
दुई वर्षदेखि बन्द रहेको जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र जुम्लाको प्रयोगशाला र तिला गाउँपालिकामा स्थापित आरोग्य केन्द्र पुनः सञ्चालनमा आएको छ ।
कर्णाली प्रदेशले कर्णाली अञ्चल आयुर्वेद जुम्लालाई स्वास्थ्य सेवा कार्यालय जुम्लामा गाभेपछि त्यहाँको प्रयोगशालाले अपेक्षितरूपले काम गर्न सकेको थिएन । कर्णाली प्रदेश सरकार सामाजिक विकास मन्त्रालयअन्तर्गत जिल्ला तहको स्वास्थ्य शाखामा सीमित गरेपछि यसले हात खुट्टा फैलाउन नसकेको जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र जुम्लाका निमित्त प्रमुख नन्दप्रसाद न्यौपानेले जानकारी दिए ।
“यही असोज ११ गतेदेखि जिल्लाको आयुर्वेद ल्याब सञ्चालन ल्याइएको छ । अब नागरिकका समस्या छिट्टै प्रयोगशालाबाट जाँच हुनेछ”, उनले भने, “विगतको जस्तै आयुर्वेदिक चिकित्सा पद्धतिबाट प्रवाह हुने सेवा अब निर्वाध चल्नेछ । यसका लागि हामीले जुम्लाका आठवटै स्थानीय तहसँग समन्वय गरिहेका छौँ ।”
जिल्लाको पातारासी, गुठीचौर, कनकासुन्दरी, सिञ्जा गाउँपालिका मङ्गलबारदेखि सङ्घ सरकारबाट र हिमा गाउँपालिकाको कालिकाखेतु स्वास्थ्य केन्द्रमा जिल्लाबाट पठाइएका आयुर्वेद चिकित्सकले आयुर्वेदिक उपचार सेवा प्रदान गर्दै आइरहेको निमित्त कार्यालय प्रमुख न्यौपानेले जनाए । उनका अनुसार तिला र तातोपानी गाउँपालिकाले भने आफ्नै स्रोतमा आरोग्य सेवा केन्द्र स्थापना र जनशक्ति व्यवस्थापन गरेका थिए ।
तातोपानीमा सामान्यतः सञ्चालनमा आए पनि तिला गाउँपालिकामा सेवा सुचारु हुन नसकेको बताउँदै प्रमुख न्यौपानेले भर्खरै तिला आरोग्य सेवा केन्द्रमा १६ प्रकारका अत्यावश्यक आयुर्वेदिक औषधि, भौतिक सामग्री र उपचारात्मक उपकरण पुनर्जीवित पारिएको जनाए। सबै स्थानीय तहमा आरोग्य सेवा केन्द्र पु¥याउने सरकारी नीतिस्वरूप काम अगाडि बढाइएको उनको भनाइ थियो ।