२० असार २०८३, शनिबार
प्रतिनिधिसभा निर्वाचन

रूपन्देही– २ को लेखाजोखा : विष्णु पौडेलसँग राजु गुरुङ भिड्दा कसको पल्ला भारी ?

असोज २४, २०७९
रूपन्देही– २ को लेखाजोखा : विष्णु पौडेलसँग राजु गुरुङ भिड्दा कसको पल्ला भारी ?

नेकपा एमालेको भावी नेतृत्वका लागि मुख्य दाबेदारका रूपमा हेरिएका उपाध्यक्ष विष्णु पौडेल रूपन्देही– २ बाट चुनावी प्रतिस्पर्धामा छन् ।

लगातार तीनवटा चुनाव जितेका पौडेलसँग यो पटक चुनावी मैदानमा पूर्व सहकर्मी राजु गुरुङ प्रतिस्पर्धी बनेर आएका छन् ।

सत्ता गठबन्धनका उम्मेदवार गुरुङ नेकपा एकीकृत समाजवादीका रूपन्देही इञ्चार्ज एवं प्रदेश सचिव हुन्।

‘हेभीवेट’ पौडेलसँग नयाँ अनुहार गुरुङको उम्मेदवारीले जीतको आधार थप बलियो बनेको टिप्पणी एमाले वृत्तमा हुन थालेको छ ।

हालै नेकपा (एस) का केन्द्रीय सदस्य तथा बुटवलका नेता बालकृष्ण चापागाईं एमालेमा फर्किएपछि एमालेले आफ्नो शक्ति थपिएको महसूस गरेको छ ।

रुपन्देही– २ मा एकीकृत समाजवादीको मतभार निकै कम छ । त्यस हिसाबले पनि गुरुङ गठबन्धन साझेदार दलहरूको मतमा भर पर्नुपर्ने अवस्था छ । पौडेललाई रोक्न तम्सिएका गुरुङसँग संसदीय चुनाव लडेको अनुभव छैन ।

यता २०६४, २०७० र २०७४ को चुनावमा लगातार जितेर ह्याट्रिक गरेका पौडेल रूपन्देहीलाई विकासमा काठमाडौं हाराहारीमा पुर्‍याउने योजना ल्याएका छन् । पौडेलसँग दुईपटक अर्थमन्त्री, जलस्रोत, रक्षासहित उपप्रधानमन्त्रीको जिम्मेवारी पूरा गरिसकेको अनुभव छ ।

गत वैशाख ३० गतेको स्थानीय तह चुनावमा एकीकृत समाजवादीले यो क्षेत्रमा पर्ने २३ वटा वडामध्ये बुटवलको एउटा वडामा मात्र जीत निकालेको थियो । 

बुटवलको वडा नंं २, ११ र १३ मा मात्रै एकीकृत समाजवादीले वडाध्यक्षसहित सबै पदमा उम्मेदवार दिन सकेको थियो भने बुटवलका २, ३, ९, ११ र १३ तथा तिलोत्तमाका १, २ र ३ नम्बरमा वडाध्यक्षमा मात्र उम्मेदवारी दिएको थियो ।

एकीकृत समाजवादीका वडाध्यक्षका उम्मेदवारले बुटवल– २ मा ८७१, वडा नंं. ३ मा १६१, वडा नंं. ९ मा ३५, वडा नंं. ११ मा १६३ र वडा नंं. १३ मा ७० मत पाएका छन् । 

तिलोत्तमाको वडा नंं.१ मा १ मत, वडा नंं. २ मा १२५ र वडा नंं. ३ मा १९ र वडा नंं. ६ मा २६ मत पाएका छन् । बुटवल २ मा पर्ने सैनामैनाका ४ वटै वडामा अध्यक्ष पदमा उम्मेदवारी दिएको थिएन ।

एकीकृत समाजवादीका वडाध्यक्ष उम्मेदवारहरूले पाएको कुल मत १४७१ मात्रै छ । एकीकृत समाजवादीले २३ वडाका ९२ जना वडासदस्य पदमध्ये ३० पदमा उम्मेदवारी दिएको थियो तर एक जनाले पनि जित्न सकेनन् ।

वडाध्यक्षका उम्मेदवार नभएका वडामा वडा सदस्यका उम्मेदवारहरूले पाएको औसत मत जोड्दा पनि एकीकृत समाजवादीको मत क्षेत्र नं २ मा २ हजारभन्दा कम छ । उता नेकपा एमालेले रुपन्देही– २ का २३ वडामा पाएको मत ३३ हजार १८७ छ । राप्रपासँग एमालेको चुनावी सहकार्य छ ।

बुटवलमा राप्रपाका ६ हजारभन्दा बढी मतदाता रहेको राप्रपा प्रदेश अध्यक्ष प्रदीप उदय बताउँछन् । राप्रपाको मत थपिँदा एमालेलाई थप सहज हुने देखिन्छ ।

