
बागलुङको निसीखोला गाउँपालिका–५ निसेलढोरकी नर्मता विकलाई बुधबार बिहानैदेखि सुत्केरी व्यथाले च्याप्यो । नजिकमा स्वास्थ्य संस्था थिएनन् । व्यथाले च्यापेपछि आफन्तले स्वास्थ्यकर्मीलाई खबर गरे । निसीखोलादेखि स्वास्थ्यकर्मी जान सम्भवन थिएन । निसीखोलादेखि विकको घर निसेलढोर पुग्न झण्डै तीन घण्टा लाग्छ ।
आफन्तले ढोरपाटन नगरपालिका–९ स्थित ढोरपाटन सहरी स्वास्थ्य क्लिनिकमा खबर गरे । खबर पाउनासाथ क्लिनिकबाट अनमी सीता बुढा मगर विकको घर पुगिन् । उनको घर पुगेर स्वास्थ्य जाँच गर्दा बच्चाको धड्कन सुनिएको थिएन । बच्चाको धड्कन नसुनिएपछि बुढामगरले विकलाई ठूलो अस्पताल लैजानुपर्ने सुझाइन् । भौगोलक विकटताका कारण यातायात सेवाको पहुँच छैन । नजिकमा अस्पताल नहुँदा बुढामगरले आफन्तलाई डोकोमा बोकेर विकलाई केही तलसम्म ल्याउन भन्दै आफैँ गाडीको व्यवस्थापन गर्न ढोरपाटन फर्किए ।
आफन्तले विकलाई डोकोमा बोकेर केही तल के झारेका थिए, उनले बाटोमै मृत बच्चा जन्माइन् । गाडी लिएर अनमी बुढामगर त्यहीँ आइपुगिन् । उनले विकको बाटोमै सामान्य उपचार गरिन् र ढोरपाटन ल्याइन् ।
अनमी बुढामगर भन्छिन्, “विकलाई बिहानदेखिनै गाह्रो भएको रहेछ, आफन्तले मलाई खबर गरेर घरमा पुग्दा, उहाँ निकै छट्पटाउनुभएको थियो, जाँच गर्दा बच्चाको धड््कन सुनिएन, मैले बुर्तिवाङ अस्पताल लैजान सुझाए । मृत बच्चा जन्माउनुभयो, रगत धेरै बगीसकेको थियो, स्लाइन पानी दिएर ढोरपाटन ल्याए । अहिले त्यहीँ उपचार भइरहेको छ ।”
विकले ३२ हप्ताको समय नपुगेको बच्चा जन्माएको अनमी बुढामगरले बताइन् । अहिले ढोरपाटन सहरी स्वास्थ्य क्लिनिकमा राखेर विकको उपचार भइरहेको बुढामगरले बताइन् ।
बागलुङका दूरदराजमा अहिले पनि स्वास्थ्य, शिक्षाको सहज पहुँच पुग्नसकेको छैन । त्यसले गर्दा यस्ता नियति दोहोरी रहन्छन् । विगतमा पनि यस्ता धेरै घटना यस क्षेत्रमा हुने गर्थे । ढोरपाटन नगरपालिकाका स्वास्थ्य संयोजक केशव थापाले दुर्गमका महिला अहिले पनि रुढिवादी परम्परालाई आत्मसात् गर्दा यस्ता घटना हुने गरेको बताए ।
ढोरपाटन नगरपालिकाले दुर्गम मानिने ठाउँमा स्वास्थ्य संस्था धेरै स्थापना गरेर सहज स्वास्थ्य सेवाको व्यवस्था गरे पनि अशिक्षाका कारण महिला स्वास्थ्य परीक्षण गराउन नआउने उनको भनाइ छ । थापाले मृत्यु भएको बच्चा जन्माएकी विकले एक पटक पनि गर्भ परीक्षण गराएको रेकर्ड नभएको बताउए ।
थापाले अहिले पनि ग्रामीण क्षेत्रमा अशिक्षितका कारण स्वास्थ्य तथा गर्भ परीक्षण गराउने बानी नभएको भन्दै यसका लागि आफूहरु लागि रहेको बताए ।