१८ असार २०८३, बिहीबार
युक्रेन युद्ध

खार्किभमा युक्रेनको प्रत्याक्रमणपछि कस्तो हुन सक्छ रुसको कारवाही ?

भदौ ३१, २०७९
खार्किभमा युक्रेनको प्रत्याक्रमणपछि कस्तो हुन सक्छ रुसको कारवाही ?
ANATOLII STEPANOV/AFP/GETTY IMAGES

विगत १० दिनदेखि युक्रेनको पूर्वी भागमा रहेको खार्किभ क्षेत्रमा युक्रेनी सेनाले गरेको प्रत्याक्रमण कारवाहीले केही भूभाग फिर्ता लिनुबाहेक खासै उल्लेख्य सफलता हासिल गरेको छैन । 

युक्रेनकी उपरक्षामन्त्री हान्ना मालयारले अहिलेसम्म ३८ सय वर्गकिलोमिटर क्षेत्र फिर्ता लिइएको दाबी गरेकी छन् । उता राष्ट्रपति भोलोदीमीर जेलेन्स्कीले चाहिँ ६ हजार वर्गकिलोमिटर क्षेत्रलाई रुसी कब्जाबाट मुक्त गरिसकेको बताएका छन् । 

यसलाई युक्रेनले युद्ध नै जितेसरी पश्चिमी सञ्चारमाध्यमहरूले प्रस्तुत गरिरहेका छन् । रुसले सयौं ट्यांकहरू, हजारौं मृतक र घाइतेहरू अनि दशौं हजार सैनिकहरू छोडेर भागेको समाचारहरू पनि आइरहेका छन् । तर वास्तविकता त्यसभन्दा जटिल छ । 

१९फोर्टीफाइभ डट्कममा अमेरिकी विश्लेषक ड्यानियल डेभिसले लेखेअनुसार, पश्चिमले जेलेन्स्कीको सफलताका विषयमा धेरै खुशी हुनुपर्ने कारण छैन । यस सफलताले समग्र युद्धको दिशालाई परिवर्तन गर्न सकेको छैन । 

युक्रेनले आश्चर्यजनक कारवाही चलाएर रुसलाई खार्किभमा पराजित गरेको हैन । खार्किभबाट अधिकांश रुसी सैनिकहरू पहिले नै निस्किसकेका थिए । त्यहाँ स्वघोषित लुगान्स्क जनगणतन्त्रका योद्धा तथा रुसको नेसनल गार्डका जवानहरू थिए । 

त्यसैले रुसी सैनिकहरू खार्किभबाट भागेको भन्दा पनि योजनाबद्ध ढंगले डोनबास क्षेत्रतिर गएको देखिन्छ । रोयटर्स समाचार संस्थाले एकजना पश्चिमी अधिकारीलाई उद्धृत गर्दै तयार पारेको समाचारमा उल्लेख भएअनुसार, खार्किभबाट हट्नका लागि रुसी सेनाको शीर्ष कमान्डबाट आदेश आएको हुन सक्छ । यसलाई रुसी सेना धराशायी भएको भन्न मिल्दैन । 

यसलाई युक्रेनले युद्ध नै जितेसरी पश्चिमी सञ्चारमाध्यमहरूले प्रस्तुत गरिरहेका छन् । रुसले सयौं ट्यांकहरू, हजारौं मृतक र घाइतेहरू अनि दशौं हजार सैनिकहरू छोडेर भागेको समाचारहरू पनि आइरहेका छन् । तर वास्तविकता त्यसभन्दा जटिल छ । 

ती अधिकारीले अर्को महत्त्वपूर्ण कुरा पनि गरेका छन् । युक्रेनको सफलता नाटकीय देखिन्छ किनकि उनीहरूले व्यापक भूभाग फिर्ता लिएका छन् । तर रुसीहरूले प्रतिरक्षा गर्नुपर्ने क्षेत्रको दायरा घटाएर सही सामरिक निर्णय लिएका छन् । 

त्यसका लागि उनीहरू नियन्त्रणमा लिइएका भूभाग त्याग्न पनि तयार देखिन्छन् । रुसले तत्कालै ती भूभाग फिर्ता लिनका लागि कारवाही चलाउने सम्भावना ती नरहेको ती अधिकारी बताउँछन् । 

