०७ असार २०८३, आइतबार

सामुदायिक विद्यालयमा विद्यार्थीको  भर्ना बढ्दै

सामुदायिक विद्यालयमा विद्यार्थीको  भर्ना बढ्दै

कञ्चनपुरमा पछिल्लो समय सामुदायिक विद्यालयमा विद्यार्थीको आकर्षण बढेको छ । सामुदायिक विद्यालयले शिक्षाको गुणस्तरमा सुधार ल्याएपछि सामुदायिक विद्यालयमा भर्ना हुने विद्यार्थीको सङ्ख्या बढेको हो । 
कञ्चनपुरको भीमदत्त नगरपालिका–१८ स्थित महेन्द्रनगर माध्यमिक विद्यालयमा गत वर्षको भन्दा यस वर्ष विद्यार्थीको सङ्ख्या बढेको छ । विसं २०७५ मा नौ सय विद्यार्थी सङ्ख्या रहेको विद्यालयमा पाँच वर्षको अवधिमा एक हजार सात सय पुगेको छ । विसं २०७६ मा विद्यालयमा एक हजार एक सय विद्यार्थी अध्ययनरत रहेकोमा २०७७ मा विद्यार्थीको सङ्ख्या बढेर एक हजार सात सय पुगेको विद्यालयका प्राचार्य ललित साउँदले बताए । 
    
विसं २०७८ मा विद्यालयमा एक हजार नौ सय विद्यार्थी अध्ययनरत रहेकोमा यस वर्ष विद्यार्थी सङ्ख्या बढेर दुई हजार दुई सय पुगेको उनले बताए। “हरेक वर्ष हाम्रो विद्यालयमा भर्ना हुने विद्यार्थीको सङ्ख्या बढेको छ ।” उनले भने, “हामीले पनि हरेक वर्ष गुणस्तर बढाउँदै लगेका छौँ ।” उनले सामुदायिक पनि अङ्ग्रेजी माध्यमबाट शिक्षा दिन थालेपछि विद्यार्थी तथा अभिभावकको आकर्षण बढेको जानकारी दिए।

सरकारले सामुदायिक विद्यालयको गुणस्तर सुधारका लागि छात्रवृत्ति, विद्यालयमा खाजा र राष्ट्रपति शैक्षिक सुधारका कार्यक्रम ल्याएपछि विद्यार्थी र अभिभावकको आकर्षण बढेको उनको भनाइ छ। 

त्यसैगरी निङ्लाशैनी माध्यमिक विद्यालयका प्राचार्य भवानी पन्तका अनुसार विगतका वर्षहरुको तुलनामा यस वर्ष सामुदायिक विद्यालयमा विद्यार्थीको सङ्ख्या बढेको छ । 
जिल्लाको सबैभन्दा पुरानो नमूना विद्यालय वैजनाथ माध्यमिक विद्यालय महेन्द्रनगरका प्राचार्य हरिराज विष्टले सामुदायिक विद्यालयप्रति अविश्वास घट्दै गएको बताए  । “एक पटक सामुदायिक विद्यालयको स्तर निकै घटेको थियो त्यो देखेर सामुदायिक विद्यालयका शिक्षक र व्यवस्थापन पक्ष आफैँ सचेत भए ।” उनले भने, “सामुदायिक विद्यालयमा पहिलेको भन्दा अहिले धेरै सुधार भएकाले विद्यार्थी बढेका हुन् ।”


 

कमेन्ट गर्नुहोस्