७० वर्षे मञ्जु शाक्य न्युरोडको फूटपाथमा डालो राखेर मास्क, हेडफोन बेच्छिन् । दैनिक व्यापार गरेर २००–३०० रुपैयाँ जोहो गर्छिन् । सोही रकमबाट दैनिक कोठा भाडा छुट्याउँछिन् अनि बचेको रकमले खाने दाल, चामल जोहो गर्छिन् ।
उनको दिनचर्या यत्ति हो । उनको यो संसारमा कोही पनि छैनन् । अनि उनीसँग सम्पत्तिको नाममा १ रुपैयाँ पनि छैन । फूटपाथमा दैनिक डालो राखेर मास्क, हेडफोन बेचेरै जसोतसो जीवन गुजारा चलाउँछिन् उनी ।
आफू बुवाआमाकी एक्ली छोरी रहेकी उनले कुराकानीका क्रममा बताइन् तर छोरा नभएकाले बुवाआमाले सबै सम्पत्ति माइला बुवाको छोरालाई दिएको उनले बताइन् । ‘छोरी भएर जन्मिनु हेला रहेछ बाबु,’ उनले दुःखी हुँदै भनिन्, ‘बुवाआमाले सबै सम्पत्ति माइला बुवाको छोरालाई दिनुभयो तर अहिले उनीहरूले मलाई वास्ता नै गर्दैनन्, सडकमा जीवन बिताउन बाध्य छु ।’

उनले भनिन्, ‘यता बिहे गरेपछि आएको घरमा पनि श्रीमान्को सबै सम्पत्ति सासुससुराले श्रीमान् सानै छँदा सिध्याइसकेका रहेछन् ।’ सो कुरा बिहेपछि मात्र आफूले थाहा पाएको उनले बताइन् । अनि जसोतसो बुढाबुढी मिलेर फूटपाथमा तरकारी बेच्ने गरेको उनले बताइन् ।
उनले दुःखी हुँदै भनिन्, ‘२०७१ सालमा श्रीमान् पनि बित्नुभयो अनि मैले यो फूटपाथमा डालो राखेर मास्क, हेडफोन बेच्न थालेकी हुँ । कुनै बाटो नभेटेपछि सडकमा बेच्न बाध्य भएकी हुँ तर अहिले २–४ महिनादेखि नगरपालिकाले साह्रै दुःख दिइरहेको छ ।’
न्युरोडमै नाङ्लोमा व्यापार गरिरहेकी माया खत्रीको कथा भने बेग्लै छ । १५ वर्षको उमेरमा खोटाङबाट काठमाडौं आएर जिरीको केटासँग आफुले प्रेम गरेर विवाह गरेको उनले बताइन् तर २ वटा छोरी भएको हुनाले उनले छाडेर गएको बताइन् ।
‘कान्छी छोरी जन्मेपछि मेरो श्रीमान्ले त्यो छोरीलाई मार्न खोजेका थिए,’ उनले भनिन्, ‘तर मैले झिकेर छोरीलाई बचाएँ ।’ सामान बेचेर घर फर्कंदा छोरीलाई बोरामा प्याक गरेर राखेको उनले बताइन् ।
त्यसदिनबाट घर छाडेर हिँडेका श्रीमान् आजसम्म घर नफर्केका उनले बताइन् । उल्टो श्रीमान् विदेश जाँदा लिएको ऋण अहिलेसम्म तिर्न बाँकी रहेको उनले बताइन् । ‘अनि सडकमा व्यापार नगरे कता जानु ?’ उनले भनिन्, ‘झन् नयाँ मेयर पाएर गरीब दुःखीका लागि केही होला भनेको झन् दुःख पाइयो ।’