२१ असार २०८३, आइतबार

मन्दिरको भेटीबाट शिक्षकलाई तलब

मन्दिरको भेटीबाट शिक्षकलाई तलब
प्रतिकात्मक तस्वीर

कञ्चनपुरको भीमदत्त नगरपालिका–९ ब्रह्मदेवस्थित सिद्धनाथ माध्यमिक विद्यालयका शिक्षकहरूलाई तलब खुवाउन सिद्धनाथ मन्दिर संरक्षण समितिले भेटीको रकमबाट आर्थिक सहयोग गरेको छ ।

विद्यालयसँग आन्तरिक आम्दानीका स्रोत नभएर निजी स्रोतमा कार्यरत शिक्षकलाई तलब खुवाउन नसकिएपछि मन्दिर समितिले सहयोग गरेको हो ।

समितिले विद्यालयलाई यस वर्ष ३ लाख ९६ हजार रुपैयाँ सहयोग दिएको छ । ‘२ वर्ष कोरोना महामारीका कारण विद्यालयलाई आर्थिक सहयोग गर्न सकेनौं,’ सिद्धनाथ मन्दिर व्यवस्थापन समितिका अध्यक्ष नारायणसिंह महताले भने, ‘यस वर्ष शिक्षकको तलबका लागि आर्थिक सहयोग दिएका छौं, २ वर्ष छाडेर निरन्तर रूपमा १ दशक अघिदेखि समितिबाट विद्यालयलाई सहयोग हुँदै आएको छ ।’

समितिले भेटी, पसल बहाल र मन्दिरमा चढाइने प्रसादको ठेक्काबाट आम्दानी गर्दै आएको छ । 

समितिले सहयोग गरेपछि विद्यालयले निजी स्रोतका शिक्षकलाई तलब खुवाएको छ । विद्यालयमा निजी स्रोतका शिक्षकले ३ वर्षदेखि तलब खान पाएका थिएनन् । विद्यालयसित आन्तरिक स्रोत नभएपछि मन्दिर समितिलाई सहयोगका लागि आग्रह गरिएको थियो ।

विद्यालयका प्रधानाध्यापक उद्धव चन्दले मन्दिर समितिले सहयोग गरेपछि मात्रै शिक्षकलाई तलब खुवाउन सकिएको बताए ।

‘आधारभूत तहको कक्षा १ देखि ५ सम्म बाहेक कक्षा ६ देखि ८ सम्म र मावि तहमा आवश्यक दरबन्दी छैन, निजी स्रोतबाट शिक्षक राखिएका छन्, नराखे विद्यालय चल्न सक्ने अवस्था छैन,’ प्रधानाध्यापक चन्दले भने, ‘विद्यालयसित आफ्नो आर्थिक आम्दानीको स्रोत छैन, त्यस कारण तलब दिन सकिएको थिएन, मन्दिर समितिले दिएपछि यस वर्ष दिएका छौं ।’

salt training

कमेन्ट गर्नुहोस्