
गृहमन्त्री सुधन गुरुङले प्रतिनिधिसभामा उपस्थिति सांसदहरूलाई तीन तहको सरकारको कामकारबाही बारे स्मरण गराएका छन् ।
प्रतिनिधिसभाको शुक्रबारको बैठकमा उनले यस्तो बताएका हुन् । ‘म आज तपाईंहरूलाई तीन तहको सरकारको कामका बारेमा सिकाउँछु, देशमा तीन तहको सरकार छ। संघीय सरकार, प्रदेश सरकार र स्थानीय सरकार हुन्छ,’ गुरुङले भने, ‘जुन ठाउँमा घटना घट्यो ट्राफिकले ह्वील लक लगाएको होइन, नगर प्रहरीले लगाएको हो । स्थानीय सरकार कसको छ अहिले ? राष्ट्रिय स्वतन्त्र पार्टीको छ? प्रदेश सरकार कसको छ अहिले ? तपाईंहरूले बनाएको नियम कानून टेकेको हो हामीले ।’
उनले आफ्ना बारेमा सांसदहरूले गरेको आलोचनाबारे धेरै सहेको बताए । उनले भने, ‘मैले धेरै भयो सहेको । गाह्रो हुन्छ कहिले कहिले । आफ्नो देश राम्रो होला भनेर हामी युवाहरू एउटा आशाले लडेका थियौं । आज देश चलाएका माननीयहरूबाट सिक्नुपर्ने ।
मन्त्रीको हिसाबले आफू एउटा नागरिकका लागि रातभरि खटिएको उनले बताए । ‘जुन संयन्त्र प्रहरी र ट्राफिक प्रहरी पहिला नेताको मात्रै रक्षा गर्न जान्थ्यो । तर, हिजो रातभरि खटिएको थियो सडकमा । गणेश नेपालीको ज्यान जोगाउन लागि,’ उनले भने ।
उनले विगतमा सुरक्षा निकायहरू भीआईपीलाई सेक्युरिटीमा रहे पनि बिहीबार रातभर जनताको लागि खटिएको बताए ।
गुरुङले नेपालीलाई भारतमा उपचारका लागि लैजान धेरै प्रक्रियाबारे काम भएको समेत सदनलाई अवगत गराए । उनले भने, ‘एम्बुलेन्स ठिक्क परियो, परराष्ट्रमन्त्री र सचिव उठ्नुभयो । भारतीय दूतावासमा कुरा गर्नुभयो । म राति आफैं एयरपोर्ट गएको हो । त्यसलाई स्टन्टबाजी भन्नुहुन्छ भने यस्तो स्टन्टबाजी सबै जनाबाट चाहियो- आफ्ना नागरिकको सेवा गर्नलाई ।’