२८ असार २०८३, आइतबार
बेलायत हाँक्ने बाटोमा ऋषि

बेलायतका पहिलो हिन्दू ‘प्रधानमन्त्री’: को हुन् 'डाउनिङ स्ट्रीट'मा इतिहास रच्न लागेका सुनक ?

कात्तिक ८, २०७९
बेलायतका पहिलो हिन्दू ‘प्रधानमन्त्री’: को हुन् 'डाउनिङ स्ट्रीट'मा इतिहास रच्न लागेका सुनक ?

मंगलवार बेलायतको ५७औं प्रधानमन्त्री बन्न लागेका ऋषि सुनकले धेरै अर्थमा इतिहास रच्ने भएका छन् । 

उनी बेलायती राजा चार्ल्स तृतीयभन्दा धनी छन् । जम्मा ४२ वर्ष पुगेका सुनक बेलायतमा विलियम पिट द योंगरबाहेकका सबभन्दा कान्छा उमेरका प्रधानमन्त्री हुँदैछन् । 

उनी बेलायतका पहिलो अश्वेत प्रधानमन्त्री समेत हुँदैछन् । बेलायतमा उनीअघि हिन्दू धर्मावलम्बी व्यक्ति प्रधानमन्त्री बनेको थिएन । 

सुनक सन् १९८० मा इंग्ल्यान्डको साउथह्याम्पटनमा भारतीय परिवारमा जन्मेका थिए । उनको परिवार पूर्वी अफ्रिकाबाट बसाइँ सरेर बेलायत पुगेको थियो । 

उनका पिता चिकित्सक थिए भने आमाले आफ्नै औषधि पसल चलाउने गरेकी थिइन् । 

तीन सन्तानमध्येका जेठा सुनकले निजी आवासीय विद्यालयबाट औपचारिक अध्ययन सकेका हुन् । उनी पढेका विनचेस्टर कलेजमा भर्ना हुन वर्षको ४३ हजार ३३५ पाउन्ड अर्थात् ६४ लाख रुपैयाँभन्दा बढी रकम तिर्नुपर्छ । 

उनी विद्यालयका हेड बोय थिए । हालैका वर्षमा उनले विद्यालयलाई १ लाख पाउन्डभन्दा बढी रकम पटकपटक गरी दान दिइसकेका छन् । 

सुनक विद्यालय शिक्षा सकेपछि अक्सफोर्ड विश्वविद्यालयमा भर्ना हुन पुगे । त्यहाँ उनले राजनीति, दर्शन र अर्थशास्त्र अध्ययन गरे । उनले परीक्षामा अब्बल अंक ल्याएर फर्स्ट क्लास डिग्री उपाधि हात पारेका थिए । 

पछि उनले स्ट्यानफोर्ड विश्वविद्यालयबाट एमबीए पूरा गरे । त्यहाँ छँदा उनले अक्षया मूर्तिलाई भेटे जो पछि गएर उनकी पत्नी बनिन् । स्ट्यानफोर्डमा ऋषिलाई धेरैले चिन्ने अवसर पाएनन् । 

अक्षया मूर्ति भारतीय अर्बपति नारायण मूर्तिकी छोरी हुन् । नारायण मूर्तिलाई भारतका बिल गेट्स मानिन्छ । उनले इन्फोसिस नामक सफ्टवेयर कम्पनी खोलेका छन् । उक्त कम्पनीमा अक्षयाको ०.९१ प्रतिशत हिस्सा रहेको बताइन्छ । त्यो भनेको लगभग ७० करोड पाउन्ड हो । 

ऋषि र अक्षयाले सन् २००९ मा भारतको बेंगलुरुमा विवाह गरेका थिए । उक्त विवाह समारोहमा एक हजार पाहुना सहभागी थिए । 

उनीहरूका दुई छोरी छन् ः कृष्णा र अनुष्का । 

गत अप्रिल महिनामा अक्षया मूर्ति बेलायतमा स्थायी घर नभएकी महिला भनी खुलासा भएको थियो । अर्थात्, उनले विदेशमा कमाएको पैसाको कर बेलायत सरकारलाई तिर्ने गरेकी थिइनन् । उनी वर्षको जम्मा ३० हजार पाउन्ड तिर्थिन् । 

स्थायी घर भएको भए अक्षयाले २ करोड पाउन्ड भन्दा बढी कर तिर्नुपर्ने हुन्थ्यो भनी खबर आएको थियो । यस विषयमा सार्वजनिक हल्लाखल्ला भएपछि उनका प्रवक्ताले अबदेखि विदेशमा गरेको कमाइको कर पनि बेलायत सरकारलाई तिर्न थाल्ने स्पष्ट पारे । आफ्ना पतिमाथि परेको राजनीतिक दबाब कम गर्न उनले यो घोषणा गरेकी हुन् । 

सुनक र मूर्ति दुवैको सम्पत्ति जोड्दा ७३ करोड पाउन्ड भएको अनुमान गरिन्छ । राजा चार्ल्स तृतीय र रानी क्यामिलाको सम्पत्ति जोड्दा लगभग ३५ करोड पाउन्ड पुग्छ । 

ऋषि र अक्षयाले संसारका चारवटा ठाउँमा घर किनेका छन् र तिनको मूल्य १ करोड ५० लाख पाउन्डभन्दा बढी छ ।

पहिलोपटक सांसद भएको सात वर्षपछि नै सुनक प्रधानमन्त्री बन्ने भएका छन् । बेलायतको आधुनिक इतिहासमा यति छिटो प्रधानमन्त्री बन्ने व्यक्ति उनी नै हुन् । 

