
विश्वप्रसिद्ध म्यासेजिंग एप व्हाट्सऐपले आफ्ना विश्वभरका तीन अर्बभन्दा बढी प्रयोगकर्ताहरूका लागि एकाउन्टमा 'यूजरनेम' चयन गर्न पाउने नयाँ सुविधा ल्याएको छ। परिवर्तनको मुख्य उद्देश्य प्रयोगकर्ताहरूको गोपनीयता (प्राइवेसी)लाई थप मजबुत बनाउनु हो, ताकि मानिसहरूले आफ्नो फोन नम्बर अरूलाई नदिइकन पनि यो प्लेटफर्ममा एक-अर्कासँग कुराकानी गर्न र जोडिन सकून्।
मेटा प्लेटफर्म्सको स्वामित्वमा रहेको व्हाट्सऐपका अनुसार प्रयोगकर्ताहरूले अबदेखि आफ्नो लागि एउटा अद्वितीय यूजरनेम सुरक्षित गर्न सक्नेछन्। कम्पनीले यो फिचरलाई यसै वर्षको अन्त्यसम्ममा पूर्ण रूपमा सक्रिय गराउने योजना बनाएको छ।
यूजरनेमको सुविधाले आफ्नो फोन नम्बर कसले हेर्न पाउने भन्ने कुरामा प्रयोगकर्तालाई थप नियन्त्रण दिने छ ।
विशेष गरी नयाँ मानिसहरूसँग जोडिनुपर्दा वा कुनै नयाँ ग्रुप च्याटमा सामेल हुँदा यो निकै उपयोगी हुनेछ।
यो फिचर यसअघि नै सिग्नलजस्ता बजारमा रहेका अन्य प्रतिस्पर्धी एपहरूमा उपलब्ध थियो, जहाँ फोन नम्बरबिना नै यूजरनेमका आधारमा कुराकानी सुरु गर्न सकिन्छ। तर, व्हाट्सऐपले यसलाई मुख्य रूपमा सामाजिक सञ्जालको प्रोफाइलजस्तो नभई एक बलियो प्राइवेसी टूलको रूपमा विकास गरेको स्पष्ट पारेको छ।
व्हाट्सऐपमा तीन अर्बभन्दा बढी प्रयोगकर्ता भएकाले धेरैको नाम मिल्न सक्ने सम्भावना हुन्छ। त्यसैले कम्पनीले अहिलेदेखि नै यूजरनेम रिजर्भ गर्ने प्रक्रिया सुरु गरेको छ, ताकि सबैले आफ्नो रोजाइको नाम पाउन सकून्। यदि कसैलाई यूजरनेम रोज्न गाह्रो भएमा व्हाट्सऐपले उचित नाम सुझाउन 'यूजरनेम जनरेटर'को सुविधा पनि उपलब्ध गराएको छ।
अनलाइन धोखाधडी र नक्कली पहिचान (फेक आईडी) रोक्न व्हाट्सऐपले यो बुकिङ अवधिमा हाल फेसबुक र इन्स्टाग्राममा रहेका यूजरनेमहरू उनीहरूका वास्तविक प्रयोगकर्ताकै लागि सुरक्षित राखेको छ। साथै, सार्वजनिक व्यक्तित्व, सेलिब्रेटी र सरकारी संस्थाहरूको नाममा अरूले जालसाजी नगरून् भनेर त्यस्ता हाई-प्रोफाइल यूजरनेमहरू स्थायी रूपमै सुरक्षित राखिने कम्पनीले जनाएको छ।
सामग्री सिर्जनाकर्ता, साना व्यवसायी र संस्थाहरूले पनि आफ्नो अनलाइन पहिचानलाई सबैतिर एउटै राख्नका लागि इन्स्टाग्राम वा फेसबुककै यूजरनेम व्हाट्सऐपमा पनि दाबी गर्न सक्नेछन्।
यूजरनेम रिजर्भ गर्न केवल केही सेकेन्ड मात्र लाग्नेछ। यसका लागि व्हाट्सऐपको सबैभन्दा नयाँ भर्सनमा गई Settings > Account > Username मा गएर आफ्नो युनिक नाम सुरक्षित गर्न सकिनेछ।