१७ असार २०८३, बुधबार
कांग्रेसमा कलह

कांग्रेसमा बढ्दो चुनावी झगडा : समानुपातिकमा पेलिएपछि बिच्कियो शेखर पक्ष

कांग्रेसभित्रको असन्तुष्टिले गठबन्धनलाई सकस
असोज ८, २०७९
कांग्रेसमा बढ्दो चुनावी झगडा : समानुपातिकमा पेलिएपछि बिच्कियो शेखर पक्ष

आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभाको चुनावमा तालमेल गर्ने सहमति गरेको सत्तारूढ गठबन्धन सिट बाँडफाँटको ज्वरोले थलिएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा हुने हरेक दिनको बैठक अहिल्यै निष्कर्षमा पुगिहाल्ने अवस्थामा छैन ।

प्रतिनिधि सभाको १६५ निर्वाचन क्षेत्र र ७ वटा प्रदेशको ३३० निर्वाचन क्षेत्रमा सिट बाँडफाँटको बहसले हरेक दिन बालुवाटार गर्माउने गरेको छ । शुरूदेखि नै सिट बाँडफाँट सहमतिमा पुग्न नसक्नुको मुख्य कारण कांग्रेस रहेको गठबन्धनका अरू दलका शीर्ष नेताले सार्वजनिकरूपमा बताउँदै आएका थिए । 

शुरूमा कांग्रेसले न्यूनतम १०० सिट आफूलाई चाहिने दाबी गरेको थियो । अहिले कांग्रेसका नेताहरू त्यो दाबीबाट ओर्लिएका छन् । तर, अन्य दलको दाबी पनि अस्वाभाविक भएका कारण गठबन्धन निर्णयमा पुग्न सकिरहेको छैन ।

कांग्रेसभित्रको गुटगत प्रतिष्पर्धाले पनि गठबन्धनलाई निर्णयमा पुग्न अप्ठ्यारो परिरहेको गठबन्धनमा रहेका अरू दलका नेताहरू बताउँछन् । कांग्रेसमा दुई वटा समूहलाई मिलाउनुपर्ने भएकाले पनि सकेसम्म धेरै सिट आफ्नो पक्षमा राख्ने कांग्रेसका नेताहरूले पहल गरिरहेका छन् । 

कांग्रेसका महामन्त्री गगन थापा गठबन्धनको सिट बाँडफाँट कार्यदलका सदस्य छन् । उनी शीर्ष तहका नेताहरूको बैठकमा पनि सहभागी हुँदै आएका छन् । कांग्रेसमा संस्थापनइतर खेमामा रहेका थापा पार्टीमा आफ्नो समूहलाई सकेसम्म धेरै ठाउँमा समेट्न चाहन्छन् । त्यसैका लागि पनि उनले शुरूमा कांग्रेसलाई न्यूनतम १०० सिट चाहिने दाबी गरेका थिए । 

कांग्रेसको १४औँ महाधिवेशनमा दोस्रो चरणमा सभापतिमा प्रतिष्पर्धा गरेका शेखर कोइराला र पार्टी सभापति शेरबहादुर देउवा पक्ष पार्टीमा आमने–सामने छन् । देउवा कोइराला खेमालाई सकेसम्म बाइपास गरेर अघि बढ्न चाहन्छन् । कोइराला पक्षले त्यसको शसक्त विरोध गर्दै आएको छ ।

पार्टीमा देउवाको कार्यशैलीको सुधार, अवसरको समान वितरण र न्यायको पक्षमा कोइराला समूहले शसक्त दबाब सिर्जना गरिरहेको छ । मंसिर ४ को चुनावमा सकेसम्म कांग्रेसले सबै निर्वाचन क्षेत्रमा उम्मेदवारी दिएर एकल प्रतिस्पर्धा गर्नुपर्ने पक्षमा कोइराला समूह छ । तर, कांग्रेसको संस्थापन पक्ष यसमा सहमत छैन । गठबन्धनमा रहेका दलहरूलाई कांग्रेसले छाड्नासाथ वामपन्थीहरूको चुनावी समीकरण बन्ने र २०७४ कै निर्वाचनको जस्तो अवस्था आउने डर देउवा पक्षमा छ ।

गठबन्धनभित्र सिट बाँडफाँटको क्रममा कोइराला पक्षका नेताहरूको निर्वाचन क्षेत्र अन्य पार्टीका नेताहरू छाड्न संस्थापन पक्ष सरल भएपछि सश‌ंकित भएको कोइराला पक्ष समानुपातिकतर्फका उम्मेदवारको बन्दसूची निर्वाचन आयोगमा बुझाएपछि झन् बिच्किएको छ ।

