
लोकदोहोरी क्षेत्रमा बहुप्रतिभाशाली व्यक्तित्वका रूपमा चिनिएका दीपसागर डिसीको निधन भएको छ । मोडल, छायांकार, निर्देशक एवं सम्पादकसमेत रहेका दीपसागरको सोमवार बिहान निधन भएको हो ।
मिर्गौला एवं सुगरको रोगबाट ग्रसित ४२ वर्षीय उनको उपचारका क्रममा भेनस अस्पतालमा निधन भएको कलाकार शेरबहादुर गुरुङले जानकारी दिए । दीपसागरको सोमवार नै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ ।
स्याङजाका दीपसागरले ५० को दशकको अन्त्यतिरबाट कोरस डान्सरका रूपमा करिअर थालेका थिए । उनले मेकअपम्यान, निर्देशक, छायांकार, सम्पादक एवं मोडल भएर थुप्रै म्युजिक भिडियोमा काम गरेका छन् ।
कुनै समय अत्याधिक रूपमा लोकदोहोरी भिडियो निर्माण गर्दै आएको कृष्ण फिल्मसका प्रबन्ध निर्देशक बाबुराजा केसी दीपसागर २०५९ सालमा कोरस नाच्छु भन्दै आफूकहाँ आएको सम्झन्छन् ।
‘त्यतिबेलै एकदमै प्रतिभाशाली लागेको थियो । कोरस हुँदाहुँदै ग्रुप लिडर गर्न थाल्यो । त्यसपछि मेकअपको काम गर्यो’, केसी सुनाउँछन्, ‘त्यसपछि निर्देशन गर्छु भन्यो र निर्देशन गर्न थाल्यो । त्यसपछि छायाँकन, सम्पादन एवं मोडलसमेत भएर थुप्रै भिडियोमा काम गर्यो ।’
कलाकार शेरबहादुरका अनुसार दीपसागरले २ सय बढी म्युजिक भिडियोको निर्देशन गरेका छन् । अभिनय गरेका म्युजिक भिडियोहरू दुई दर्जन बढी छन् । राजु परियार, बीमाकुमारी दुरा लगायतको स्वर रहेको चर्चित गीत ‘बेनीको बजार’मा दीपसागरले अभिनय गरेका थिए ।
उनले ‘पुरानो पुस्ता’ नामक फिचर फिल्मको समेत निर्देशन गरेका छन् । पछिल्लो समय पनि दीप सागर छायांकन र निर्देशनमा सक्रिय थिए । उनको श्रीमती, एक छोरी र एक छोरा छन् ।
दीपसागरको निधनमा लोकदोहोरी क्षेत्रका कलाकारहरूले शोक व्यक्त गरेका छन् । राष्ट्रिय लोक तथा दोहोरीगति प्रतिष्ठानका अध्यक्ष रमेश बिजी, मोडल एवं निर्देशक शंकर बिसी, गायक एवं संगीतकार वसन्त थापा, गायिका पूर्णकला बिसीलगायत थुप्रैले सामाजिक सञ्जालमा दीपको योगदानको स्मरण गर्दै शोक व्यक्त गरेका छन् ।