०५ साउन २०८३, मंगलबार
नेपाली सिनेमाको दूर्दशा

फिल्म नचलेपछि फ्लोरमा जान डराए निर्माता, ५० प्रतिशत प्राविधिक बेरोजगार !

यस वर्ष हलमा फिल्मको ‘बाढी’, आउँदो वर्ष होला कमी ?
भदौ २५, २०७९
फिल्म नचलेपछि फ्लोरमा जान डराए निर्माता, ५० प्रतिशत प्राविधिक बेरोजगार !

केही समययता हरेक साता फिल्म हलमा नयाँ नेपाली फिल्म रिलिज भइरहेका छन् । कुनै हप्ता त तीन वटासम्म नयाँ नेपाली फिल्म हलमा जुध्ने गरेका छन् । यस साता पनि दुई वटा नेपाली फिल्म रिलिज भएका छन् ।

बैशाखदेखि अहिलेसम्म रिलिज भएका नेपाली फिल्मको संख्या हेर्ने हो भने २ दर्जन हाराहारी पुग्छ । आउने दिनमा रिलिज हुने फिल्मको संख्या पनि उत्तिकै धेरै छ । दशैं–तिहारको आसपास (असोज र कात्तिक)मा प्रशस्त नेपाली फिल्म रिलिज हुने क्रममा छन् । आगामी फागुनसम्मकै लागि फिल्म रिलिजको सेड्यूल तय भइसकेको छ । यसवर्ष उपयुक्त मितिमा एकल रिलिजको अवसर पाउनु फिल्म निर्माताको लागि साँच्चिकै ‘चिठ्ठा’ परेको मान्नुपर्ने अवस्था छ ।

निर्माण सकेका र छायाङ्कनको क्रममा रहेका केही फिल्महरूसमेत यसै वर्ष रिलिज गर्ने तयारीमा निर्माताहरू छन् । त्यसकारण, चैतसम्मै हलमा नेपाली फिल्मको ‘बाढी’ जारी रहने देखिन्छ । 

अहिले नेपाली फिल्मको चाप देखिनुको मुख्य कारण कोरोना महामारी भएको नेपाल चलचित्र निर्माता संघका नव–निर्वाचित अध्यक्ष नवल खड्का बताउँछन् । 

‘कोभिडका कारण बीचको दुई वर्ष फिल्म रिलिज भएनन् । कोभिडअघि निर्माण सकेर तयारी अवस्थामा रहेका फिल्म पनि हलमा जान सकेका थिएनन् । सुटिङमा रहेका, घोषणा भएका फिल्महरू तयार भएर अहिले प्रदर्शनमा आएका छन् । अरू धेरै फिल्महरू प्रदर्शनमा आउने तयारीमा छन्’ अध्यक्ष खड्काले लोकान्तरसँग भने । 

फ्लोर र घोषणामा कमी

हलमा नेपाली फिल्मको बाढी देखिँदा फ्लोरमा भने निकै कम फिल्महरू छन् । फिल्म घोषणाको क्रम पनि यतिबेला सुस्ताएको छ । घोषणा भएका फिल्महरू समेत फ्लोरमा जान सकिरहेका छैनन् । ‘फूलबारी’, ‘छडके २’, ‘गुलावी’ लगायतका केही सीमित फिल्महरू मात्रै फ्लोरमा रहेको जानकारहरू बताउँछन् । 

नेपाली फिल्मका निकै ब्यस्त प्रोडक्सन म्यानेजर शंकर पाण्डेले यतिबेला केही सीमित फिल्म मात्रै फ्लोरमा रहेको बताए । ‘अहिले एकदमै धेरै फिल्महरू रिलिज  भइरहेका छन् । तर, छायाँकन एकदमै कम भएका छन्’ पाण्डेले भने ।

फिल्म फ्लोरमा नजाँदा धेरै प्राविधिकहरूसमेत खाली बस्नुपरेको छ । प्राविधिकहरूको छाता संगठन नेपाल चलचित्र प्राविधिक संघका अध्यक्ष पुष्कर लामाले भने, ‘अहिले ५० प्रतिशत प्राविधिकहरूले मात्रै काम पाइरहेका छन् । आधाभन्दा धेरै प्राविधिक खाली बस्नुपरेको छ । दशैं तिहारजस्ता चाडपर्व नजिकिएको अवस्थामा काम नहुँदा प्राविधिकहरू चिन्तित छन् ।’

कारण के हुनसक्छ ?

लेखक एवं निर्देशक दीपेन्द्र के. खनालका अनुसार, अहिले फिल्म घोषणामा कमी देखिनु एवं सीमित फिल्म मात्रै फ्लोरमा जानुको मुख्य कारण पछिल्लो समयका फिल्महरू राम्ररी नचल्नु नै हो । पछिल्लो समय आशा गरिएका फिल्मले पनि राम्रो व्यापार गर्न सकिरहेका छैनन् ।

निर्देशक खनाल भन्छन्, ‘फिल्म राम्रोसँग नचलेर नै होला । यतिबेला आशा गरिएका फिल्मले पनि राम्रो गरिरहेका छैनन् । अर्को कारण भनेको यतिबेला समग्र देशमै आर्थिक मन्दीको स्थिति छ । बैंकमा पैसा छैन भनेर रुवाबासी देखिन्छ । त्यसले पनि केही असर गरेको हुनसक्छ ।’ 

