२७ असार २०८३, शनिबार
सरसर्ती २४ घण्टा

अनलाइन प्रणालीमार्फत सरुवाको निवेदन आह्वान, पेट्रोलियम पदार्थको मूल्यमा गिरावट

असार १७, २०८३
काठमाडौं
अनलाइन प्रणालीमार्फत सरुवाको निवेदन आह्वान, पेट्रोलियम पदार्थको मूल्यमा गिरावट

'लोकान्तर राउण्ड अप'मा पाठकवृन्दलाई स्वागत छ । सधैँझैँ आज पनि हामी बितेको २४ घण्टाका मुख्यमुख्य घटनाक्रमसहित उपस्थित भएका छौँ-

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा भारी कटौती गरेको छ । निगम सञ्चालक समितिको मंगलबार बसेको बैठकले पेट्रोल, डिजेल, मट्टितेल, हवाई इन्धन र खाना पकाउने ग्यासको मूल्य घटाउने निर्णय गरेको हो । 

निगमका अनुसार अब पेट्रोलमा प्रतिलिटर २० रुपैयाँ र डिजेल तथा मट्टितेलमा प्रति लिटर ३० रुपैयाँले मूल्य घटाइएको छ । यसैगरी ग्यासको मूल्य प्रतिसिलिन्डर १०० रुपैयाँ घटाइएको छ । 
००००
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पहिलो महाधिवेशनबाट निर्वाचित नवनिर्वाचित केन्द्रीय सदस्यहरूको शपथग्रहण बुधबार हुने भएको छ। पार्टीका अनुसार बिहान ११ बजे वनस्थलीस्थित केन्द्रीय कार्यालयमा शपथग्रहण कार्यक्रम आयोजना गरिएको छ।
००००
कप्तान किलियन एम्बाप्पेले विश्वकप इतिहासमै नयाँ कीर्तिमान रचेको खेलमा फ्रान्सले स्वीडेनलाई सहजै हराएको छ । बुधबार बिहान सम्पन्न खेलमा स्वीडेनविरुद्ध ३–० को सहज निकाल्दै फ्रान्स फिफा विश्वकप २०२६ को अन्तिम १६ मा पुगेको हो ।
००००
स्टार स्ट्राइकर एर्लिङ हालान्डले खेलको अन्त्यतिर गरेको महत्वपूर्ण गोलको मद्दतले नर्वे सन् २०२६ को फिफा विश्वकपको अन्तिम १६ मा प्रवेश गरेको छ। 

डालस स्टेडियममा बुधबार बिहान सम्पन्न रोमाञ्चक अन्तिम ३२ को खेलमा आइभोरी कोस्टलाई २–१ गोल अन्तरले पराजित गर्दै नर्वेले नकआउट चरणको अर्को यात्रा तय गरेको हो।
००००
भूमि व्यवस्था,सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले अनलाइन प्रणालीमार्फत सरुवाको निवेदन दिनका लागि निजामती कर्मचारीहरूलाई आह्वान गरेको छ ।

मन्त्रालयले मंगलबार सार्वजनिक सूचना जारी गरेर अनलाइन प्रणालीमार्फत सरुवाको निवेदन पेस गर्न अनुरोध गरेको हो ।
००००
कम्पनी रजिष्ट्रारको कार्यालयमा दर्ता हुने कम्पनीहरूको स्थायी लेखा नम्बर (प्यान) र प्रमाणपत्र सेवाग्राहीले सोझै डाउनलोड गरी प्रिन्ट गर्ने व्यवस्था सञ्चालनमा ल्याइएको छ ।

कार्यालयका सूचना अधिकारी रामप्रसाद ज्ञवालीले मंगलबार सार्वजनिक सूचना जारी गरेर कम्पनी रजिष्ट्रारको कार्यालय र आन्तरिक राजस्व विभागबीच विद्युतीय प्रणाली अन्तरआबद्धता गर्ने समझदारीपत्रमा हस्ताक्षर भए बमोजिम ‘केमिस’ प्रणाली सोमबारदेखि लाइभ भइसकेको बताए ।
००००
देशभर सञ्चालित होटल, रेष्टुरेण्टहरूका खानाको गुणस्तर र स्वच्छताको नियमित अनुगमन गर्न गृह मन्त्रालयले ७७ वटै जिल्ला प्रशासनलाई निर्देशन दिएको छ ।

गृहमन्त्रीस्तरीय निर्णयको आधारमा मन्त्रालयका शाखा अधिकृत सङ्गम सापकोटाले सबै जिल्ला प्रशासन कार्यालयलाई पत्राचार गरेर अनुगमन त्यस्तो निर्देशन पठाएका हुन् । पत्रमा नियमनलाई केवल प्रक्रियामा मात्र सीमित नगरी परिणाममुखी बनाउनेतर्फ अग्रसर हुनका लागि आह्वान गरिएको छ । 
००००
ललितपुरको जावलाखेलस्थित सदर चिडियाखानामा गत असार ५ गते पुष्टि भएको बर्डफ्लु सङ्क्रमण हाल नियन्त्रणउन्मुख रहेको चिडियाखाना प्रशासनले जनाएको छ ।

