२० असार २०८३, शनिबार
सन्दीपमाथि गम्भीर आरोप

क्याम्पाचौरबाट उदाएका अन्तर्राष्ट्रिय 'क्रिकेट स्टार' : गम्भीर आरोप र अवसानको त्रास

क्याम्पाचौरबाट उदाएका अन्तर्राष्ट्रिय 'क्रिकेट स्टार' : गम्भीर आरोप र अवसानको त्रास

२०७२ सालतिरको कुरा हो, नेपाली क्रिकेट टीमका तत्कालीन प्रशिक्षक पुबुदु दसनायके एकदिन चितवन पुगेका थिए ।

राष्ट्रिय टीमका प्रशिक्षकको आगमनलाई भरपूर सदुपयोग गर्दै नेपाल क्रिकेट संघ (क्यान) चितवनले पुबुदुलाई केही युवा प्रतिभाको क्षमता देखाउने कार्यक्रम बनायो ।

क्यान चितवनको आग्रहलाई पुबुदुले सहजै स्वीकारे । नस्वीकारून् पनि किन, उनी ‘ट्यालेन्ट हन्टिङ’का लागि नै देशका विभिन्न जिल्लामा पुग्ने गरेका थिए ।

पूर्व क्रिकेटर राजु खड्काको क्रिकेट एकेडेमी र क्याम्पाचौरमा केही युवाले निरन्तर प्रशिक्षण एवं अभ्यास गर्ने गरेका थिए । तिनैमध्ये एक थिए, १५ वर्षीय सन्दीप लामिछाने । 

पुबुदुको नजर शुरूमै सन्दीपमाथि पर्‍यो । सन्दीपको बलिङ एक्सन र क्रिकेटप्रतिको लगाव देखेर प्रभावित भएका पुबुदुले नेटमा केहीबेर बलिङ गर्न लगाए ।

१५ वर्ष टेक्दै गरेका एक प्रतिभावान किशोरप्रति पुबुदु यति प्रभावित भए कि उनले तत्कालै काठमाडौं आउन निम्तो दिए । त्यहीँबाट हो, सन्दीपको उदय शुरू भएको ।

नेपाली क्रिकेट टीम महत्त्वपूर्ण प्रतियोगिताहरूको संघारमा थियो । शक्ति गौचन, वसन्त रेग्मीजस्ता चिरपरिचित स्टार स्पिनरहरू आफ्नो क्रिकेट करियरको उत्तरार्द्धतिर थिए । 

वसन्तले टीमलाई केही समय दिनसक्ने भए पनि शक्ति संन्यासको सन्निकटमा पुगिसकेका थिए । सन्दीपको आगमन पुबुदु र राष्ट्रिय टीमका लागि ढुंगा खोज्दा देउता मिलेजस्तो भयो ।

****

सन्दीपको जन्म २०५७ साल साउन १८ गते स्याङ्जामा भएको हो । उनी सानै छँदा चितवन झरेर लामिछाने परिवार सौराहानजिक चित्रसारी भन्ने स्थानमा बस्न थाल्यो ।

सन्दीपका बुवा भारतीय रेल्वे कम्पनीमा जागिरे थिए । उनले आफूसँगै छोरालाई पनि भारत लगे । सन्दीपको बाल्यकाल भारतीय क्रिकेट कल्चरमा बित्यो ।

उनी अस्ट्रेलियन लेजेन्ड शेन वार्नको फ्यान थिए । भारतीय गल्लीहरूमा बल फ्याँक्दै गर्दा उनी वार्नकै नक्कल गर्थे । दुरुस्तै बल घुमाउने भइसकेका थिए ।

अध्ययनमा अलि ध्यान दिन भन्दै बुवाले सन्दीपलाई स्वदेश फर्काए । परिवारका सदस्य भारतमै रहेकाले उनी हाल पूर्वी नवलपरासीमा पर्ने रजहर भन्ने स्थानमा दिदीसँग बस्न थाले ।

नेपाल आए पनि क्रिकेटप्रति उनको भोक मरेको थिएन । त्यहाँबाट झण्डै १८ किलोमिटर यात्रा गरी नारायणगढ आएर राजु खड्काको क्रिकेट एकेडेमीमा प्रशिक्षण लिन थाले ।

कतिपयले सन्दीपको उदयलाई आश्चर्यको रूपमा लिने गरेका छन् । तर, क्रिकेटका लागि उनले गरेको यो मेहनत र देखाएको लगावले उनी सफलताका वास्तविक हकदार हुन् भन्ने देखाउँछ ।

पुबुदुको निमन्त्रणामा नारायणगढबाट काठमाडौंका लागि गाडी चढेको दिनदेखि सन्दीपले कहिल्यै पछाडि फर्किएर हेर्नु परेन । अर्कोपटक चितवन फर्किँदा उनी सानोतिनो स्टार भइसकेका थिए ।

