
दशैंको अवसरमा खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले स्थापना गरेको सुपथ मूल्य पसलबाट खसी, बोकाको बिक्री वितरण शुरू भएको छ ।
खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको काठमाडौं थापाथलीमा अवस्थित बागमती प्रादेशिक कार्यालयबाट बुधवारदेखि खसी, बोका र च्याङ्ग्राको बिक्री वितरण शुरु भएको हो । कम्पनीसँग १ हजार वटा खसी, बोका र २ सय वटा च्याङ्ग्रा रहेकोमा बिहीवार दिउँसो सम्ममा ३ सय वटा खसी बोका र १ वटा च्याङ्ग्रा बिक्री भइसकेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड वागमती प्रादेशिक कार्यालयकी प्रमुख ज्ञानु थापाले जानकारी दिइन् ।
प्रमुख थापाले खसी, बोका बिक्री वितरण गर्दा पशु चिकित्सकले चेकजाँच गरेर मात्रै स्वस्थ खसी, बोका बिक्री वितरण गरिरहेको बताइन् । उनले खसी, बोका तथा च्याङ्ग्रा बजार मूल्यभन्दा सस्तो गरी बिक्री भइरहेको पनि उल्लेख गरिन् । थापाथलीस्थित प्रादेशिक कार्यालयमा उपभोक्ताको चाप रहेको उनको भनाइ थियाे ।
उनले कम्पनीले असोज १ गतेदेखि ४१ जिल्लाका ४५ स्थानबाट सहुलियत मूल्य पसल सञ्चालन गरिरहेको जानकारी दिइन् । बिक्री कक्षमा नपुगेका उपभोक्ताहरूका लागि सहकारी डिलरलगायतका माध्यमबाट उपभोक्ताका घर–घरमा उपभोग्य सामग्री पुर्याएको उनको भनाइ थियो । प्रमुख थापाले थापाथली बिक्री कक्षमा दैनिक ४ सयदेखि ५ सय जनासम्म उपभोक्ताले सेवा लिइरहेको बताइन् ।
ललितपुर सातदोबाटोबाट खसी किन्नका लागि खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको थापाथलीस्थित बागमती प्रादेशिक कार्यालयमा पुगेका प्रदीपजंग कार्कीले खसी, बोकाको भाउ चित्तबुझ्दो भए पनि च्याङ्ग्राको भाउ धेरै महँगो भएको प्रतिक्रिया दिए ।
विभागले १० रुपैयाँ छुटसहित जिउँदो खसी प्रतिकेजी ६७० रुपैयाँ, जिउँदो बोका प्रतिकेजी ६७० रुपैयाँ र जिउँदो च्याङ्ग्रा १ हजार २५० रुपैयाँमा बिक्री वितरण गरिरहेको छ ।