०९ साउन २०८३, शनिबार

गठबन्धनमा सीट बाँडफाँट लगभग मिल्यो, यस्तो छ १६५ क्षेत्रको भागबण्डा

गठबन्धनमा सीट बाँडफाँट लगभग मिल्यो, यस्तो छ १६५ क्षेत्रको भागबण्डा

मंसिर ४ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि सत्ता गठबन्धनले निर्वाचन क्षेत्रको बाँडफाँट लगभग टुंग्याएको छ ।

बुधवार राति अबेरसम्म प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकले निर्वाचन क्षेत्रबारे लगभग सहमति जुटाएको नेताहरूले दाबी गरेका छन् ।

केही निर्वाचन क्षेत्रमा मात्र दलहरूको दोहोरो दाबेदारी रहेको र ती क्षेत्रका विषयमा आजभोलिमै सहमति जुट्ने कार्यदलमा रहेका एक नेताले लोकान्तरलाई जानकारी दिए । 

स्रोतका अनुसार कांग्रेसले ८६, माओवादीले ४७, नेकपा एकीकृत समाजवादीले १६, जनता समाजवादी पार्टीले १५ तथा राष्ट्रिय जनमोर्चाले १ सीट पाउने पक्का भएको छ । जनमोर्चाले २ सीटमा दाबी गर्दै आएको छ ।

कार्यदलका ती सदस्यका अनुसार कांग्रेसले पाउने  अधिकांश क्षेत्रको टुंगो लागेको छ । कांग्रेसले प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवाको निर्वाचन क्षेत्र डडेल्धुरासहित दार्चुला, कैलाली १, ४, ५, कञ्चनपुर २ र ३ तथा अछाम २ पाउने भएको छ । 

बाजुरा, सुर्खेतका दुवै क्षेत्र, दैलेख २ र मुगु पनि कांग्रेसको भागमा परेको  छ । दैलेख १ मा एकीकृत समाजवादीको पनि दाबी रहेको ती नेताको भनाइ छ । 

प्रदेश १ मा संखुवासभा, तेह्रथुम, धनकुटा, मोरङ १,२,३ र ६, पाँचथर, इलाम २, झापा १, ३ र ४, सुनसरी २, ३ र ४, ओखलढुंगा, उदयपुर १ मा कांग्रेसले उम्मेदवारी दिने सहमति जुटेको छ । 

गण्डकी प्रदेशका स्याङ्जाका दुवै क्षेत्र चितवन १ र २, गोरखा १, मनाङ, कास्की १, तनहुँ १ र २, नवलपरासी पूर्व १ र २, मनाङ, म्याग्दी, पर्वत छन् । गोरखा १ मा भने माओवादीले दाबी छाडेको छैन । 

लुम्बिनी प्रदेशमा नवलपरासी पश्चिम २, बर्दिया १, गुल्मी १, पाल्पा १, अर्घाखाँचीमा पनि कांग्रेसको उम्मेदवारी हुने भएको छ । 

यस्तै रुपन्देही ३, ४ र ५, कपिलवस्तु २, ३, दाङ ३ र बाँके ३ निर्वाचन क्षेत्रबाट पनि कांग्रेसले उम्मेदवारी दिने बारे दलहरूबीच सहमति भएको छ । 

मधेश प्रदेशका सप्तरी ३ र ४ धनुषा २, ३ र ४ महोत्तरी २ र ३, सिरहा १ र २  निर्वाचन क्षेत्र कांग्रेसले लिने सहमति भएको छ । सर्लाही ४, बारा १, पर्सा ३ र ४ पनि कांग्रेसले पाउने भएको छ । 

बागमती प्रदेश अन्तरगत सिन्धुली १, रसुवा, धादिङ २, नुवाकोट २, काठमाडौं १, ३, ४, ५, ६ र १० भक्तपुर १ र २, ललितपुर १, काभ्रे २, सिन्धुपाल्चोक २ र मकवानपुर १ कांग्रेसले लिने सहमति भएको छ । 

तर, कांग्रेसले पाउने भनिएको धनुषा ४ मा जसपाको दाबी छ ।  महोत्तरी ३ मा पनि जसपाको दाबी रहेकाले छलफल जारी छ । यस्तै कांग्रेसले दोलखा वा रामेछाप मध्ये एक निर्वाचन क्षेत्र लिनेबारे गठबन्धनमा छलफल चलिरहेको ती नेताको भनाइ छ । 

