
बागमती प्रदेशमा डेंगु संक्रमणबाट ११ जनाको मृत्यु भएको छ ।
स्वास्थ्य निर्देशनालय बागमती प्रदेशको तथ्यांक अनुसार डेंगु संक्रमणका कारण मकवानपुरसहित अन्य ६ जिल्लामा गरी ११ जनाको मृत्यु भएको छ ।
स्वास्थ्य निर्देशनालय बागमती प्रदेशका प्रमुख महेश्वर श्रेष्ठले डेंगुबाट काठमाडौंमा ४, ललितपुरमा २, सिन्धुपाल्चोकमा २, मकवानपुरमा १, सिन्धुलीमा १ र धादिङमा १ जनाको मृत्यु भएको जानकारी दिए ।
प्रदेशमा हालसम्म १३ हजार ३७५ जना डेंगुका बिरामी फेला परेको छ । ती सबैभन्दा धेरै ललितपुर जिल्लामा ४ हजार ८७८ जना डेंगुका बिरामी फेला परेका छन् ।
काठमाडौंमा ४ हजार ६७४, मकवानपुरमा १ हजार ८१०, भक्तपुरमा ७१३, चितवनमा ४२९ र धादिङमा ३९९ जना डेंगुका बिरामी फेला परेका स्वास्थ्य निर्देशनालयले जनाएको छ ।