०७ साउन २०८३, बिहीबार
सामाजिक सुरक्षा कोष

एसएसएफको अव्यावहारिक निर्णयः उपचारको बिल पेश गर्न नपाइने व्यवस्थाले योगदानकर्तालाई सास्ती

भदौ २३, २०७९
एसएसएफको अव्यावहारिक निर्णयः उपचारको बिल पेश गर्न नपाइने व्यवस्थाले योगदानकर्तालाई सास्ती

सामाजिक सुरक्षा कोषले पर्याप्त तयारीविनै औषधि उपचारको बिल भुक्तानी रोकेर सम्बन्धित अस्पतालमै जानुपर्ने बाध्यकारी व्यवस्था गरेको छ ।

जुनसुकै अस्पतालमा उपचार गरेको बिल पेश गरी रकम दाबी गर्ने व्यवस्थालाई कोषले साउनदेखि हटाएको हो । साउनबाट कोषमा आबद्ध योगदानकर्ताले कोषले तोकेकै अस्पतालमा गएर सेवा लिनुपर्ने व्यवस्था गरिएको छ ।

सामाजिक सुरक्षा कोषमा योगदान गर्ने रोजगारदाताले जुनसुकै अस्पतालमा गएर औषधि उपचार गरेको बिलको भुक्तानी दाबी गरेको अवस्थामा अधिकतम सीमा एक लाख ननाघ्ने गरी ८० प्रतिशतसम्म रकम पाउने व्यवस्था थियो ।

कोषले साउनदेखि तोकिएको अस्पतालमा जानुपर्ने र अस्पतालले नै ८० प्रतिशत रकम दाबी गर्ने व्यवस्था गरेको छ । बाँकी २० प्रतिशत रकम मात्रै योगदानकर्ता (बिरामी)बाट लिने गरिन्छ । 

कोषले यसका लागि सातै प्रदेशका ११४ अस्पतालसँग सम्झौता गरेको भएपनि जनघनत्व बढी भएका र योगदानकर्ताले सहजै उपचार पाउने अस्पतालसँग सम्झौता गरेको छैन ।

हालसम्म केही सरकारी र निजी अस्पतालमा गएर सामाजिक सुरक्षा कोषमा आबद्ध योगदानकर्ताले उपचार सेवा लिन सक्छन् ।

तर, अस्पतालको संख्या कम भएको, सबै सरकारी अस्पतालसँग सम्झौता भइनसकेको र सम्झौता भएका अस्पतालमा पनि समयमा नै सुविधा नपाउने समस्या छ । 

सम्झौता भएका सबै अस्पतालले सरकारी दररेटमा एउटै शुल्क लिने र सो बापतको रकम सामाजिक सुरक्षा कोषले व्यहोर्ने कोषको दाबी छ ।

कोषमा हालसम्म १७ हजार ३३१ रोजगारदाताबाट ३ लाख ५६ हजार ३०८ श्रमिक आबद्ध भएका छन् । 

योगदानकर्ताले सास्ती व्यहोरिरहे पनि कोषले भने योगदानकर्ताकै हितलाई दृष्टिगत गरेर अस्पतालमै जाने र त्यहीँ सामाजिक सुरक्षा कार्ड देखाएर उपचार गर्ने व्यवस्था मिलाइएका दाबी गरेको छ ।

कोषका सहप्रवक्ता रोहित रेग्मी सबै अस्पतालमा समान शुल्क तिरेर उपचार पाइने व्यवस्था गरिएको बताउँछन् ।

कोषमा आबद्ध नभएको अस्पतालमा पुगेर उपचार गर्दा धेरै खर्च हुने र बिरामीले दाबी गर्दा कोषले तोकेको दररेटको ८० प्रतिशत मात्र दिँदा योगदान कर्तालाई महंगो पर्न जाने तर्क उनले गरे ।

यही व्यवस्था अनुसार सहजै अस्पताल उपलब्ध नभएका विभिन्न ११ वटा जिल्ला बाहेकमा तोकिएकै अस्पतालमा गएर उपाचार गर्नुपर्ने व्यवस्था कोषले गरेको रेग्मीको जिकिर छ ।

काठमाडौंंमा कोषमा आबद्ध अस्पतालको संख्या सीमित रहेको गुनासो आइरहेको छ । अस्पतालको संख्या थप गर्दै जाने र योगदानकर्तालाई सहज गर्दै जाने आश्वासन कोषले दिने गरेको छ ।