सङ्क्रमण देखिएलगत्तै चिडियाखाना बन्द गरी प्रभावित क्षेत्रलाई सुरक्षित बनाउने, सङ्क्रमित तथा बिरामी जीवजन्तुको उपचार गर्ने र भाइरसको फैलावट रोक्न विभिन्न नियन्त्रणात्मक उपाय अपनाइएको थियो ।
००००
भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले विदेशी मुलुकको आवासीय अनुमति लिएर लामो समयदेखि कार्यालयमा अनुपस्थित रहेका चार कर्मचारीसँग स्पष्टीकरण माग गरेको छ ।          

मन्त्रालयले सूचना जारी गर्दै बिदा समाप्त भएपछि आफ्नो पदाधिकार रहेको कार्यालयमा हाजिर नभई विदेशमै बसोबास गरिरहेकाले उनीहरूमाथि कानूनी प्रक्रिया अघि बढाएको हो ।
००००
महान्यायाधिवक्ता डा. नारायणदत्त कँडेलको नियुक्तिको योग्यता र वैधानिकतामाथि प्रश्न उठाउँदै दायर रिट निवेदनमा सर्वोच्च अदालतले उनको ९ वर्षको  बेलायत आऊजाऊ रेकर्ड अध्यागमनबाट झिकाउन आदेश गरेको छ ।

न्यायाधीशद्वय विनोद शर्मा र सुनिलकुमार पोखरेलको संयुक्त इजलासले मंगलबार उक्त आदेश जारी गर्दै डा. कँडेलको सन् २०१५ देखि २०२४ सम्मको नेपाल–बेलायत आवतजावत सम्बन्धी अभिलेखको प्रमाणित प्रतिलिपि अध्यागमन विभागबाट झिकाई अदालतमा पेस गर्न भनेको हो ।
००००
नेकपा (एमाले)का उपाध्यक्ष एवं पूर्वउपप्रधानमन्त्री विष्णुप्रसाद पौडेललाई गैरकानूनी रूपमा थुनामा राखिएको दाबी गर्दै दायर गरिएको बन्दीप्रत्यक्षीकरण रिटमा सर्वोच्च अदालतले विभिन्न पाँचवटा आदेश  गरेको छ ।

मंगलबार न्यायाधीशद्वय टेकप्रसाद ढुङ्गाना र मेघराज पोखरेलको संयुक्त इजलासले सो रिटको सुनुवाइका क्रममा व्यवसायीहरू दीपक भट्ट, सुलभ अग्रवाल र आशिष श्रेष्ठ जोडिएका विभिन्न पाँचवटा वित्तीय अपराध सम्बन्धी मुद्दाका सक्कल मिसिल (फाइलहरू) सम्बन्धित अदालतबाट झिकाउन आदेश दिएको हो ।
००००
साउदी अरब सरकारले ३३ जना नेपाली कैदीको सजाय माफ गरिदएको छ ।

रमजानको अवसरमा उनीहरूको सजाय माफ गरिदिएको जानकारी दिँदै परराष्ट्र मन्त्रालयले साउदी अरब सरकारप्रति आभार व्यक्त गरेको छ।
००००
धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक मंगलबार पनि ओरालो लागेको छ ।

नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक २४ दशमलव ६३ अङ्कले ओरालो लागेर दुई हजार ६०८ दशमलव ३३ मा सीमित भएको छ ।
००००
नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सबै लोकतन्त्रवादी, वामपन्थी तथा देशभक्तबीच कार्यगत एकताका साथ संयुक्त संघर्षमा जानुपर्ने आवश्यकता रहेको बताएका छन् ।

नेकपा (एमाले) राजधानी प्रदेशस्तरीय निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन परामर्श कार्यक्रमलाई मंगलबार पार्टी केन्द्रीय कार्यालय, च्यासलमा सम्बोधन गर्दै अध्यक्ष ओलीले ‘अपहरित लोकतन्त्र’लाई फर्काउन संयुक्त संघर्ष जरुरी रहेको बताएका हुन् ।
००००
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले निर्वाचित केन्द्रीय सदस्यहरूको सूची सच्याएको छ ।
भुवन केसीको अध्यक्षामा रहेको रास्वपाको केन्द्रीय निर्वाचन आयोगले चितवनको भरतपुरमा सम्पन्न प्रथम महाधिवेशनबाट निर्वाचित केन्द्रीय सदस्यहरूको सूची सच्याएको हो ।

सच्याइएको सूची अनुसार जनजाति क्लष्टरतर्फ ध्रुवकुमार थापा मगर र प्रादेशिक भूगोलतर्फ पूजा बास्तोलालाई केन्द्रीय सदस्यमा निर्वाचित भएको उल्लेख छ ।

आफूभन्दा कम मत ल्याएका व्यक्तिलाई केन्द्रीय सदस्यमा विजयी घोषणा गरिएको भन्दै मगर र बास्तोलाले  आयोगमा उजुरी दिएका थिए । 

उक्त उजुरी परेपछि असार १२ गते बसेको आयोगको बैठकले त्रुटि सच्याएको हो । सूची सच्याउने क्रममा आयोगले कृष्णमान श्रेष्ठ र सोम शर्माको नाम केन्द्रीय सदस्यबाट हटाएको छ ।
 

salt training

कमेन्ट गर्नुहोस्