अहिले फिल्महरू मागभन्दा बढी आइरहेको हुनाले निर्माण कम हुन जरूरी पनि रहेको बताउँछन् । ‘विदेशी फिल्महरू पनि आइरहेकै हुन्छन् । त्यसमाथि हप्तैपिच्छे २/३ वटा नेपाली फिल्म लाग्छ’ उनी भन्छन्, ‘दर्शकले पनि कुन हेरुन् । अलि ओभरफ्लो नै भइसक्यो ।’

लेखक एवं निर्देशक प्रदीप भट्टराई कोभिडपछि प्रदर्शन भएका फिल्महरूको व्यापारलाई हेर्दा दर्शकको स्वाद फेरियो भन्ने कुरा छर्लङ्गै देखिएको बताउँछन् । ‘अब फिल्म बनाउने तरिकादेखि कथावस्तुलगायतमा अलिकति पुनर्मूल्यांकन गर्नुपर्ने अवस्था छ’, भट्टराई भन्छन्, ‘अहिले धेरै जना सोही कुराको आन्तरिक तयारीमै हुनुहुन्छ जस्तो लाग्छ ।’ 

कुन फिल्म चलिरहेको छ भन्ने अवस्था अहिले नदेखिएकाले निर्माताहरू अन्योलमै रहेको हुनसक्ने भट्टराईको भनाइ छ । अहिले वर्षायामको मौसम भएको कारण पनि फिल्म छायाँकनमा कमी आएको हुनसक्ने उनी बताउँछन् । असोजदेखि फ्लोरमा जाने फिल्महरूको संख्यामा वृद्धि हुनसक्ने अनुमान भट्टराईको छ । 

अहिले फिल्महरूको व्यापार अपेक्षित नहुँदा निर्माताहरू सुस्ताएको अन्य फिल्मकर्मी पनि बताउँछन् । फिल्मका प्रोडक्सन म्यानेजर शंकर पाण्डे यति बेला फिल्मको व्यापार राम्रो नहुँदा कस्तो फिल्म बनाउने भनेर निर्माताहरू सोँचमा रहेको हुनसक्ने बताउँछन् । अहिले अन्तर्राष्ट्रिय बजारमा समेत ‘प्रेम गीत ३’को चर्चा रहेकोले कतिपय निर्माता उक्त फिल्मको प्रदर्शनको पर्खाइमा रहेको हुन सक्ने पाण्डे बताउँछन् । 

‘प्रेम गीत अन्तर्राष्ट्रिय बजारसम्म यसरी पुग्नु नेपाली फिल्मको लागि एकदमै राम्रो कुरा हो’, उनी भन्छन्, ‘अब कस्तो फिल्म बनाउने ? कति करोडमा फिल्म बनाउने ? अन्तर्राष्ट्रिय मार्केट कस्तो बनाउने भन्ने कुराहरू प्रेम गीत ३ रिलिज भएपछि समीक्षा गरिन्छ जस्तो लाग्छ ।’

आउँदो वर्ष चाप देखिएला ?

यतिबेला घोषणा भएका र फ्लोरमा रहेका केही फिल्महरू यसै वर्ष रिलिज हुन सक्छन् । केही फिल्महरू अर्को वर्षका लागि हुनसक्छन् । तर, यतिबेला फिल्म घोषणा र फ्लोरमा रहेका फिल्महरूसमेत कम हुँदा त्यसको असर अर्को वर्ष देखिन सक्ने कतिपय फिल्मकर्मीहरूको अनुमान छ । अर्को वर्ष हलमा नेपाली फिल्मको अभाव नै देखिन सक्ने समेत कतिपय फिल्मकर्मीहरू बताइरहेका छन् । 

तर, ‘ए मेरो हजुर’ फ्रेम्ड निर्माता एवं निर्माता संघका महासचिवसमेत रहेका सुनिलकुमार थापा यस वर्षभन्दा अर्को वर्ष फिल्मको संख्यामा कमी हुने तर बाहिर हल्ला भएजस्तो धेरै कमी भने नहुने बताउँछन् । 

‘फिल्म बन्न समय लाग्दैन । एउटा फिल्मले पैसा कमाएको देख्यो कि १० जना निर्माता तात्तिइहाल्नुहुन्छ’, थापाले भने, ‘अहिले अधिकांश फिल्मले पैसा नकमाएको स्थितिले गर्दा गाह्रो हुन्छ कि क्या हो भनेर निर्माताहरू डराएका हुन् ।’ 

थापाले आउँदो वर्ष यस वर्षको जस्तो फिल्मको भीडभाड भने नहुने आकलन गर्छन् । ‘यसवर्ष भन्दा आउँदो वर्ष २०÷३० प्रतिशतले त कमी हुन्छ होला । तर, खडेरी हुने किसिमले कमी होला जस्तो लाग्दैन’, थापाले भने, ‘अर्को वर्ष अहिलेजस्तो २÷३ वटा फिल्म नजुध्लान्, खाली चाहिँ हुँदैन ।’ 

लेखक एवं निर्देशक भट्टराई पनि थापाको कुरामा सहमत छन् । ‘फिल्म भनेको कथा भन्नेको विशिष्ट रूप हो । कथा भन्ने कुरा संसारमा कहिल्यै रोकिँदैन’, भट्टराईले भने, ‘तर, केही संख्यामा घटी–बढी हुनसक्छ । आउँदो वर्ष पनि केही संख्यामा कमी होला । तर, असाध्यै कमी आउलाजस्तो लाग्दैन ।’

salt training

कमेन्ट गर्नुहोस्