कोषमा आवद्ध भएको अस्पतालमा गएर उपचार गर्दा मेडिकलमा एक लाख रुपैयाँसम्मको खर्चमा २० प्रतिशत मात्रै तिरे हुन्छ भने दुर्घटनाको उपचारमा भने शुल्क नै नलाग्ने व्यवस्था छ ।

सामाजिक सुरक्षा कोषका अनुसार साउनदेखि तोकिएको अस्पताल बाहेकमा गएर उपचार गरे उपचार खर्च पाउँदैनन् ।

कोषमा आबद्ध नभएका अस्पताललाई आबद्ध गराउन र योगदानकर्तालाई सस्तोमा उपचार गर्न प्रोत्साहनका लागि पनि यो व्यवस्था गरिएको पनि कोषको भनाइ छ ।

२०७६ साउन १ गतेपछि कुनै पनि श्रमिकलाई रोजगारदाताले सामाजिक सुरक्षा कोषमा आबद्ध नगरेको वा नियमित योगदान नगरेको भएपनि सामाजिक सुरक्षा कोषले दिने बराबरको सुविधा रोजगारदाताले नै श्रमिकलाई दिनुपर्ने व्यवस्था कोषले छ । 

नियमित रकम जम्मा भए सामाजिक सुरक्षा कोषले व्यहोर्ने र नभए सम्बन्धित रोजगारदाताले नै अनिवार्य रूपमा व्यहोर्नुपर्ने हुन्छ ।

कोषमा आबद्ध नभएको कुनै पनि श्रमिकको मृत्यु भएमा वा अशक्त भएको अवस्थामा जीवनभरको पेन्सन सम्बन्धित रोजगारदाता कार्यालयले दिनुपर्ने व्यवस्था गरिएको छ ।

दुर्घटना भए निःशुल्क उपचार सेवासमेत दिनुपर्छ । यसका लागि सम्बन्धित मजदुर वा उसको आफन्तले कोषमा उजुरी दिनुपर्छ ।

यसअघि सामाजिक सुरक्षा कोषमा आबद्ध नभएकै कारण योगदानमा आधारित सामाजिक सुरक्षा ऐनको दफा १७ र नियमावलीको नियम १२ बमोजिम दुई बैंकबाट मजदूरलाई क्षतिपूर्ति दिलाइएको थियो ।

हेर्नुहोस्, उपचारका लागि तोकिएका अस्पताल :

योदानकर्ताको परिवारलाई स्वास्थ्य उपचार सुविधा दिने तयारी

सरकारले सामाजिक सुरक्षा कोषमा आबद्ध योगदानकर्ताको परिवारलाई समेत स्वास्थ्य उपचार सुविधा दिने तयारी गरिरहेको छ । यसका लागि सामाजिक सुरक्षा कोष नियमावली संशोधन गर्ने तयारी भइरहेको छ । 

सरकारले चालू आर्थिक वर्ष २०७९/८० को बजेट वक्तव्यबाटै वैदेशिक रोजगारीमा रहेका श्रमिकलाई कोषमा आवद्ध गराउने र योगदानकर्ताको परिवारका सदस्यलाई समेत स्वास्थ्य उपचार सुविधा दिने घोषणा गरेको छ । सो घोषणा अनुसार चालू आवबाटै उक्त सेवा सुविधा दिन आवश्यक प्रक्रिया अगाडि बढिरहेको सामाजिक सुरक्षा कोषका सहप्रवक्ता रोहित रेग्मीले बताए । 

सरकारले बजेट वक्तव्यमार्फत ‘सामाजिक सुरक्षा कोषको रकम कामदारको स्वस्थ्य उपचार, सन्ततिको शिक्षा तथा परिवारको बीमा गर्न प्रयोग गरिने व्यवस्था गरेको छ ।’ यो व्यवस्था अनुसार चालू आवभित्रै योगदानकर्ताको परिवारका लागि स्वास्थ्य उपचार सुविधा दिने गरी तयारी भइरहेको कोषका सहप्रवक्ता रेग्मीले जानकारी दिए ।

हाल यसको विषयमा कार्यविधि बनाउने सहितको प्रक्रियामा श्रम तथा रोजगार मन्त्रालयले आवश्यक प्रक्रिया अगाडि बढाइरहेको जानकारी दिएको छ ।

कमेन्ट गर्नुहोस्