२२ असार २०८३, सोमबार

‘कहीँ नभएको हाँडीगाउँको जात्रा’ को मूर्ति भित्र्याइयो पुजारी घरमा

‘कहीँ नभएको हाँडीगाउँको जात्रा’ को मूर्ति भित्र्याइयो पुजारी घरमा

काठमाडौं महानगरपालिका–५ स्थित हाँडीगाउँ क्षेत्रमा प्रदर्शन गरिने चोक्काथुनारायणको जात्राका तीनवटै मूर्तिलाई कोटालटोलस्थित पुजारीघरमा भित्र्याएसँगै यस वर्षको जात्रा सम्पन्न भएको छ ।

कार्तिक कृष्ण तृतीयाका दिन रथयात्रा गरिने तीनवटै मूर्तिलाई पुजारीघरमा भित्र्याइएको पूर्व वडाध्यक्ष रमेश डंगोलले जानकारी दिए । मूर्ति भित्र्याएसँगै यो वर्षको जात्रा सबै काम सकिएको छ । प्रत्येक वर्ष कोजाग्रत पूर्णिमापछि गरिने यो जात्रा यस क्षेत्रको प्राचीन मौलिक संस्कृतिका रूपमा मानिँदै आएको छ । जात्राका क्रममा सोमवार हाँडीगाउँ, विशालनगर र गहनापोखरी क्षेत्रमा रथयात्रा गरिएको थियो ।

तीननारायण एवं ‘कहीँ नभएको जात्रा हाँडीगाउँमा’ समेत भनिने यो जात्रा यस क्षेत्रको प्राचीन जात्रा मानिन्छ । देशका अन्य स्थानमा हुने जात्रा खटको गजुर उल्टो नपारी गरिने र यहाँको नारायण जात्रा भने उल्टो पारेर गरिने भएकाले कहीँ नभएको जात्रा भन्ने गरिएको हो । 

चोकेटनारायणसमेत भनिने चोक्काथुनारायणको नाममा गुठी जग्गासमेत राखी जात्रा चलाउने व्यवस्था गरिएको थियो । गुठी संस्थानको लगतमा चोक्काथुनारायण एवं तीननारायणका नाममा गुठी जग्गा राखिएको छ ।

मन्दिरको ढोकामा रहेको नेवारी भाषाको अभिलेखअनुसार राजा नरेन्द्र मल्लको पालादेखि यो जात्रा शुरु भएको हो । चोक्काथुनारायणको मन्दिर बूढानीलकण्ठबाट ल्याई यहाँ स्थापना गरिएको ‘हाँडीगाउँ ः एक परिक्रमा’ पुस्तकका लेखक एवं यस क्षेत्रको सांस्कृतिक परम्पराका बारेमा अध्ययन गरिरहनुभएका यज्ञनाथ आचार्यले बताए । 

जात्राका क्रममा बुधवार मूर्तिलाई पुजारी घरमा राखिन्छ । यसपछि यो जात्रा समाप्त हुन्छ । कार्तिक कृष्ण प्रतिपदादेखि तृतीयासम्म यस क्षेत्रमा कहीँ नभएको जात्रा गर्ने चलन छ । यो जात्रा हेर्न राजधानी वरिपरिका ठाउँबाट मानिसको भीड हाँडीगाउँमा लाग्ने गर्छ । रासस

salt training

कमेन्ट गर्नुहोस्