****

अन्तर्राष्ट्रिय मिडियाहरूले पनि नेपाली शेन वार्न भनेर लेख्न थालेपछि अस्ट्रेलियन लेजेन्डको ध्यान सन्दीपले तान्ने नै भए । यिनै खबरले सन्दीपको अस्ट्रेलिया यात्रा तय गर्‍यो । उनले त्यहाँ गएर अभ्यास गर्ने मौका पाए । अस्ट्रेलियाका पूर्व कप्तान माइकल क्लार्कले सन्दीपको करियर अगाडि बढाउन निकै ठूलो मद्दत गरेका छन् । 

पछि यही लिंक हुँदै सन्दीप इन्डियन प्रिमियर लीग (आईपीएल) यात्रा तय गर्न सफल भए । अस्ट्रेलियाका पूर्व कप्तान रिकी पोन्टिङ प्रशिक्षक रहेको दिल्ली डेयरडेभिल्सले उनलाई अनुबन्धित गरेको खबरले नेपालमा हर्षोल्लासको वातावरण बन्यो । क्लब क्रिकेटमा विश्वकै अग्रणी मानिएको आईपीएलमा नेपाली खेलाडीको सहभागिता आफैंमा गौरवको विषय थियो ।

यहाँसम्म कि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाल भ्रमणका क्रममा सन्दीपबारे चर्चा गरेका थिए । २०७५ भदौ २९ गते राष्ट्रिय सभागृहमा नागरिक अभिनन्दन समारोहलाई सम्बोधन गर्दै मोदीले भनेका थिए–

‘मुझे बताया गया है, पहलीबार नेपालकी नौजवान खेलाडी सन्दीप लामिछाने आईपीएलमे भाग ले रहा है । मैं आशा करता हुँ कि आनेवाले समय मे क्रिकेट ही नहीं अन्य खेलकुद के माध्यम से भी हमारे ‘पिपुल टु पिपुल’ सम्बन्ध मजबूत होते रहेंगे ।’

(पहिलोपटक नेपालका एक युवा खेलाडी सन्दीप लामिछानेले आईपीएलमा भाग लिइरहेको कुरा मलाई बताइएको छ । म आशा गर्छु, आगामी दिनमा क्रिकेट मात्र हैन, अन्य खेलकुदको माध्यमबाट पनि नेपाल र भारतका जनताबीचको सम्बन्ध मजबूत भइरहनेछ ।)

पहिलो सिजनको आईपीएलमा अन्तिम तीन खेलमा मात्र मौका पाएका सन्दीपले ५ विकेट लिए । दिल्लीका स्टार खेलाडीहरूले अपेक्षित प्रदर्शन गर्न नसकेपछि उनलाई अन्तिममा मौका दिइएको थियो ।

सन्दीपले पाएको मौकाको भरपूर सदुपयोग गरे । यो सफलता उनका लागि दोस्रो सिजन खेल्ने आधार बन्यो । पहिलो सिजनमा २० लाख भारुमा दिल्लीमा अनुबन्धित सन्दीपले दोस्रो सिजन पनि सोही टीमबाट खेले । दोस्रो सिजनमा शुरूमै मौका पाए । शुरूआती ६ खेल खेलेका सन्दीपले ८ विकेट लिए ।

आईपीएल करियर छोटो भए पनि यसले उनका लागि अन्तर्राष्ट्रिय प्रतियोगितामा जान बाटो खोलिदियो । अस्ट्रेलियाको बिग बाश लीगदेखि वेस्ट इन्डिजको क्यरेबियन प्रिमियर लीगसम्म खेल्न भ्याए । 

केही महिनाको अनुबन्धनमा करोड कमाउन थाले । नेपाली युवाका लागि सन्दीप लामिछानेको सफलता भविष्यको मार्गदर्शन र सपना बन्यो ।

कमेडी च्याम्पियन नामक एक रियालिटी शोमा अतिथिका रूपमा सन्दीप सहभागी एपिसोडमा नेपाली फिल्मका चर्चित निर्देशक एवं उक्त रियालिटी शोका निर्णायक प्रदीप भट्टराईले भनेका थिए–

‘मलाई सन्दीप लामिछाने भन्या मान्छे नाम हैन जस्तो लाग्छ । सन्दीप लामिछाने एउटा सपना हो । सपना उसले किनेको ४ करोडको घर वा गाडी हैन, युथहरूले सन्दीप लामिछाने बन्ने सपना देख्छ । त्यो ठाउँमा पुगेर म पनि खेल्न सक्छु, मेरो देशको नाम चिनाउन सक्छु भन्ने सपना देख्छ ।’ 

