×

NMB BANK
NIC ASIA

जसले प्रधानमन्त्रीको शपथ रोके, गिरिजाबाबुले आफूले समातेको चिया समेत दिए !

प्रचण्डको चिना देखाएर एक शीर्ष नेताले सोधे– ‘यो मान्छे प्रधानमन्त्री भए हामी के गर्ने ?’

कात्तिक ११, २०७९

NTC
Sarbottam
Premier Steels
Marvel

२०६४ सालको संविधानसभा निर्वाचनमा रौतहट र काठमाडौं दुवै ठाउँबाट पराजित भएपछि माधव नेपालले नेकपा एमालेको महासचिवबाट राजीनामा दिए । 

Sagarmatha Cement
Muktinath Bank

पार्टी पराजयको जिम्मा लिँदै महासचिवबाट राजीनामा दिएसँगै उनको राजनीतिक करिअर सकिन लागेको विश्लेषण शुरू भएको थियो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

त्यो बेलाको पहिलो दल नेकपा माओवादीले माधव नेपाललाई गणतन्त्र नेपालको पहिलो राष्ट्रपति बनाउने हल्ला चलायो । तर, माधव नेपालले धोका पाए । 


Advertisment
Nabil box
Kumari

राजनीतिमा माधव नेपालको ओरालो यात्रा शुरू भएपछि चिन्तित पत्नी गायत्री चिना लिएर ज्योतिषीकोमा पुगेकी थिइन् । राजनीतिक रंगमञ्चमा ओरालो लागेका माधव नेपालबारे ज्योतिषीको अनपेक्षित भविष्यवाणी आयो, प्रधानमन्त्री बन्ने योग नजिकिँदो छ ! संविधानसभामा प्रत्यक्षतर्फ झण्डै बहुमत पाएको दल र १० वर्षे जनयुद्धको नेतृत्व गरेर आएको ‘नायक’ नेतृत्वको सरकार ढल्ने अनुमान पनि राजनीतिक मूर्खता हुन्थ्यो । 

Vianet communication
Laxmi Bank

ज्योतिषीको भविष्यवाणीले नेपाल परिवारमा झनै कौतुहलता निम्त्यायो । भाग्यवादमा विश्वास नगर्ने भन्ने कम्युनिस्ट अनुशासनका कारण माधव नेपाल चिना देखाउन जाने कुरा भएन, तर गायत्रीले बेलाबखत ज्योतिषीको परामर्श लिइराखिन् । ज्योतिषी भने आफ्नो अडानमा दृढ थिए– माधव नेपाल प्रधानमन्त्री बन्छन्, त्यो पनि छिट्टै । 

सत्ताउन्मादमा रहेको माओवादीले सत्ता कब्जा र क्रान्तिको भाषा छाडेको थिएन । अपेक्षित काम गर्न नसकेपछि उसले सेनापतिलाई हटाउने उटपट्याङ काम गर्न थाल्यो । प्रधानसेनापति रुकमांगत कटवाल प्रकरणमा राष्ट्रपति रामवरण यादवले मन्त्रिपरिषद्को निर्णय उल्टाइदिएपछि प्रचण्ड सरकार ढल्यो । 

प्रचण्ड सरकार ढल्दै गर्दा माधव नेपालको भाग्योदय भयो । चुनावमा पराजित भएपनि संविधान लेखनको जिम्मा दिन संविधानसभाको संवैधानिक समितिको सभापति बनाउन माओवादीले २६ जनाको कोटामा मनोनित गरेर लगेका माधव नेपाल प्रधानमन्त्री निर्वाचित भए । जसलाई प्रचण्डले विषवृक्षको संज्ञा दिएका थिए । भलै, अहिले प्रचण्ड र नेपाल एउटै डुंगामा सयर गरिरहेका छन् ।

संसद्मा बहुमतले प्रधानमन्त्री निर्वाचित भएपछि गायत्रीले ती ज्योतिषीलाई घरमा बोलाएर शपथको साइत हेर्न लगाइन् । माधव, गायत्री र माधव नेपालका बुवा बसेको ठाउँमा ज्योतिषीले साइत निकाले ३ दिन पछिका लागि । ज्योतिषीको सुझावमा माधव नेपालका बुवा अडिग रहेपछि शपथको समय धकेलियो ।   