यहाँनेर हामीले युक्रेनविरुद्ध रुसले विशेष सैन्य कारवाही किन चलाएको भन्ने कुरालाई हेक्का राख्नुपर्ने हुन्छ । यो कारवाही चलाइएको डोनबास क्षेत्रका रुसीभाषीहरूलाई युक्रेनी दमनबाट मुक्त गर्न अनि युक्रेनको असैन्यीकरण तथा नाजीविहीनीकरण गर्नका लागि हो । 

भूभाग कब्जा गरेर राख्ने रुसको प्रमुख उद्देश्य हैन यद्यपि रुसी भूभागबाट क्राइमियासम्मको स्थलमार्गलाई रुसले सजिलै परित्याग पनि गर्दैन । उसले खर्सन र जापोरिझझियालाई रुसी भूमिमा मिसिने विकल्पका लागि जनमतसंग्रह गराउने प्रयास गरेकै हो । 

तर खार्किभमा नियन्त्रित भूभाग परित्याग गर्नुमा रणनीतिक कारण छ । विभिन्न विश्लेषणहरूको अध्ययन गर्दा यसको स्पष्ट तस्वीर देखिन्छ । 

विशेष सैन्य कारवाही शुरू भएको केही समयभित्रै रुसले इज्युम शहर नियन्त्रणमा लिएको थियो । त्यसलाई उसले स्लोभियान्स्क र क्रामातोर्स्क शहरमा आक्रमण गर्ने प्रस्थानविन्दु बनाएको थियो । 

तर विगत केही महिनायता रुसले इज्युमबाट दक्षिणमा रहेको सिभेर्स्की डोनेट्स नदी तर्न कोशिश गरे पनि सफलता पाइरहेको थिएन । दक्षिणतिर रहेको घना शेरवूड जंगलमा युक्रेनी सैनिकहरू दह्रो गरी बसेका थिए र उनीहरूले रुसी फौजलाई त्यहाँ आउन दिएका थिएनन् । 

यस्तो अवस्थामा इज्युम शहरलाई प्रतिरक्षा गरेर बस्नुमा कुनै रणनीतिक लाभ नहुने रुसले थाहा पाइसकेको थियो । त्यसैले बेलायती सैन्य विश्लेषक अलेक्जेन्डर मर्कुरिसले निकै अघिदेखि नै रुसी सैनिकहरू इज्युमबाट हट्ने पूर्वानुमान गरेका थिए । 

रुसी सैनिकहरू त्यहाँबाट हट्दा उनीहरूलाई न्यूनतम मात्र क्षति पुगेको छ भने युक्रेनका चाहिँ हजारौं सैनिक मारिएका छन् । 

अस्ट्रियाली सेनाका कर्नेल तथा सैन्य मामिला विशेषज्ञ मार्कस राइसनरले आफ्नो यूट्युब भिडियोमा युक्रेनले यस प्रत्याक्रमणका लागि ६ ब्रिगेड सैनिक उपयोग गरेको बताएका छन् । एक ब्रिगेडमा चार हजार जति सैनिक हुन्छन् । युक्रेनले यस आक्रमणमा एक ब्रिगेड सैनिक गुमाएको अनुमान गरिन्छ । 

यी युक्रेनी सैनिकहरू रुसको आर्टिलरीले निशाना बनाउने स्थानमा पुगेर सखाप भएका हुन् । त्यसमाथि रुसी वायुसेनाले युक्रेनका सयौं ट्यांक र सशस्त्र वाहनहरूलाई ध्वस्त बनाएको छ । आफ्ना हजारौं सैनिकहरूको बलिदान दिँदै युक्रेनले पश्चिमी सञ्चारमाध्यममा सफलताको प्रचारबाजी गर्ने अवसर पाएको छ । 

उसको यो प्रचारबाजी पश्चिमबाट थप हातहतियार लिने उद्देश्यले भइरहेको हो । त्यसमा ऊ सफल भएको छ । 

युक्रेनी प्रत्याक्रमण सफल भएको निष्कर्ष निकाल्दै अमेरिकाले उसलाई ६० करोड डलर बराबरको सुरक्षा प्याकेज दिने घोषणा बिहीवार (१५ सेप्टेम्बरमा) गरेको छ । अमेरिकाले आफूसँग जगेडा रहेको हातहतियार दिने त्यहाँका परराष्ट्रमन्त्री एन्टोनी ब्लिन्केनले बताएका छन् । 

