खासै बाधाअवरोध हुने छैन । 

सीले तेस्रो कार्यकाल चलाएमा त्यसबाट चीन र बाँकी विश्वमा कस्तो असर पर्ला ? 

सबभन्दा महत्त्वपूर्ण घटनाक्रम त ताइवानमा विकसित हुन सक्छ । अमेरिकी संसद्की सभामुख न्यान्सी पलोसीको विवादास्पद भ्रमणपछि ताइवानलाई चीनको मुख्यभूमिसँग पुनरेकीकरण गर्नका लागि तथा अमेरिकालाई दण्ड दिनका लागि चीनमा चर्को आवाज उठिरहेको छ । चीनका राष्ट्रवादीहरूको सन्तुष्टिका लागि चिनियाँ जनमुक्ति सेनाले ताइवान जलसन्धिमा कठोर सैन्य अभ्यास गरेको भए पनि ताइवानमाथि आक्रमण नै चाहिँ गरेन । 

तर पार्टी महाधिवेशनमा सीको स्थिति बलियो बनिसकेपछि चीनले ताइवानमा कारवाही चलाउन सक्छ । त्यसको तयारी चीनले शुरू गरिसकेको देखिन्छ । 

इन्टेलिजेन्स अन्लाइनले मंगलवार प्रकाशित गरेको एक सामग्रीअनुसार, सीले चीनको राज्य सुरक्षा (स्टेट सिक्योरिटी) मन्त्री चन वनछिङलाई ताइवानमाथि चीनको आक्रमण भएमा विदेशीहरूको कस्तो प्रतिक्रिया आउँछ भन्ने पत्ता लगाउनका लागि सूचना संकलन गर्न आदेश दिएका छन् । 

अमेरिकाले ताइवानलाई सैन्य प्रतिरक्षा गरेमा उसका साझेदारहरूले त्यसलाई कसरी लिनेछन् भनी स्टेट सिक्योरिटी मन्त्रालयले जान्न चाहेको छ । त्यससँगै ताइवान आक्रमणपछि चीनमाथि लगाइन सक्ने सम्भावित प्रतिबन्धलाई झेल्नका लागि चिनियाँ जनता र व्यवसायीहरूलाई तयार पार्ने काम पनि पार्टीले गरिरहेको छ । 

अझ स्टेट सिक्योरिटी मन्त्रालयले युक्रेनमाथि रुसको विशेष सैन्य कारवाहीपछि पश्चिमले लगाएको प्रतिबन्धका विषयमा अध्ययन गरेर प्रतिवेदन पनि बुझाइसकेको बताइएको छ । उक्त प्रतिवेदनले रुसविरुद्ध जस्तो चीनविरुद्ध पश्चिमले लामो समय प्रतिबन्ध लगाउन नसक्ने उल्लेख भएबाट चिनियाँ नेताहरूलाई ताइवानमाथि आक्रमण गर्न हौसला प्राप्त भएको बताइएको छ । 

आफ्नो तेस्रो कार्यकालमा ताइवानलाई चीनमा मिसाउने लक्ष्य हासिल गर्न सके माओ चतोङ जस्तै सर्वकालीन महान् नेता बन्न सकिने सोच सीले राखेका हुन सक्छन् । 

तेस्रो कार्यकालमा घरेलु मोर्चामा पनि सीले विभिन्न समस्याहरूको समाधानका लागि प्रयास गर्नुपर्नेछ । शून्य कोभिड नीतिका कारण लगाइएको कठोर बन्दाबन्दीले चिनियाँ जनता आजित भइसकेका छन् । 

सीएनएनकी नेक्टर गानका अनुसार, यस नीतिले चीनको आर्थिक वृद्धिलाई समेत रोकिरहेको छ । आर्थिक वृद्धि रोकिनु भनेको पार्टीको वैधतामा प्रश्न उठ्ने अवसर निर्माण हुनु हो । त्यस्तै चीनमा युवा बेरोजगारी २० प्रतिशतले बढेको गान उल्लेख गर्छिन् । 

अनि ग्रामीण क्षेत्रमा रहेको बैंकमा भएका घोटाला तथा घरजग्गा व्यवसायमा देखिएको संकटलाई पनि सीले समाधान गर्नुपर्नेछ । जलवायु परिवर्तनले निम्त्याएको सुक्खा तथा बाढीका कारण पुगेको क्षति न्यूनीकरणमा पनि उनले ध्यान दिनुपर्ने हुन्छ । 

