
रुकुमपूर्वमा महिला पञ्चे बाजा संरक्षणमा जुटेका छन् ।
आधुनिक सामग्रीको बढ्दो प्रयोगले ओझेलमा पर्दै गएको पञ्चेबाजाको अस्तित्व जोगाउन रुकुमपूर्वमा महिला अग्रसर भएका हुन् । उनीहरूले अहिले पञ्चेबाजा बजाउन सिकिरहेका छन् ।
स्थानीय सरकारको सहयोगमा जिल्लाको सिस्ने गाउँपालिका–५ का २ वटा महिला दिदीबहिनीको समूहले पञ्चेबाजा बजाउन सिकिरहेका छन् । रुमालबारा र शिला टोलका २ वटा समूहले विगत १ महिनायता बाजा बजाउन सिकिरहेको सिस्ने–५ शिलाकी फम्फा परियारले बताइन् ।
यसअघि जिल्लामा पुरुषले मात्र पञ्चेबाजा बजाउँदै आएका थिए । अब महिलाले पनि सीप सिकेर बाजा बजाउन शुरू गरिसकेको परियारले बताइन् । बाजाको २२ चालामा आफूहरूले १ महिना अवधिमा ४–५ चाला सिकिसकेको बताउँदै नेपालीले यसै महिनाको एउटा सामाजिक कार्यमा महिलाको टीमले मात्र बाजा बजाएर काम टारेको सुनाइन् ।
शिलाकै सलिना परियारले चुलोचौकोमा सीमित पारिएका महिला अहिले आएर पुरुषसरह बाजा बजाउन थालेपछि खुशी लागेको बताइन् । समाजमा महिलाले पनि पुरुष सरहको काम गर्न सक्छन् भन्ने खालको उदाहरण दिन भए पनि आफूहरू बाजा बजाउन उत्सुकताका साथ सिकिरहेको उनले बताइन् ।