****

आफ्नो करियरको उत्कर्षतिर पुग्दै गरेका एक प्रतिभावान खेलाडी गम्भीर आरोपमा मुछिएका छन् । १७ वर्षीया एक किशोरीले आफूलाई जबरजस्ती करणी गरेको आरोपसहित सन्दीपविरुद्ध प्रहरीमा किटानी जाहेरी दिएकी छिन् । यो जाहेरी त्यसबेला पर्‍यो, जतिबेला सन्दीप क्यारेबियन प्रिमियर लीग खेल्न वेस्टइन्डिजमा छन् ।

यो सामग्री लेख्दै गर्दा (बुधवार साँझसम्म) उनका तर्फबाट कुनै प्रस्टीकरण आएको छैन । नेपाली क्रिकेट टीमका कप्तानमाथि लागेको यस किसिमको गम्भीर आरोपले क्रिकेट समर्थक मात्र हैन, सिंगो देश स्तब्ध बनेको छ । यहाँसम्म कि उजुरी आउँदा प्रहरी नै को सन्दीप भनेर एकछिन अल्मलिएको थियो । सन्दीपविरुद्ध जाहेरी परेको सूचना मंगलवार मध्यरातमा पाउँदा सञ्चारमाध्यमहरू समेत केहीबेर अलमलमा परेका थिए । प्रहरीले नै उजुरी परेको हो भन्दा पनि दोहोरो पुष्टि नगरी समाचार प्रकाशित गर्न नसक्ने अवस्था बनेको थियो ।

२२ वर्षको उमेरमै एक दिवसीयमा ६९ र टी–ट्वान्टीमा ८५ विकेटसहित विभिन्न प्रतियोगितामा ४६५ विकेट हात पारिसकेका तथा नेपाली टीमको नेतृत्व सम्हाल्ने जिम्मेवारीमा पुगेका एक स्टारमाथि यस किसिमको आरोप लाग्नु निकै गम्भीर विषय हो । 

अहिलेसम्म पीडित भनिएकी किशोरीका तर्फबाट आएका बयान मात्र सार्वजनिक भएका छन् । तर, प्रहरीको प्रारम्भिक अनुसन्धानमा सन्दीप घटना घटेको भनिएको होटलमा सो दिन पुगेको देखिएको छ ।

अन्तर्राष्ट्रिय प्रतियोगिताका लागि केन्या उड्ने दिनको पूर्वसन्ध्यामा राष्ट्रिय टीमका कप्तान नै यसरी बाहिर निस्किएर अर्कै होटलमा रात बिताउनु र यस किसिमको गम्भीर अपराधमा मुछिनु सहजै विश्वास गर्न सकिने विषय नै हैन । टीम म्यानेजमेन्ट र खेलाडीले आफ्नो अनुशासन पालना गर्ने हो भने यो सम्भव हुने कुरै हैन ।

यसमा के कसो भएको हो, सन्दीपले पक्कै प्रस्टीकरण देलान् । क्यानले पनि आफ्नो तर्फबाट स्पष्ट पार्ला । गल्ती गरेको भए सजाय पाउलान्, आरोप मात्र लागेको हो भने पनि छिटोभन्दा छिटो टुंगो लागोस् ।

नाबालिग किशोरीमाथि बलात्कारको विषय जति गम्भीर छ, त्यति नै गम्भीर कुरा देशले एउटा होनहार प्रतिभा गुमाउँदैछ । नेपालमा मात्र हैन, भारतीय मिडियामा समेत यो समाचारलाई कौतुहलता र आश्चर्यका साथ स्थान दिइएको छ ।

सन्दीपका सहकर्मी र क्रिकेटसँग सम्बद्ध कोही पनि यस विषयमा बोल्न तयार छैनन् । अधिकांश स्तब्धजस्तै देखिएका छन् । यस क्रममा राष्ट्रिय टीमका पूर्वकप्तान एवं क्यानमा आबद्ध क्रिकेट म्यानेजर विनोद दासले लोकान्तरलाई संक्षिप्त प्रतिक्रिया दिएका छन्– ‘यो निकै गम्भीर विषय हो । कुनै आधार र ठोस प्रमाणविना आरोप लगाउनु गलत हुन जान्छ ।’

सन्दीपले सफाइ पाउलान् वा आफूले गल्ती गरेको भए त्यसको सजाय भोग्लान् त्यो भविष्यको कुरा भयो । तर, टेस्ट मान्यताप्राप्त राष्ट्र बन्ने सपना र नेपाली क्रिकेटको भविष्यमा यस प्रकरणले नराम्ररी धक्का पुग्ने निश्चित छ ।

salt training

कमेन्ट गर्नुहोस्