सबभन्दा मुख्य कुरा त, चीनले लगातार आर्थिक वृद्धि हासिल गरी सम्पत्ति पुनर्वितरण पनि गर्नुपर्नेछ । तर कोभिडपछि विश्वको अर्थतन्त्र नै डामाडोल भइरहेकाले चीनलाई चुनौती थपिएको छ । 

शायद त्यसैलाई विचार गरी चीनले जापान र युरोपसँग सम्बन्ध सुमधुर बनाउनका लागि सन्देश पठाएको टोक्यो विश्वविद्यालयका कावाशिमा शिन द डिप्लोम्याट पत्रिकामा लेख्छन् ।

युरोपेली मामिलासम्बन्धी चीन सरकारका विशेष दूत वु होङ्बोले सातवटा युरोपेली मुलुकमा गत जुन महिनामा भ्रमण गरी त्यहाँका व्यापारीहरूसँग शिनले वार्ता गरेको विषयलाई सन्दर्भ बनाएका हुन् । यसबाट चीनले आफ्नो राष्ट्रिय तथा अन्तर्राष्ट्रिय नीतिको केन्द्रमा आर्थिक विषयलाई राखेको शिनको निष्कर्ष छ । 

पश्चिमाहरूसँगको राजनीतिक तिक्ततालाई क्रमशः घटाउँदै आर्थिक सम्बन्ध विस्तारमा जोड दिई चीनको विकासलाई गतिमान राखिराख्ने सीको तेस्रो कार्यकालको प्राथमिकता रहनेछ । तर अमेरिकासँगको प्रतिस्पर्धालाई सीले थप चर्काउन सक्छन् किनकि अमेरिकाले चीनको पुनरुत्थानलाई रोक्नका लागि सबै किसिमको प्रयास गरिरहेको र त्यसलाई निष्फल पार्न चीनले प्रयास गर्नुपर्ने चिनियाँहरूको बुझाइ छ । 

भनाइको मतलब, पश्चिमाहरूसँगको राजनीतिक तिक्ततालाई क्रमशः घटाउँदै आर्थिक सम्बन्ध विस्तारमा जोड दिई चीनको विकासलाई गतिमान राखिराख्ने सीको तेस्रो कार्यकालको प्राथमिकता रहनेछ । तर अमेरिकासँगको प्रतिस्पर्धालाई सीले थप चर्काउन सक्छन् किनकि अमेरिकाले चीनको पुनरुत्थानलाई रोक्नका लागि सबै किसिमको प्रयास गरिरहेको र त्यसलाई निष्फल पार्न चीनले प्रयास गर्नुपर्ने चिनियाँहरूको बुझाइ छ । 

त्यसो त सीले राष्ट्रिय मोर्चाका कतिपय चुनौतीलाई राम्ररी सम्बोधन गरेर देखाइसकेको बिल्बी नामक कम्पनीका संस्थापक रायन म्यानुएलले द गार्डियन पत्रिकाका हेलेन डेभिडसन र भिन्सेन्ट नीलाई बताएका छन् । जस्तो, उनले ग्रामीण क्षेत्रको पुनरुत्थानमा बढी जोड दिएका थिए र हरित नीतिलाई पनि प्राथमिकतामा राखेका थिए । त्यसमा उनी सफल रहेको म्यानुएलको भनाइ छ । 

अनि चीनबाट चरम गरीबी पूर्णतः उन्मूलन भएको पनि सीकै कार्यकालमा हो । आर्थिक क्षति रोक्नका लागि सीले देशमा वस्तुको माग बढाउन दोहोरो परिचालनको नीति अंगीकार गरेका छन् । चीनको प्रविधि क्षेत्रमा कसेको लगाम पनि सीले खुकुलो बनाएका छन् । 

आर्थिक प्रगतिलाई कायम राख्न सके मात्र चिनियाँ कम्युनिस्ट पार्टीले जनतालाई खुशी राख्न सक्छ र भूरणनीतिक लाभ समेत प्राप्त गर्न सक्छ । त्यसैले सीको तेस्रो कार्यकाल अर्थतन्त्र थप बलियो बनाउनेमा केन्द्रित रहने अपेक्षा गर्न सकिन्छ । त्यसमा ताइवानमाथिको सम्भावित आक्रमणको घटनाले पार्ने प्रभाव हेर्न रोचक हुनेछ । 

पढ्नुहोस् यो पनि :

salt training

कमेन्ट गर्नुहोस्