समानुपातिकतर्फका उम्मेदवारको बन्दसूची बनाउने क्रममा शेखर पक्षका नेताहरू नसमेटिएपछि उनीहरू पार्टी संस्थापन पक्षसँग थप बिच्किएका हुन् । उनीहरूले समानुपातिक सूची सच्याउन माग गरेका छन् । निर्वाचन आयोगले असोज १६ गतेसम्म बन्द सूची सच्याउने समय दिएको छ ।

समानुपातिकतर्फको बन्दसूचीमा कोइराला पक्षका असाध्यै थोरै नेताको नाम परेपछि कोइराला पक्षले शनिवार काठमाडौंमा खबरदारी सभा नै आयोजना गरेर संस्थापन पक्षलाई दबाब दिएको छ । 

नेता डा. शेखर कोइराला र उनी पक्षका पार्टी पदाधिकारी सहभागी नभएको खबरदारी सभामा संस्थापन इतर खेमाका केन्द्रीय सदस्य, भातृ संस्थाका पदाधिकारी तथा पूर्व पदाधिकारी र आगामी चुनावमा टिकटको दाबेदारी गरिरहेका नेताहरूको सहभागिता थियो ।

खबरदारी सभालाई सम्बोधन गर्दै नेता गुरूराज घिमिरेले संस्थापन इतर पक्षलाई पार्टीमा ४० प्रतिशत हिस्सा चाहिने बताए । कांग्रेसको १४औँ महाधिवेशनमा सभापतिमा पराजित भएका शेखर कोइरालाले ४० प्रतिशत मत ल्याएका थिए । सोही आधारमा संस्थापन इतर खेमाले पार्टीमा ४० प्रतिशत हिस्सा दाबी गरेको हो ।

उनीहरूले खबरदारी भेलामार्फत समानुपातिक तर्फको बन्दसूची सच्याउन दबाब दिएका छन् । 

भेलालाई सम्बोधन गर्दै घिमिरेले भने, ‘समानुपातिकमा त देखाउन मिल्ने मान्छे राख्नुस् । अहिले प्रदेश १ बाट राखेका मान्छे हामी नै चिन्दैनौँ, यस्तो नाम राख्न कसले दियो अधिकार ?’

पार्टीमा न्यायोचितरूपमा टिकट वितरण हुनुपर्ने उनले बताए । ‘४० प्रतिशत भाग खोज्ने विषयको प्रतिपादक तपाईं (देउवा) हो । हामी तपाईंकै बाटोमा छौँ । कार्यकर्तालाई न्यायोचित अवसर चाहिन्छ । ४० प्रतिशत भन्दा १ प्रतिशत कम पनि मञ्जुर छैन । अब टुलुटुलु हेरेर हामी बस्दैनौँ’, घिमिरेले भने । 

घिमिरेले संस्थापन पक्षप्रति मात्रै होइन, गठबन्धनमा रहेका अन्यदलहरूप्रति आक्रोश पोखेका छन् । गठबन्धनभित्र हिसाब मिलाउँदैमा कांग्रेसका कार्यकर्ताले गठबन्धनका दललाई भोट नहाल्ने घिमिरेले बताए । अहिले गठबन्धनबाट बढी सिट लिँदैमा कांग्रेसका कार्यकर्ताले भोट हाल्ने र आफूहरूले जित्ने नठान्न घिमिरेले चुनौती दिए । 

‘म हाम्रो सभापतिलाई मात्र होइन प्रचण्डजी र माधव नेपालजीहरूलाई पनि भन्न चाहन्छु हामी आक्रोशको चरणमा छौँ । यसपछि विद्रोह हुनसक्छ । बालुवाटारमा बसेर हिसाब मिलाउँदैमा, सन्देश पठाउँदैमा, घण्टौँ बैठक गर्दैमा मागे जति सीट पाइँदैन र पाएजति सिट जितिँदैन’, घिमिरेले भने, ‘कांग्रेसभित्रको आन्तरिक आयाम नमिलेसम्म टाउको जोडेर जित्ने सोचेको भए होस पुर्‍याउनुस् । कांग्रेसको भोटबाट जित्ने सपना देख्नुभएको छ भने त्यो सम्भव छैन ।’ पार्टीभित्र न्यायोचित अवसरका लागि शेखर पक्षका पदाधिकारी र नेताहरूलाई खुट्टा नकमाउन पनि घिमिरेले आग्रह गरे ।

