२९ असार २०८३, सोमबार

चीनमा एक सातामै दोस्रो शक्तिशाली आँधी, करिब २० लाख मानिस सुरक्षित स्थानमा सारिए

असार २८, २०८३
काठमाडौं
चीनमा एक सातामै दोस्रो शक्तिशाली आँधी, करिब २० लाख मानिस सुरक्षित स्थानमा सारिए

शक्तिशाली आँधी ‘टाइफुन बाभी’ चीनको पूर्वी तटीय क्षेत्रमा पुगेपछि करिब २० लाख मानिसलाई सुरक्षित स्थानमा सारिएको छ । एक साताभित्र चीनमा पुगेको यो दोस्रो शक्तिशाली टाइफुन हो ।

करिब एक हजार किलोमिटर चौडाइ फैलिएको बाभी शनिबार साँझ ताइझोउ शहरमा प्रवेश गरेको थियो । त्यसपछि मध्यराततिर वेनझोउ शहरमा दोस्रोपटक पुगेको चिनियाँ अधिकारीहरूले जनाएका छन् ।

यसअघि जापानका दुर्गम टापुहरूमा क्षति पुर्‍याएको बाभी ताइवानको उत्तरी भाग नजिकबाट गुज्रँदा भारी वर्षा भएको थियो । आँधीका कारण फिलिपिन्समा पहिरो जाँदा कम्तीमा १७ जनाको मृत्यु भएको छ ।

बाभीको तीव्रता घटेर ‘गम्भीर उष्णकटिबन्धीय आँधी’मा रूपान्तरण भए पनि वर्षा गराउने यसको ठूलो प्रणालीका कारण अझै उच्च जोखिम कायम रहेको अधिकारीहरूले बताएका छन् । आँधी उत्तरपश्चिमतर्फ अघि बढ्दै क्रमशः कमजोर हुने अनुमान गरिएको छ ।

चीनको मौसम विभागका अनुसार आइतबार झेजियाङ प्रान्तको पूर्वी भाग र फुजियान प्रान्तको उत्तरपूर्वी क्षेत्रमा अत्यधिक वर्षा हुने सम्भावना छ । सम्भावित ठूलो क्षतिबाट जोगिन पूर्वसावधानीस्वरूप व्यापक रूपमा मानिसहरूको उद्धार तथा स्थानान्तरण गरिएको जनाइएको छ ।

राज्य सञ्चारमाध्यमका अनुसार झेजियाङ प्रान्तबाट मात्रै १७ लाखभन्दा बढी मानिसलाई सुरक्षित स्थानमा सारिएको छ भने छिमेकी प्रान्तहरूबाट पनि हजारौं मानिसलाई स्थानान्तरण गरिएको छ ।

झेजियाङमा विद्यालय, कार्यालय र बाहिरी गतिविधि स्थगित गरिएका छन् । करिब ४०० उडान र दर्जनौं रेल सेवा रद्द गरिएका छन् ।

करिब एक करोड जनसंख्या रहेको वेनझोउ शहर आँधीको सम्भावित मार्गमा परेकाले त्यहाँ पनि लाखौं बासिन्दालाई सुरक्षित स्थानमा सारिएको छ । बेइजिङमा समेत जोखिम न्यूनीकरणका लागि एक लाख मानिसलाई स्थानान्तरण गर्न आदेश दिइएको अधिकारीहरूले बताएका छन् ।

बाभी गत सोमबार गुआम र उत्तरी मारियाना टापुहरूमा प्रतिघण्टा २९० किलोमिटरको वेगमा चलेको ‘सुपर टाइफुन’का रूपमा विकसित भएको थियो । त्यसपछि कमजोर बन्दै जापानको रियुक्यु टापु शृङ्खलाको साकिशिमा क्षेत्रमा पुग्दा कम्तीमा पाँच जना घाइते भएका थिए भने हजारौं घरमा विद्युत् सेवा अवरुद्ध भएको थियो ।

ताइवानमा आँधीले प्रत्यक्ष असर नगरे पनि भारी वर्षापछि पहिरोको जोखिम बढेकाले हजारौं मानिस घर छाड्न बाध्य भएका छन् । ताइवान र जापानमा भने हालसम्म मानवीय क्षतिको विवरण आएको छैन ।

ताइवानी अधिकारीहरूले बाभीका कारण केही क्षेत्रमा एक मिटरसम्म वर्षा हुन सक्ने चेतावनी दिएका थिए । दर्जनौं उडान रद्द गरिएका छन् भने विद्यालय बन्द गरिएका छन् । खाद्यान्न र अत्यावश्यक सामग्री सञ्चय गर्न थालेपछि सुपरमार्केटका अधिकांश र्याक खाली भएका छन् ।

यसअघि यसै साता आएको ‘टाइफुन मेसाक’का कारण दक्षिणी चीनमा कम्तीमा ३९ जनाको मृत्यु भएको थियो । ठूलो संख्यामा पशुचौपाया मरेका थिए भने कृषि क्षेत्रमा व्यापक क्षति पुगेको थियो । मेसाककै प्रभावले हुबेई प्रान्तमा दुर्लभ मानिने दुईवटा टोर्नाडोसमेत आएको थियो ।

salt training

कमेन्ट गर्नुहोस्