
केही साताअघि ललितपुरस्थित हनुमन्ते खोलामा आएको बाढीले आफ्नो कम्पनीमा क्षति पुगेको भन्दै सेञ्चुरी फूड प्याकेजिङ एन्ड प्रोसेसिङ कम्पनी खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागमा पुगेको थियो ।
बाढीमा डुबेको खाद्यान्न खान अयोग्य रहेको प्रमाणित गरिदिन उसले निवेदन दियो । क्षतिको बिमा दाबी गर्नका लागि उत्पादित वस्तु उपभोग गर्न अयोग्य रहेको प्रमाणित गर्नुपर्छ ।
बाढीले ८ क्विन्टल चामलमा क्षति पुर्याएको भन्दै ललितपुर महानगरपालिका वडा नम्बर ३ का वडाध्यक्षको हस्ताक्षर रहेको सिफारिश पत्र समेत कम्पनीले विभागमा बुझाएको थियो ।
वडाबाट सिफारिश र कम्पनीको निवेदनपछि विभागको टोली उद्योग अवलोकन तथा क्षतिको विवरण संकलनका लागि उक्त कम्पनीको खाद्य गोदाममा पुग्यो ।

त्यही दिन महानगरीय प्रहरी अपराध अनुसन्धान कार्यालयको टोली पनि उक्त कम्पनीमा पुगेको थियो । साथमा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका प्राविधिक पनि थिए । त्यहाँबाट चामललाई नक्कली ब्रान्डिङ गरी बिक्री वितरण गरिँदै आएको सूचना प्रहरीलाई थियो ।
प्रहरी टोलीको नेतृत्व गरेका थिए, अपराध अनुसन्धान कार्यालयका प्रहरी नायब उपरीक्षक (डीएसपी) कृष्ण चन्दले ।
‘हामी सूचना पाएर त्यहाँ जाँदा अर्को सरकारी टोली त्यहीँ थियो । हामीसँग पनि विभागकै कर्मचारी रहेकाले उहाँहरूले एकअर्कालाई चिनिहाल्नुभयो,’ डीएसपी चन्दले भने, ‘हामीले किन आउनुभएको भन्दा उहाँहरूले आउनुको कारण खुलाउनु भयो । त्यसपछि हामीले सत्यता बताएर तत्काल छापा हान्यौं ।’
दर्ता प्रमाणपत्रसहित आधिकारिक दस्ताबेज माग्दा कम्पनीले देखाउन सकेन ।
त्यसपछि कम्पनीका सञ्चालक मोरङको विराटनगर महानरपालिका– ९ शनीहाटका २७ वर्षीय एस अग्रवाल र ओखलढुंगा सनुकोशी गाउँपालिका– ५ पात्लेका २७ वर्षीय बालकुमार भन्ने लालबहादुर बस्नेतलाई प्रहरीले पक्राउ गर्यो ।
सामान्य चामल ल्याएर थरीथरीका नाम, थकाली ब्रान्ड नै बनाएर उपभोक्ता ठगी
विभागका अनुसार सेञ्चुरी फूड प्याकेजिङ एन्ड प्रोसेसिङ नामक उद्योगले जिरा मसिनोसहितका सामान्य चामल ल्याएर थकाली, मुवारक, जन्नत, सुवास, साँचो सोनम, घैला, कोहिनुर, जिवालगायत अनधिकृत ब्रान्ड बनाइ महंगो मूल्यमा बेचेर उपभोक्ता ठग्ने गरेको पाइएको छ ।
थकाली खाना बजारमा लोकप्रिय छ । प्रहरीका अनुसार थकाली भन्ने छुट्टै चामल भने छैन । थकाली भान्छा घरहरूले बजारमा रहेका अन्य चामल नै प्रयोग गर्छन् । त्यही थकाली खानाको लोकप्रियताको दुरूपयोग गर्दै अग्रवाल र बस्नेतले अनधिकृत रूपमा थकाली ब्रान्डको नाम दिएर सामान्य चामल महंगो मूल्यमा बेच्ने गरेको पाइएको प्रहरीले जनाएको छ ।
उनीहरूले खाद्य ऐनविपरीत उक्त कार्य गरेको भन्दै विभागले अनुसन्धान गरिरहेको छ । कम्पनीले भारतीय कम्पनी रघुनाथ एग्रो, वेस्ट डील, कृष्ण राइस प्रोसेसर र रहिम इन्डस्ट्रिजबाट आयात गरिएको भनेर चामल बेच्दै आएको थियो । यस्तो चामलमा उत्पादन मिति र स्थान, गुणस्तर परीक्षणसहितको विवरण भने खुलाइएको छैन ।
विभागका अनुसार उक्त कम्पनीले गुणस्तर कायम नगरेको र अनुमतिविना बिक्री वितरण गर्ने गरेको पाइएको छ । पक्राउ परेका अग्रवाल र बस्नेतमाथि खाद्य ऐन २०२३ बमोजिम थप अनुसन्धान भइरहेको खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका प्रवक्ता मोहनकृष्ण महर्जनले बताए ।
थरिथरिका उजुरी !