नुवाकोटका पूर्वसभापति जगदिश्वर नगरसिंह केसीले समानुपातिकको बन्द सूची असोज १६ गतेभित्र नसच्याए प्रतिवादमा उत्रिने बताए । ‘समानुपातिकमा हामीले दिएका नाम काटिएको छ । १६ गतेसम्म नसच्याए हामी प्रतिवादमा उत्रन्छौँ । समानुपातिक सूची सच्चिएन भने नयाँ बाटोका लागि तपाईं सबै तयार रहनुस्’, केसीले भने । 

नेपाल विद्यार्थी संघका पूर्वमहामन्त्री मनोजमणि आचार्यले सभापति शेरबहादुर देउवाले पार्टीका लागि भन्दा गठबन्धनमा बढी ध्यान दिएको भन्दै आपत्ति जनाए ।

उनले भने, ‘हामीले ल्याएको ४० प्रतिशत मत के को लागि हो ? महामन्त्रीले ल्याएको ३ हजार मतबारे बोल्नुपर्छ कि पर्दैन ? हामीलाई कि त न्यायोचित वितरण चाहियो नत्र ४० प्रतिशत चाहिन्छ, चाहिन्छ र चाहिन्छ । हिजो शेरबहादुरलाई ४० प्रतिशत चाहिने हो भने आज शेखर पक्षलाई किन नचाहिने ? अब यो यात्रा देशभर चल्छ ।’

तरुण दलका पूर्वमहासचिव भूपेन्द्रजंग शाहीले संस्थापन पक्षले समानुपातिकतर्फको उम्मेदवार छनोटमा एकलौटी गरेको आरोप लगाए । ‘समानुपातिक तर्फको नाममा एकलौटी गरिएको छ । केन्द्रीय सदस्यमा देउवालाई बहुमत छ । केन्द्रीय सदस्यमा बहुमत पुगेर मात्र चुनावमा बहुमत आउँछ ? मत दिने त जनताले होला नि’, उनले भने ।

पर्साका पूर्वजिल्ला सभापति अजय द्विवेदीले कांग्रेस विचारको हो कि ब्रिफकेसको भनी प्रश्न गरे । ‘कांग्रेसमा विचार मरेको छ । जहाँ विभेद हुन्छ, त्यहाँ विद्रोह हुन्छ । बहुमतको नाममा विभेद गर्न पाइँदैन’ उनले भने ।

डोटीका नेता भरत खड्काले उम्मेदवार छनोट न्याय संगत नभए शेखर पक्षले देशभर उम्मेदवारी दिने आँट गर्नुपर्ने बताए । ‘प्रचण्ड र माधव नेपालले बाँड्ने टिकट हामीलाई स्वीकार्य छैन । तालमेल गर्नै हुँदैन । आफ्नो असहमति राख्न पार्टीमा पाइन्छ’, उनले भने ।

निवर्तमान सांसद तेजुलाल चौधरीले मधेशमा कांग्रेसलाई अन्याय नहुने गरी गठबन्धन गर्नुपर्ने बताए । ‘मधेशको ३२ सिटमा कांग्रेसले २० सिट कम्तीमा लिनुपर्छ । छोड्दै जाने हो भने कांग्रेस मधेशमा सकिँदै जान्छ’, उनले भने ।

समानुपातिकतर्फको उम्मेदवारी छनोटमा पेलिएको शेखर पक्षका नेताहरूलाई प्रत्यक्षतर्फको उम्मेदवारी छनोटमा पनि यसैगरी थिचोमिचोमा पार्ने डर छ । खबरदारी सभाका देशभर टिकटका आकांक्षी रहेका कोइराला पक्षका नेताहरूको सहभागिता थियो । यसले पनि प्रत्यक्षतर्फको उम्मेदवार चयन र टिकट वितरणमा अहिल्यैबाट खबरदारीमा उनीहरू लागेको बुझिन्छ ।

कांग्रेसभित्रको यो चुनावी झगडाको असर चुनावी तालमेल गर्ने निर्णय गरेका गठबन्धनका दलहरूलाई समेत पर्ने भएको छ । कांग्रेसभित्र टिकट वितरणलाई लिएर असन्तुष्टि बढेको अवस्थामा अन्य दलले टिकट पाएको ठाउँमा कांग्रेस कार्यकर्ता चुनावी अभियानमा नखटिने सम्भावना छ । कांग्रेसको मत थपथाप हुँदा चुनाव जित्ने हिसाब–किताब गरेर उम्मेदवार भएका गठबन्धनमा रहेका अरू दलहरूलाई त्यसले प्रत्यक्ष असर गर्नेछ । 

गठबन्धनमा रहेका दलहरूले पाएको सिटमा जित हासिल गर्नको लागि पनि कांग्रेसभित्रको अन्तरकलह साम्य पार्नुपर्ने चुनौती गठबन्धनमा थपिएको छ ।

salt training

कमेन्ट गर्नुहोस्