पौडेलले २०७४ सालमा भारी मतका साथ कांग्रेसका उम्मेदवार युवराज गिरीलाई पराजित गरेका थिए । त्यतिखेर पौडेलले ४४ हजार ९ मत ल्याउँदा गिरीले २१ हजार ९४५ मत ल्याएका थिए । दोब्बरभन्दा बढी मतले जितेका पौडेलका लागि यो पटक निर्वाचन जित्न गठबन्धनको सामना गर्नुपर्ने छ । 

बुटवल उपमहानगरको १ देखि १३, सैनामैनाको १ देखि ४ र तिलोत्तमाको १ देखि ६ नम्बर गरी २३ वटा वडा पर्ने रुपन्देही– २ मा प्रदेशसभा (क) तर्फ ६४ हजार ४५२ र (ख) तर्फ ६४ हजार २२५ जना गरी १ लाख २८ हजार ६७७ मतदाता रहेका छन् । 

नेकपा एमाले रुपन्देही– २ का क्षेत्रीय संयोजक बाबुराम पन्थी यो क्षेत्रमा विष्णु पौडेललाई टक्कर दिने उम्मेदवार नै नभएको बताउँछन् । स्थानीय तह चुनावको मत मात्रै संघीय चुनावमा निर्णायक नहुने पन्थी बताउँछन् । 

पौडेलले आफ्नो क्षेत्र मात्र नभई समग्र रुपन्देही जिल्लाकै पूर्वाधार विकासमा गरेका योगदानले अरू उम्मेदवारभन्दा धेरै बलियो रहेको पन्थीको तर्क छ । ‘विष्णु पौडेल बराबर यो क्षेत्रमा विकास निर्माणका योजना ल्याएको उम्मेदवार नै छैनन्,’ पन्थीले भने, ‘एकीकृत समाजवादीको बढीमा दुई हजार भोट छ । यो मतले एमालेसँग प्रतिस्पर्धा गरेर जित्छु भन्दा मतदाताले पत्याउँदैनन् ।’ 

बुटवल–बेलहिया ६ लेन सडक, बुटवल अन्तर्राष्ट्रिय सभा हल पौडेलकै पहलमा सम्पन्न भएका र बुटवल अन्तर्राष्ट्रिय प्रदर्शनी केन्द्र, कालीगण्डकी तिनाउ डाइभर्सन, तिनाउ नदीमा सिग्नेचर पुल, सिद्धबाबा सुरुङमार्ग, झुम्सा खानेपानी, बुटवल–नारायणगढ र बुटवल–चन्द्रौटा सडक विस्तार, गौतमबुद्ध विमानस्थलमा दोस्रो टर्मिनल भवनका योजनाकार समेत पौडेल भएकाले तिनलाई पूर्णता दिन पनि मतदाताले पौडेललाई रोज्ने पन्थी बताउँछन् । 

रुपन्देही– २ मा प्रदेशसभातर्फ २ (१) मा लीला गिरी र २ (२) मा भोजप्रसाद श्रेष्ठ उम्मेदवार छन् । गठबन्धनबाट कांग्रेसका दीर्घबहादुर केसी (कुमार) र माओवादीका वामदेव क्षेत्री प्रतिष्पर्धामा छन् । 

नेकपा एकीकृत समाजवादीका रुपन्देही अध्यक्ष अविराम रसाइली गुरुङ नयाँ अनुहार भएको र गठबन्धनको साथले चुनाव जित्ने विश्वास व्यक्त गर्छन् । 

‘यहाँ कांग्रेस वा अरू दल सिंगल–सिंगल लडे विष्णु पौडेललाई जित्न सकिन्न, जित्ने भनेको एमालेको मत तान्न सक्ने उम्मेदवारले हो, त्यो राजु गुरुङ नै हुन्,’ रसाइलीले भने, ‘यो कुरा गठबन्धनका दलले बुझ्न आवश्यक छ ।’ 

गुरुङ नेता झलनाथ खनाल निकट मानिन्छन् । खनालका छोरासँग मिलेर गुरुङले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा सहायक ठेकेदारको रूपमा पनि काम गरेका थिए । 

एमाले रुपन्देहीका अध्यक्ष तेजेन्द्र केसीले एमालेले रुपन्देहीमा टिकट वितरण पनि सन्तुलित ढंगबाट गरेको बताउँदै पार्टीले अगाडि सारेको सबै उम्मेदवार विजयी हुने दाबी गरे । रुपन्देही– २ एमालेका लागि चुनौतीरहित रहेको उनको दाबी छ ।

यो क्षेत्रमा पौडेलका प्रतिस्पर्धी हरेक निर्वाचनमा फेरिएका छन् । २०६४ मा पौडेलका प्रतिस्पर्धी माओवादी केन्द्रका भक्ति पाण्डे थिए । 

२०७० मा माओवादीकै डा. बाबुराम भट्टराई र २०७४ मा नेपाली कांग्रेसका युवराज गिरी थिए । अहिले एमालेकै पूर्व कार्यकर्ता रहेका गुरुङ पौडेलका प्रतिस्पर्धी बनेर आएका हुन् ।

salt training

कमेन्ट गर्नुहोस्