
नेपाल एपीएफ स्कूल कीर्तिपुरको ‘अभिभावक दिवस–२०७९’ सम्पन्न भएको छ । सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालको प्रमुख आतिथ्यतामा सशस्त्र प्रहरी बल, नेपाल प्रधान कार्यालय हल्चोक स्वयम्भुस्थित नेपाल एपीएफ क्लव हलमा असोज ९ गते विविध कार्यक्रमको आयोजना गरी सम्पन्न भएको हो ।
सशस्त्र प्रहरी महानिरीक्षक अर्यालले विद्यालयको गत शैक्षिक सत्रमा उत्कृष्ट नतिजा हासिल गर्ने छात्रछात्राहरूलाई पुरस्कार प्रदान गर्नुका साथै विद्यालयको छात्रवृत्ति अक्षय कोषमा सहयोग गर्ने विभिन्न महानुभाव तथा सो स्कुलमा १० वर्ष सेवा अवधि पूरा गर्ने शिक्षक, शिक्षिकाहरूलाई कदरपत्र समेत प्रदान गरे । कार्यक्रममा महानिरीक्षक अर्यालले भविष्यका कर्णधार विद्यार्थी वर्गले उच्च अनुशासनमा रही शिक्षा आर्जन गर्न मेहनतकासाथ लाग्नुपर्ने उल्लेख गर्दै शिक्षक, शिक्षिकाहरूले समेत अनुशासन कायम राख्दै आफ्नो जिम्मेवारी पूरा गर्नुपर्ने बताए ।
उनले विद्यार्थीहरूको व्यक्तित्व निर्माणमा नेपाल एपीएफ स्कुल अझ बढी सकृय रहने कुरामा विश्वास व्यक्त गर्दै नेपाल एपीएफ स्कुललाई सात वटै प्रदेशमा स्थापना गर्ने संगठनको लक्ष्यसमेत रहेको बताए ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक नारायणदत्त पौडेलले धन्यवाद ज्ञापनको क्रममा नेपाल एपीएफ स्कूलले बिद्यार्थीहरुलाई उत्कृष्ट शिक्षा प्रदान गर्न मेहनतका साथ लागिरहेको बताए ।
कार्यक्रममा विद्यालयका प्रधानाध्यापक युवराज पराजुलीले स्वागत मन्तव्य व्यक्त गर्दै नेपाल एपीएफ स्कुलले उत्कृष्ट परिणाम हासिल गर्नुका साथै अतिरिक्त क्रियाकलापहरूमा समेत उत्कृष्ट नतिजा हासिल गर्दै आएको बताए ।
कार्यक्रममा सो स्कुलका विद्यार्थीहरूले गायन, नृत्य, नाटकलगायतका विभिन्न सांस्कृतिक प्रस्तुति गर्नुकासाथै आफूमा निहित प्रतिभाहरू प्रदर्शन गरेका थिए ।