सीएनएनका अनुसार, यस प्याकेजमा हिमार्स रकेट प्रणालीका लागि थप गोलीगट्ठा पनि परेको छ । हिमार्समार्फत युक्रेनले रुसका विभिन्न कमान्ड पोस्टहरूमा प्रहार गरिरहेको छ । 

प्याकेजमा दशौं हजार आर्टिलरी गोलीगट्ठा र सैन्य ड्रोनहरू पनि छन् । अजि जाडोमा लड्नका लागि उपयोगी हुने पोशाक र नाइट भिजन डिभाइस पनि अमेरिकाले उपलब्ध गराउनेछ । 

युक्रेनको यस प्रत्याक्रमणको जवाफ रुसले कसरी फर्काउँछ ? तत्कालका लागि रुसी सेनाहरू इज्युम इलाकाको ओस्कोल नदीको पूर्वी भागमा पुगेका छन् । त्यही नदीले उनीहरूलाई सुरक्षा दिइरहेको जेलेन्स्कीका सल्लाहकार ओलेक्सी आरेस्टोविचले बताएका छन् । 

इज्युमभन्दा दक्षिण लिमान शहर नजिक सिभेर्स्की नदीले रुसी फौजहरूलाई पहरा दिइरहेको छ । रुसका यी दरिला पोजिसनलाई सानो संख्याका सैनिकहरूले सजिलै प्रतिरक्षा गर्न सक्छन् । 

खार्किभको सफलतापछि युक्रेनले डोनबास क्षेत्रमा आक्रमणको कोशिश अवश्य गर्नेछ । तर त्यहाँ रुसले थर्ड रसियन कोर्प्सका सैनिकहरू परिचालन गरिसकेको खबर छ । ती भनेका लगभग ५० हजार सैनिक हुन् । उनीहरू युक्रेनी आक्रमणको प्रतिकार गर्न तम्तयार छन् । 

त्यसो त युक्रेनी सैनिकहरूले खार्किभकै लिमानमा आक्रमणको कोशिश गरेका थिए । तर त्यहाँ अहिले रुसी सैनिकहरूलाई परिचालन गरिएको छ । ती सैनिकहरूले स्वघोषित लुगान्स्क जनगणतन्त्रका योद्धाहरूको स्थान लिएका छन् । 

सिभेर्स्की डोनेट्स नदीभन्दा उत्तरतर्फका जंगलमा लुकेर बसेका युक्रेनी सैनिकहरूलाई धपाउनका लागि रुसी सैनिकहरूले कारवाही चलाइरहेका छन् । 

खार्किभ प्रत्याक्रमणमा आंशिक सफलता पाएपछि जोश बढेकाले रुसको बेलगोरोड क्षेत्रमा समेत युक्रेनले आक्रमण गरेको छ । यसै साता मात्र दुईपटक युक्रेनले त्यहाँ आक्रमण गर्दा दुईजना सर्वसाधारणको ज्यान गएको छ । यस्ता आक्रमणलाई रोक्नका लागि रुसले थप सैनिक परिचालन गर्दैछ । 

खार्किभ प्रत्याक्रमणले लडाइँलाई थप खतरनाक मोडमा ल्याइपुर्‍याएको छ । रुसले युक्रेनमा चलाइरहेको कारवाहीलाई युद्ध नभनी विशेष सैन्य कारवाहीको संज्ञा दिएकाले अहिलेसम्म सैन्य अड्डा तथा हतियार भण्डारलाई मात्र तारो बनाइरहेको छ । 

तर युक्रेनको प्रत्याक्रमणपछि रुसले आइतवार राति खार्किभको गैरसैन्य संरचनामा समेत क्षेप्यास्त्र आक्रमण गरेको छ । त्यस आक्रमणले गर्दा केही समयका लागि खार्किभमा विद्युत् आपूर्ति बन्द भएको थियो । 

अनि बुधवार युक्रेनको दक्षिणी भागमा रहेको किर्भी रिह शहरस्थित काराचुनिव्स्के नामक एक जलाशय बाँधमा रुसले क्षेप्यास्त्र प्रहार गरेको छ । जेलेन्स्की त्यही शहरमा जन्मेका हुन् ।