प्रवक्ता महर्जनका अनुसार विभागमा यस्तै किसिमका दजनौं उजुरी आउने गरेका छन् । उपभोक्तावादी संस्थाको निवेदन वा अनुगमन, नेपाल प्रहरीको अनुसन्धान तथा छापाबाट अनुमति नलिएको भेटिए थप अनुसन्धान गरेर कारवाही हुन्छ ।
दैनिक यस्ता ३ वटासम्म कम्पनीमा छापा मार्ने गरेको विभागको डिभिजन कार्यालय काठमाडौंका प्रमुख डा. सन्तोष ढकालले बताए ।
‘पछिल्लो समय दैनिक ३ वटासम्म अनुमति नलिएका तथा गुणस्तर कायम नगरेका कम्पनीमा छापा मारेर अवैध सामान नियन्त्रणमा लिने गरिएको छ । यसरी छापा मारिएकामध्ये कतिपयमा आरोप पुष्टि हुँदैन भने कतिपयमाथि मुद्दा नै चलाउने गरिएको छ,’ ढकालले भने ।
कुन कम्पनीलाई कस्तो कारवाही हुन्छ भन्ने कुरा अनुसन्धानबाट फेला पर्ने प्रमाणमा भर पर्ने उनको भनाइ छ । पछिल्लो समय जनचेतना बढेको, हातहातमा मोबाइल भएका कारण तत्काल फोटो/भिडियोसहित उजुरी दिने क्रम बढेकाले पनि खाद्य तथा गुणस्तरसम्बन्धी गुनासो बढी आइरहेको उनले बताए ।
अन्य समयको तुलनामा चाडबाडमा यस्ता घटना बढ्ने ढकालको भनाइ छ । ‘पछिल्लो समय उस्ताउस्तै नाममा आउने गुनासोका सम्बन्धमा अनुसनधान गर्दा धेरैजसो खाद्य तथा गुणस्तर कायम गरेरै सेवा दिएको पाइन्छ । विभागले गुणस्तर छ कि छैन र खानयोग्य छ कि छैन भनेर मात्रै हेर्ने गरिएको छ,’ उनले भने ।
ब्रान्ड तथा ट्रेडमार्क विषयमा भने कम्पनी रजिष्टारको कार्यालयको क्षेत्रधिकार भएकोले उतै पठाउने गरिएको उनले बताए ।
कम्पनी रजिस्ट्रारको कार्यालयका रजिस्ट्रार महेश बराल पनि चाडबाडमा नाम चलेका कम्पनीसँग मिल्दोजुल्दो प्रोडक्ट बनाएर बेच्ने गरेको गुनासो आइरहेको बताउँछन् । उनका अनुसार एउटा कम्पनीको नामसँग अर्काेले जुधाएको वा नाम दुरूपयोग गरेको भनेर उजुरी आउने गरेको छ ।
लोगो वा ट्रेडमार्कको हकमा उद्योग विभाग र उस्तै देखिने गरी उपभोक्ता ठगी गरेको भए वाणिज्य विभागले हेर्ने गरेको छ ।
उनका अनुसार जुन निकायसँग सम्बन्धित गुनासो आउँछ, सोही निकायमा पठाउने भने गरिएको छ ।
उद्योग विभागका प्रवक्ता हरि पंगेनी पनि नाम जुधाउने, ट्रेडमार्कको दुरूपयोग गर्ने, अर्काको लोगो प्रयोग गर्ने, उस्ताउस्तै देखिने गरी उपभाेत्ता ठगी गर्ने गरिएको भनेर आउने उजुरी विभागले स्वीकार गर्ने गरेको छ ।
अन्य समयको तुलनामा चाडबाडमा यस्ता गुनासो धेरै आउने गरेको उनले बताए । पछिल्लो समय कति गुनासा आएका छन् र कस्तो उजुरीमाथि कारवाही भइरहेको छ भन्ने विषयमा तथ्यांक हेरेर मात्रै थप भन्न सकिने पंगेनीले बताए ।