माओवादीले बाबुराम पनि समेट्ने

माओवादीले गठबन्धनमा पाउने भागबाटै बाबुराम भट्टराई नेतृत्वको नेसपालाई समेट्ने भएको छ । गठबन्धनमा भएको सहमतिअनुसार माओवादीले प्रदेश १ का ताप्लेजुङ, झापा २ र ५, भोजपुर, मोरङ ४ र ५, सोलुखुम्बु, उदयपुर २ मा सीट पाउने सहमति भएको छ । मधेश प्रदेशका सिरहा ३, धनुषा १, महोत्तरी १, सर्लाही ३ माओवादीले पाउने भएको छ । 

बागमती प्रदेशका नुवाकोट १, काठमाडौं २, काठमाडौं ९, काभ्रे १, सिन्धुली १,  सिन्धुपाल्चोक १, चितवन ३ माओवादीले लिनेछ । 

गण्डकी प्रदेशका गोरखा २, लमजुङ, कास्की १ वा ३ मा पनि माओवादीले भाग पाउने छ । यसअघि बाबुराम भट्टराईले जितेको गोरखा २ बाट उनी चुनाव लड्ने नलड्ने यकिन भएको छैन ।

यसैगरी बागलुङ २, कपिलवस्तु १, रुकुम पूर्व, रोल्पा, दाङ २, बाँके १, बर्दिया २, नवलपरासी पश्चिम १, जुम्ला, कालीकोट, जाजरकोट, हुम्ला, रुकुम पश्चिम, अछाम १, कैलाली २ र ३ बैतडी, कञ्चनपुर १ निर्वाचन क्षेत्रमा पनि माओवादीले टिकट पाउने करीब–करीब सहमति जुटेको छ । 

कपिलवस्तु १ मा कांग्रेस नेता दीपकुमार उपाध्यायलाई दिनेबारे पनि छलफल चलिरहेको छ ।

बारा ४, अछाम १, सल्यान, नवलपरासी १, रुपन्देही १, धादिङ १, सर्लाही २ र खोटाङमा अन्य पार्टीको पनि दाबी रहेकाले थप छलफल हुने नेताहरूको भनाइ छ । 

समाजवादीले कहाँ–कहाँ सीट पाउने ?

नेकपा एकीकृत समाजवादीलाई १६ दिन दिने गरी सहमति भएको छ । तर केही निर्वाचन क्षेत्रमा अझै छलफल हुनुपर्ने देखिएको नेताहरूको भनाइ छ । 

समाजवादीले इलाम १, रौतहट १, बारा ४, काठमाडौं ८, ललितपुर २, मकवानपुर २, कास्की २, गुल्मी २, पाल्पा २, रुपन्देही २, दाङ १, डोल्पा, दैलेख १, अछाम १, बझाङ र डोटीको निर्वाचन क्षेत्र पाउने सहमति भएको छ । तर, बारा ४, अछाम १ मा विवाद कायमै छ । धादिङ १ मा पनि एकीकृत समाजवादीले सशक्त दाबी गरिरहेको छ ।

जसपालाई कहाँ–कहाँ सीट ?

जसपाले सप्तरी १, सुनसरी १, सिरहा ४ निर्वाचन क्षेत्रमा उम्मेदवारी दिन पाउनेछ । महोत्तरी ४, सर्लाही १, रौतहट ३, बारा २ र ३, पर्सा १ र २, काठमाडौं ७, बाँके  २ र सप्तरी २ पाउने सहमति भएको छ ।  तर, निर्वाचन क्षेत्रहरू धनुषा ३, महोत्तरी ३ र रुपन्देही १ मा थप छलफल गरिने कार्यदलका ती सदस्यले बताए । 

जनमोर्चालाई १ पक्का, दोस्रोमा दाबी

चित्रबहादुर केसी नेतृत्वको राष्ट्रिय जनमोर्चाले बागलुङ १ र प्युठानमा दाबी छाडेको छैन । एउटा क्षेत्र जनमोर्चाले पाउने पक्का भए पनि अर्को क्षेत्रमा सहमति जुट्न सकेको छैन ।

जनमोर्चाले बाग्लुङबाट चित्रबहादुर र प्युठानबाट दुर्गा पौडेललाई उम्मेदवार बनाउने भनेर निर्णय गरिसकेको अवस्था छ । मिल्न बाँकी रहेका सीटहरूमा सहमति जुटाएर छिट्टै औपचारिक घोषणा गरिने नेताहरूको भनाइ छ । 

मंसिर ४ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि असोज २३ मा उम्मेदवारी मनोनयन गर्ने निर्वाचन कार्यतालिका छ । 

salt training

कमेन्ट गर्नुहोस्