आफ्नै पार्टी एमाले, प्रधानमन्त्री बन्न सघाएको नेपाली कांग्रेसभित्रबाट शपथमा ढिला नगर्न दबाब थियो । तर, नेपालले ज्योतिषीको सल्लाहलाई अस्वीकार गर्न सकेनन् । त्यसमा उनका बुवाले पनि ‘यी बाबुले भनेको कुरा ठीक छ’ भन्दै ज्योतिषीको पक्ष लिए । २०६६ साल जेठ ११ गते माधव नेपालको प्रधानमन्त्रीको शपथ भयो । शपथको साइतमा शीतलनिवासमा हल्का वर्षा भएको थियो । 

प्रधानमन्त्रीको शपथ सार्ने ज्योतिषी थिए– सन्तोष वशिष्ठ । ज्योतिषीको सल्लाहमा प्रधानमन्त्रीको शपथ सारिएको भनेर त्यो बेला एउटा पत्रिकाले ब्यानर समाचार लेखेको थियो । प्रधानन्त्रीको शपथ सारिएको विषय त्यो साताभरी चर्चाको विषय बन्यो । ‘त्यही साइतका कारण प्रधानमन्त्री पदबाट राजीनामा गरेपनि उहाँ ८ महिना सरकारमा बसिराख्नुभएको थियो,’ वशिष्ट त्यो बेला आफूले दिएको सुझावबारे स्मरण गर्छन् । 

प्रधानमन्त्रीको शपथ लिएपछि उनलाई फेरि बालुवाटार बोलाइयो । प्रधानमन्त्री निवासको वास्तु सही नभएकाले प्रधानमन्त्रीले काम गर्न नसक्ने भन्दै उनी केही सुझाव दिएर फर्किए । ‘सामान्यतया उत्तरतिर होचो र दक्षिणतर्फ अग्लो हुनुपर्छ, बालुवाटारमा त्यसको ठीक उल्टो छ । वास्तु सही नभएको घरमा बसेका कारण हाम्रा प्रधानमन्त्रीहरू सफल बन्न नसकेका हुन्,’ ज्योतिषी वशिष्ठले लोकान्तरसँग भने । 

गिरिजाप्रसाद कोइरालाले आफू नखाएर दिएको त्यो आधा कप चिया

राजा ज्ञानेन्द्रले प्रत्यक्ष शासन शुरू गरेपछिको समय थियो । कांग्रेस नेता दीपक गिरीले गिरिजाप्रसादसँग समय लिएका रहेछन्, ज्योतिषीलाई भेटाउन । सन्तोषलाई अपर्झट फोन आयो, गिरिजाबाबुलाई भेट्न आउनु । सन्तोष रत्नपार्कमा थिए ।

रत्नपार्कबाट मोटरसाइकलमा राखेर प्रमोद ठाकुरले सन्तोषलाई महाराजगञ्ज लगे । ठाकुर गिरिजाप्रसाद कोइरालाको कपाल काट्ने नाई हुन् । अहिले भाटभटेनी सुपरस्टोर रहेको ठाउँनजिकै कोइरालाको निवास थियो । 

गिरिजासँग प्रत्यक्ष भेट नभएपनि उनले कोइरालाको चिना हेरिसकेका थिए । कुनै राजनीतिक कार्यक्रममा जान कोइराला कपडा लगाएर तयार भइसकेका थिए । छोटो भेटघाट भयो । पहिलो भेटमा कोइरालाले सन्तोषसँग ‘ज्योतिषी भनेको विज्ञान नै हो ?’ भनेर सोधे । जवाफमा सन्तोषले ज्योतिषशास्त्रको बारेमा आफूले गरेको अध्ययनको कुरा गरे । कुरा गर्दै जादा सन्तोषले कोइरालाको चिना हेरेको र फेरि प्रधानमन्त्री बन्ने योग आएको सुनाए । कोइराला मुसुक्क हाँसे मात्र धेरै प्रतिक्रिया जनाएनन् ।

कुराकानी चलिरहेको समयमा कोइरालालाई चिया आयो । सहयोगीले ज्योतिषीलाई केहीबेरमै चिया ल्याइदिन्छु भन्दै थिइन् । तर कोइरालाले त्यो धैर्य गरेनन् । कोइरालाले आफूलाई आएको चियामध्ये आधा कप प्लेटमा खन्याए र कप सन्तोषलाई हस्तान्तरण गरे । सन्तोष एकछिन अलमलमा परे ।

‘त्यो घटना मेरो जीवनकै स्मरणीय क्षण हो, गिरिजाप्रसाद कोइराला जस्तो व्यक्तित्वले आफूलाई ल्याएको कप मलाई दिनुभयो,’ सन्तोष स्मरण गर्छन् ।