उनले रुसी आक्रमणको निन्दा गर्र्दै खार्किभबाट पलायन भएका भगौडाहरूले अब गैरसैन्य संरचनालाई तारो बनाउन थालेको आरोप लगाए । त्यसैक्रममा उनले रुसलाई पुनः एकपटक आतंकवादी राज्यको संज्ञा दिए । 

तर काराचुनिव्स्के जलाशय बाँधमाथि आक्रमण सामरिक योजनाअन्तर्गत गरिएको सैन्य विश्लेषकहरू बताउँछन् । उक्त बाँध इन्गुलेट नदीमा बनाइएको हो । त्यो नदीको दक्षिणपश्चिमी भागले युक्रेन तथा रुसको नियन्त्रणमा रहेको भूभागलाई छुट्ट्याउँछ । 

खर्सन प्रत्याक्रमणमा युक्रेनी सैनिकहरूले नदी तर्न तथा दक्षिणी भागमा आक्रमण गर्नका लागि अस्थायी पुल (पोन्टून ब्रिज) बनाएका थिए । रुसले बाँधमा आक्रमण गरी इन्गुलेट नदीको जलस्तर बढाएर ती पोन्टून ब्रिजहरूलाई बगाइदिन खोजेको हो । त्यसो गर्दा नदीको दक्षिणी भागमा रहेका युक्रेनी सैनिकहरूलाई बन्दोबस्तीका सामान आपूर्ति गर्न कठिन हुने र सजिलै हराउन सकिने रुसको आकलन हुनुपर्छ । 

खार्किभ प्रत्याक्रमणपछि रुसले भूमि परित्याग गर्दा रुससमर्थक टिप्पणीकारहरूले पनि मस्कोको चर्को आलोचना गरेका थिए । पुटिनका बफादार चेचेन गणतन्त्रका प्रमुख रमजान कादीरोभले पनि रुसी सेनाको कमान्डले त्रुटि गरेको र यसबाट पाठ सिक्नुपर्ने टिप्पणी गरेका थिए । 

तर पुटिनले गत जुलाई महिनामै आफूहरूले गम्भीरतापूर्वक केही कुरा शुरू नगरिसकेको खतरनाक चेतावनी दिएको स्मरण गर्नुपर्ने हुन्छ । अहिलेसम्म रुसले आफ्ना सबै सैनिक युक्रेन आक्रमणमा परिचालन गरेकै छैन । 

रुसले विशेष सैन्य कारवाहीलाई प्रतिआतंकवादी कारवाहीमा परिणत गर्ने सम्भावना रहेको भूराजनीतिक विश्लेषक पेपे एस्कोबारको भनाइ छ । त्यो भनेको रुसले सिरियामा चलाएको जस्तो कारवाही हो । उक्त कारवाहीमा रुसी वायुसेनाले निरन्तर बम प्रहार गरेर आतंकवादीहरूलाई धूलोपीठो बनाएको थियो । 

तर एउटा हात बाँधेर युक्रेनमा लडिरहने किसिमको मस्कोको नीति सही नभएको रुससमर्थक टिप्पणीकारहरू बताउँछन् । युद्धको घोषणा गरी युक्रेनविरुद्ध पूरै जाइलाग्ने (शक यान्ड अ) सैन्य अभियान चलाउनुपर्ने उनीहरू माग गर्छन् । 

रुसले विशेष सैन्य कारवाहीलाई प्रतिआतंकवादी कारवाहीमा परिणत गर्ने सम्भावना रहेको भूराजनीतिक विश्लेषक पेपे एस्कोबारको भनाइ छ । त्यो भनेको रुसले सिरियामा चलाएको जस्तो कारवाही हो । उक्त कारवाहीमा रुसी वायुसेनाले निरन्तर बम प्रहार गरेर आतंकवादीहरूलाई धूलोपीठो बनाएको थियो । 

खार्किभ प्रत्याक्रमणको सफलतामा युक्रेनी र पश्चिमाहरू रमाइरहेको भए पनि उनीहरूले रुसका तर्फबाट खतरनाक जवाफ पाउने सम्भावना देखिन्छ । अमेरिकी विश्लेषक विलियम श्राइभरको शब्द सापटी लिनुपर्दा रुस अब युक्रेनमाथि चट्याङ जस्तो गरी बर्सिन सक्छ । 

 


salt training

कमेन्ट गर्नुहोस्