डेभिड क्यामरन सांसद बनेको नौ वर्षमा प्रधानमन्त्री भएका थिए । तर पिट द योंगरले सांसद भएको जम्मा दुई वर्षमा प्रधानमन्त्री बनेर कीर्तिमान कायम गरेका छन् । 

प्रधानमन्त्री बन्न सुनकले संघर्ष गर्नुपरेको थियो । सत्तारूढ कन्जर्भेटिभ (टोरी) पार्टीका सदस्यहरूले सुनकका प्रतिस्पर्धी लिज ट्रसलाई जिताएपछि सुनक राजनीतिबाट हराउने अपेक्षा गरिएको थियो । 

हुन पनि ट्रस प्रधानमन्त्री बनेको भोलिपल्ट संसद्को तल्लो सदनमा सम्बोधन गरी सुनक हराएका थिए । तर ट्रसले लिएको करकटौतीको विनाशकारी तथा आत्मघाती निर्णय नै उनको पतनको कारण बन्न पुग्यो । ट्रसको पतनलगत्तै सुनक आफ्ना समर्थक सांसदहरूका साथ प्रधानमन्त्री पदका लागि तयारी गरिरहेका थिए । 

पार्टी प्रमुख पद जितिसकेपछि सुनकले अत्युच्च उत्पादनमूलक बेलायती अर्थतन्त्र निर्माण गर्ने आफ्नो महत्त्वाकांक्षा भएको सांसदहरूलाई बताएका थिए । उनले कर लगाउने तर त्यो तिर्न सकिने र करको सदुपयोग गर्न सकिने किसिमको हुनुपर्ने बताएका थिए । सुनकको करीयर नै वित्तीय कन्जर्भेटिजममा आधारित छ । 

सुनकलाई कोकाकोला पिउन एकदमै मन पर्छ । विद्यालयका दुई विद्यार्थीहरूसँग कुरा गर्दै उनले भनेका थिए, ‘म कोकको लती हुँ, पूरै लती ।’ (कोक भन्नाले लागूऔषध कोकेन पनि बुझिन्छ।) । 

त्यो सुनेर विद्यार्थीहरू हाँसेका थिए । पछि सुनकले यसलाई स्पष्ट पारे, ‘कोकाकोलाको लती हुँ है ।’

उनले एउटा पेट्रोल पम्पमा कोकका लागि पैसा तिर्न खोज्दा सम्पर्करहित क्रेडिट कार्ड प्रयोग गर्न जानेका थिएनन् । 

सुनकको विवादसँग पनि नाता जोडिएको छ । टनब्रिज वेल्समा सम्बोधन गर्दै एकपटक सुनकले शहरका गरीबीग्रस्त क्षेत्रलाई लेबर पार्टीले दिएको बजेट धनी शहरहरूमा पठाउने गरी नीति परिवर्तन गरेको फुर्ती लगाएका थिए । त्यसो भन्दा उनी गरीबविरोधी व्यक्तिका रूपमा प्रस्तुत भएका थिए । 

विद्यार्थी हुँदा उनले वृत्तचित्र निर्माताहरूलाई आफ्ना सबै साथी अभिजात वर्गको भएको बताएका थिए । सबै उच्च वर्गका साथी भएको भन्दै कामकाजी वर्गको एउटा पनि साथी नसम्झिने उनको भनाइ थियो । 

सुनकले राजा चार्ल्स तृतीयलाई मंगलवारै भेट्ने कार्यक्रम छ । त्यसपछि उनी प्रधानमन्त्री कार्यालय डाउनिङ स्ट्रीट पुगेर सम्बोधन गर्नेछन् । 

सुनकले आफ्नो कार्यकालमा अनेकौं संकटको समाधान गर्नुपर्ने चुनौती छ । कोभिडपछि सुस्त बनेको अर्थतन्त्रलाई रुस–युक्रेन द्वन्द्वले थप थिलथिलो पारेको छ । 

अहिले आम बेलायतीहरूलाई सामान्य जीवनयापन गर्न पनि धौधौ परिरहेको छ । बेलायती जनतालाई गरीबीको खाडलबाट निकाल्नका लागि सुनकले क्रान्तिकारी निर्णय लिनुपर्ने हुन्छ । 

तर जिन्दगीभरि धनीहरूसँग उठबस गरेका सुनकले गरीबको पीडालाई कत्तिको बुझ्छन् भन्ने प्रश्न ज्वलन्त छ । उनी जनतालाई गरीबीबाट जोगाउन भन्दा पनि राष्ट्रिय ऋण घटाउन जोड दिइरहेका देखिन्छन् । ऊर्जा उपयोगको महसुल सहज बनाउन परिवारहरूलाई सरकारले दिइरहेको सुविधा पनि उनले कटाउन खोजेको बुझिन्छ । 

वित्तीय विस्तार तथा ऊर्जा महसुलको प्रत्याभूति विना मूल्यवृद्धि आकासिनेछ र आर्थिक मन्दी गहिरिनेछ । ब्याजदर बढ्ने सम्भावना छ । 

मोर्गन स्ट्यान्ली कम्पनीका विश्लेषकहरूका अनुसार, घर किन्नका लागि काढिने ऋणको दर ६ प्रतिशतले बढ्न सक्छ अनि बिजुली र ग्यासको महसुल पनि चर्किरहेको छ । यस्तो अवस्थामा ४० प्रतिशत घरधनीहरूलाई घर किन्दाको ऋण तिर्नै महाभारत हुने देखिन्छ । 

द गार्डियन पत्रिकामा प्रकाशित हेलेन सलिभानको सामग्रीलाई लोकान्तरका लागि विन्देश दहालले अनुवाद गरेका हुन् । 
 

salt training

कमेन्ट गर्नुहोस्