
शिक्षा विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले सार्वजनिक शिक्षा सुधार्न आलोचनाभन्दा सामूहिक प्रयत्न आवश्यक रहेको बताएका छन् । राष्ट्रिय परीक्षा बोर्डले आयोजना गरेको ‘विद्यालय तह परीक्षाको नतिजा–वर्तमान अवस्था र भावी कार्यदिशा’ विषयक छलफलमा उनले सामूहिक प्रयत्नबाट शिक्षामा सुधार हुने बताए ।
‘पाइलैपिच्छे आलोचना गर्दै हिँडेर शिक्षा सुध्रिँदैन’, उनले भने, ‘प्राध्यापक, शिक्षक, कर्मचारी नागरिक समाज सबैले सामूहिक प्रयत्न गरे शिक्षामा सुधार हुन्छ ।’
बच्चा जन्मिएपछि सबैभन्दा ठूलो समय शैक्षिक संस्थामा बित्ने भएकाले तीन प्रकारका शिक्षा सुधार्न गम्भीर भएर लाग्नुपर्ने उनको भनाइ थियो । विद्यालय शिक्षालाई नियमन गर्न परीक्षा बोर्ड, उच्च शिक्षालाई नियमन गर्न विश्वविद्यालय र प्राविधिक तथा व्यवसायिक शिक्षा नियमन गर्न सीटीईभीटी रहेकाले थप सुधार गर्न विज्ञहरूको सुझाव आवश्यक रहेको औँल्याए ।
विश्वविद्यालयका आंगिक क्याम्पसहरू शिक्षा विषयमा रुची नभएकाले भर्ना हुनेको संख्यामा कमि आएको बताउँदै व्यवहारमुखी शिक्षाको आवश्यक रहेको उनले बताए । विद्यालय शिक्षा सुधार्न क्यालेन्डर प्रणाली आवश्यक रहेकाले वैशाखदेखि क्यालेन्डर प्रणाली लागू हुने मन्त्री पौडेलले विश्वास व्यक्त गरे ।