२४ असार २०८३, बुधबार

लेक लाग्न थालेपछि खप्तडमा सेनाको निःशुल्क स्वास्थ्य सेवा

लेक लाग्न थालेपछि खप्तडमा सेनाको निःशुल्क स्वास्थ्य सेवा
प्रतिकात्मक तस्वीर

बझाङको खप्तडछान्ना–५ कि किष्णा जोशी गत शुक्रवार ओरालु (सैन्डाँडा) मेलाका लागि अघिल्लै दिन खप्तड गइन् ।

खप्तड जाँदा उनलाई लेक लाग्न शुरू भयो । कागती र केही खाजा बोकेकी उनलाई हिँड्न सहज त भयो तर रिँगटा लाग्ने भने ठीक भएन ।

गाउँमा आफन्तसँग फोनमा कुरा गरेर आफ्नो समस्या सुनाएपछि नेपाली सेनाको व्यारेकबाट उनलाई औषधि ल्याइयो र बिरामी निको भयो ।

बाजुरा काँडाका श्यामलाल रोकायाले पनि खप्तड जाँदा त्यही समस्या भोगे । दहपाटनबाट हिँड्नै नसक्ने भएका रोकाया खप्तड व्यारेक पुगेपछि भने सेना उपलब्ध गराएको औषधिले निकै राहत गरेको सुनाए ।

आधा घण्टा ब्यारेकमा आराम गरेपछि भने रोकाया त्रिवेणी पुगेर पूजाआजापछि घर फर्किए ।

खप्तडमा यस्ता समस्या हुने दर्जनौं नागरिकको ओखती बनेको छ, खप्तड व्यारेक । पर्यटक, गोठाला, तीर्थालु भक्तजनलाई पछिल्लो दशकयता भने खप्तडमा बिरामी हुँदा चिन्ता हुँदैन । नेपाली सेनाको ब्यारेकबाट उपलब्ध हुने औषधि खाँदा सामान्य बिरामी सजिलै ठीक हुने गोठालो गर्न आएका विनोद रावलले बताए ।

खप्तडमा यस्ता समस्या दिनहुँ हुने भएपछि नेपाली सेनाले पनि विभिन्न मेलामा निःशुल्क स्वास्थ्य शिविर आयोजना गर्दै आएको छ । मेलामा धेरै टाढाबाट र कहिल्यै नआउने तीर्थालुलाई लेक लाग्ने समस्या हुन थालेपछि मेला भइरहेको क्षेत्रभित्रै शिविर आयोजना गर्दै आएको श्री सिंह शार्दुल गुल्म खप्तडका गुल्मपति विनोदकुमार सिलवालले बताए ।

ओरालु सैन्डाँडा मेलामा मात्रै होइन, जगन्नाथ मेला, दशहरामा पनि हजारौं तीर्थालु भक्तजनले सेनाको शिविरबाट सेवा लिने गर्छन् । ओरालु सैन्डाँडामा मात्रै नेपाली सेनाले सञ्चालन गरेको स्वास्थ्य शिविरबाट अढाइ सयभन्दा बढीले सेवा लिएको सिलवालले बताए ।

salt training

कमेन्ट गर्नुहोस्