
नेकपा एमालेले डेंगु संक्रमणको रोकथाम र नियन्त्रण गर्न सरकारसँग माग गरेको छ ।
पार्टी केन्द्रीय सचिव तथा स्वास्थ्य तथा जनसंख्या विभागका प्रमुख योगेश भट्टराईले बुधवार विज्ञप्ति जारी गर्दै डेंगु संक्रमणका अवस्था जटिल बन्दै गएको भन्दै रोकथाम र नियन्त्रण गर्न सरकारसँग माग गरेका हुन् ।
विज्ञप्तिमा उनले तीनै तहका सरकार लगायत विभिन्न सरकारी/गैरसरकारी निकाय बीचमा समन्वयात्मक परिचालन, सिटामोल लगायतका औषधिको सहज उपलब्धताको माग गरे ।
लामखुट्टे नियन्त्रणका लागि समुदायस्तरको परिचालन, बिरामीको पहिचान र परीक्षणलाई व्यापक र सहज बनाउन, अस्पतालको सेवा विस्तार गर्न, जनशक्ति र बजेट थप गर्न समेत उनले आग्रह गरे ।
नेता भट्टराईले देशव्यापी रूपमा फैलिएको डेंगु रोगका कारण उत्पन्न स्वास्थ्य प्रकोपका सम्बन्धमा पार्टीको ध्यानाकर्षण भएको समेत जनाए । पछिल्लो तथ्यांक अनुसार १७ हजार ५९४ जना प्रभावित र २१ जनाको निधन भएको छ ।
डेंगु रोगको फैलावटको तुलनामा सतर्कता, नियन्त्रण र उपचारमा सरकारसँग जुन तहको योजना, कार्यक्रम र सक्रियता हुनुपथ्र्यो, त्यसमा सरकार चुकेको उनको भनाइ छ ।
उनले पार्टीका तहगत कमिटी तथा जनसंगठन र पार्टी सदस्यलाई समेत डेंगु रोग नियन्त्रणमा योगदान गर्न आह्वान समेत गरेका छन् ।