
नेपालको सर्वाधिक लोकप्रिय एप हाम्रो पात्रोले कनेक्ट आईपिएससँग सम्झौता गरेको छ । एउटै एपमा विभिन्न सुविधा उपलब्ध गराउँदै आएको एप देश तथा विदेशमा निकै नै लोकप्रिय छ ।
हाम्रो पात्रोभित्र रहेको रेमिट्यान्स सर्भिसको माध्यमबाट हाल अमेरिकाबाट सजिलै नेपाल पैसा पठाउने सुविधा रहेको छ । यस सेवालाई प्रभावकारी बनाउन हाम्रो पात्रोले कनेक्ट आईपिएससँग व्यवसायिक सम्झौता गरेको हो । हाम्रो पात्रो रेमिटका निमित्त सीईओ सुदिना गौतम र एनसीएचएलका सीईओ निलेशमान सिंह प्रधानले सम्झौतापत्रमा हस्ताक्षर गरे ।
सम्झौताअनुसार लाभार्थीको बैंक खातामा सिधै रकम जम्मा गरिन्छ भने यसले हाम्रो पात्रो रेमिटलाई सिधैं बैंक खातामा आधारित रेमिट्यान्सको लागि सहज बनाउनेछ । त्यस्तै सेवा प्रवाहमा उल्लेखनीय सुधार ल्याउनेछ भन्ने पूर्ण विश्वासका साथ यो सम्झौता गरिएको हाम्रो पात्रोले जनाएको छ ।
यो अवसरमा हाम्रो पात्रोकी रेमिट सीईओ सुदिना गौतमले प्रयोगकर्तालाई विश्वास र समर्थनको लागि धन्यवाद दिँदै रेमिट सेवालाई अझै बढी प्रभावकारी बनाउनेमा जोड दिइने बताइन् । तत्कालका लागि रेमिटेन्स पठाएको दुईदेखि तीन दिनमा नेपाली बैंकको खातामा रकम जम्मा हुन्थ्यो भने अब कनेक्ट आईपिएसको माध्यमबाट लाभार्थीको बैंक खातामा केही घण्टाभित्रै रकम जम्मा भइसक्ने छ । उनले भनिन्, ‘हाम्रो लक्ष्य भनेको नेपाली प्रयोगकर्ताहरूलाई कम शुल्कमा सजिलै नेपालमा पैसा पठाउने सुविधा दिनु हो ।’
हाम्रो पात्रो रेमिट, नेपाल राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त रेमिटेन्स कम्पनी हो । यसले नयाँ प्रविधिहरू प्रयोग डिजिटल रेमिट्यान्सको माध्यमबाट नेपालमा अमेरिकाबाट पैसा भित्र्याइरहेको छ । छिट्टै नै अन्य देशमा पनि रेमिट्यान्स सुविधा शुरु हुने बताइएको छ । रेमिट सेवा शुरु भएसँगै कम्पनीले प्रयोगकर्तालाई आकर्षित गर्न विशेष अफर सार्वजनिक गरेको छ । जसअनुरूप प्रयोगकर्ताले हाम्रोपात्रोबाट शुरुवाती तीन पटकसम्म निःशुल्क रुपमा रेमिटेन्स नेपाल पठाउन सक्नेछन् ।
प्रयोगकर्ताले हाम्रो पात्रोको यो सेवा प्रयोग गर्न एन्ड्रोइडका लागि गुगल प्ले स्टोरमा गएर तथा आईओएस एप स्टोरमा यहाँ गएर हाम्रो पात्रोको एप डाउनलोड अथवा अपडेट गर्नुपर्नेछ । साथै वेबसाइटबाट समेत हाम्रो पात्रोको रेमिट सेवा प्रयोग गर्न सकिने बताइएको छ ।