काठमाडौं, २२ साउन– कुनै समय तीजका गीतलाई बेदनाको पर्वको समेत रुपमा लिइन्थ्यो । सासूले बुहारीलाई गरेको दमन तथा चेलीले आफ्नो जन्मघर जान नपाएका वेदना गीतमा प्रस्तुत गरिन्थ्यो । अहिले भने समय ठ्याक्कै उल्टो भएको छ । गीतले पीडालाई भन्दा पनि मनोरञ्जनलाई तीजका गीत जोड्दै आएको छ ।
अझ अर्को पक्ष त के छ भने मनोरञ्जनका नाममा गीतमा भव्य विकृति हुँदै गएको लोक कलाकर्मी बताउँछन् । ‘राष्ट्रिय लोक तथा दोहोरी प्रतिष्ठान नेपाल’ का सचिव समेत रहेका शंकर विसीले निर्देशन गरेको तीजको गीत नै उत्ताउलो छ । जब कि, प्रतिष्ठानमा आवद्ध कलाकारले यस्ता गीतलाई प्रश्रय नदिने भनेरसहमति जनाएका छन् । तर प्रतिष्ठानको कार्यसमितिले समेत यस्ता खालका गीत बजारमा ल्याउने चलनमा कमी भएको छैन । त्यसो त यस्ता खालका गीतले युट्युबमा राम्रै भिअर्स पनि पाएका हुन्छन् । त्यही भिअर्सको लोभमा पनि यस्ता गीतले मौलाउने मौका पाएको धेरैको बुझाइ छ ।
गोपाल नेपाल र चर्चित गायिका पूर्णकला बिसीले स्वर दिएको शंकर चालिसेको गीत ‘कट्टुमा बुट्टा’ बोलको गीतमा अंगप्रदर्शनलाई फोकस गरिएको छ । अपलोडरले आफ्नो बचाउका लागि कमेन्टस् समेत डिसेबल गरेका छन् ।
गीतमा मात्र विकृति होइन । यस्ता गीतमा चर्चित कलकारले समेत अभिनय गरेका छन् । ‘कान्छी कहाँ सुत्न जाऊ’ बोलको गीतमा चर्चित हास्य कलाकार शिवहरि पौडेल, निरु खड्कासमेतले अभिनय गरेका छन् । भलै गीतको भिडियोमा भने त्यति भल्गर शब्दको प्रयोग गरिएको छ ।
गायिका ज्योति मगरले लोकान्तरसँग भनिन्, ‘तीजका गीत बिगारेको हामीले होइन, पुरुषले हो, हामीले भन्दा पहिले नै उहाँहरुले तीजको गीत गाएर विकृति ल्याइसक्नुभएको छ ।’
तर, उनले अभिनय गीतमा शब्द चयन र भिडियो दुवै उत्तेजक हुन्छन् । कुनै नयाँ गायकले गाउनुप¥यो भने पनि ज्योतिले यस्ता गीत गाउन सम्झन्छन् । यही वर्ष बजारमा आएको ‘केरा काटेर’ बोलको गीत एक्लै बसेर हेर्नुपर्ने खालको छ । तीजका गीतमा देखिएको यस्तो विकृतिलाई कुनै पनि संस्थाले औंला ठड्याउन खोजेको देखिँदैन । लोकगीतको जर्गेनामा लागेका संस्थाले समेत यस विषयमा आवाज उठाएको पाइँदैन । गीतको भिडियोमा आएका प्रतिक्रियामा दर्शकले अपाच्य गाली त गर्छन् तर यस्ता खालका गीत हेर्न पनि छोड्दैनन् । यसको कारण बदलिँदो समाज नै हो ।
युट्युबभरी यस्ता गीत छाएका त छन् नै यस्तै विकृतिलाई उठाएका गीत पनि तीजका भाका बनेका छन् । त्यसैको उदाहरणका रुपमा लिन सकिन्छ ‘छोरो गयो साउदीको खाडीमा’ बोलको गीतलाई ।
गौरव गिरीको शब्द र संगीत रहेको गीतमा यस्तै विकृतिलाई उठाउन खोजेको छ । गीतमा गौरव गिरी, समुन्द्र गिरी, कुमारी चेपाङ, गिताञ्जली, विनिता गुरुङ, प्रशन्ना पाठक लगायतका कलाकारले स्वर दिएका छन् ।कतिपयले भने विकृतिको व्यङ्ग्यका नाममा यस्तै गीत बजारमा ल्याएका छन् । ‘चाइनिज लुगा’ बोलको गीतमा यस्तै प्रयोग देख्न सकिन्छ । व्यङ्ग्यका नाममा अंगप्रदर्शन गरिएका यस्ता गीतमा दर्शकले गाली अपाच्य नै हुन्छन् । गीतका शब्द राम्रा हुने तर भिडियोलाई एक्लै लुकेर हेर्नुपर्ने गीत निर्माणको क्रम ह्वात्तै बढेको छ ।
यस्ता खालका गीतले बजार तताउनुको कारण भने सबैको बुझाइमा एउटै छैन । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानका सचिव समेत रहेका शंकर बिसीले यस्ता अश्लीलता झल्कने भिडियोको निर्देशन गरेका छन् तर उनको प्रतिक्रिया छ, ‘तीजका गीतमा विकृति आउनु बिल्कुलै राम्रो होइन, यस्ता कुराको विरोध गरिनुपर्छ ।’