दोस्रो जनआन्दोलनको पृष्ठभूमि तयार गर्ने क्रममा रहेका कोइरालाले आफू बैठकमा जानुपर्ने भएको भन्दै फेरि आउन आग्रह गरेका थिए । 

जनआन्दोलनको बलमा कोइराला प्रधानमन्त्री बनेपछि पनि उनीसँग भेट भयो । कोइराला परिवारका सदस्यसँग अहिले पनि उनको सम्पर्क कायम छ । 

चिना हराएका सुशील कोइराला, प्रधानमन्त्री बन्ने त्यो भविष्यवाणी

कांग्रेस उपसभापति रहेका सुशील कोइराला काठमाडौंको नयाँ बानेश्वरबाट शंखमुल जाने ओरालोमा बस्थे । सुशीलका सहयोगी नेताहरूले एकजना प्रख्यात ज्योतिषी लिएर आउने जानकारी गराएका रहेछन् । ताप्लेजुङका सूर्यमान गुरुङ र गोपाल पहाडीले सन्तोषलाई लिएर कोइरालाको कोठामा पुगे । 

कस्तो संयोग, सुशील कोइरालाको चिना हराएको रहेछ । गाउँमा छँदै कोइरालाको टिपन भएको बाकस नै चोरले लगेको रहेछ । ‘मेरो उ (चिना) छैन, यही हात छ, यही हेरेर भन्नुस्,’ सुशीलले हात देखाएर भन्न लगाए । सन्तोषले हात हेरेनन्, जन्ममिति सोधे । जन्ममिति र समय सोधेर कुण्डली बनाए । 

सुशीलको कुण्डलीमा पनि प्रधानमन्त्री बन्ने योग देखियो । ‘तपाईं ठूलो राजयोगमा जन्मिनुभएको रहेछ, प्रधानमन्त्री बन्ने देख्छु त म भनें । नहुने कुरा भन्दै, कोइराला झोक्किनुभयो,’ उनले त्यो दिन स्मरण गर्दै भने, ‘गोपाल पहाडीले होइन, उहाँले हचुवामा भन्नुहुन्न, यही विषयमा वनारस पढेर आउनुभएको हो भनेपछि उहाँले एए भन्नुभयो ।’  

२०७० सालमा सम्पन्न संविधानसभा निर्वाचनपछि कोइराला प्रधानमन्त्री बने । प्रधानमन्त्री मात्र बनेनन्, संविधान लेखनको नेतृत्व गर्ने अवसर पनि पाए । 

सुशीलको निधनपछि पनि कांग्रेसका नेताहरू सन्तोषले गरेको भविष्यवाणीको चर्चा गरिरहन्छन् । 

जब नामै नभनी प्रचण्डको चिना देखाइयो

२०६३ सालमा माओवादीहरू शान्ति प्रक्रियामा आइसकेपछि देशका एक शीर्ष नेताले एउटा चिना देखाउन सन्तोषलाई बोलाएका थिए । ती नेताको चिनाको जन्ममिति सुरक्षा स्रोतमार्फत शीर्ष तहका नेताकोमा पुगेको रहेछ । 

‘यो त असाधारण मान्छेको चिना हो, यो चिना सही छ भने प्रधानमन्त्री बन्ने योग छ, त्यो पनि पटक–पटक,’ जन्ममितिको आधारमा चिना हेरेपछि सन्तोषले सुनाए ।

यो सुनेर ती नेता एक्कासि आक्रोशित भए, ‘यो मान्छे प्रधानमन्त्री भए हामी के गर्ने ?’ सन्तोषलाई पछि मात्र थाहा भयो, त्यो चिना प्रचण्डको रहेछ । 

‘ज्योतिषीमा राजयोग’ शीर्षकमा विद्यावारिधि गरेका सन्तोषले राजयोग परेका र असाधारण चिनाको अभिलेख राख्ने गरेका छन् । पछि कोही व्यापारीमार्फत प्रचण्डको चिना सन्तोषकोमा पुगेको थियो । 

कम्युनिस्ट नेताहरू लुकिछिपी भैंसी पूजा गर्छन्, तर चिना हेराउँदैनन् । विज्ञान दिवसको अवसरमा हालै मात्र प्रचण्डले भाग्यवादको विरोध गरेका थिए । 

तर, स्वयं माओवादीका नेताहरूले भने लुकिछिपी चिना देखाउने गरेका छन् ।

एक व्यापारीको घरमा भएको भेटमा माओवादीका नेता कृष्णबहादुर महराले सञ्चार मन्त्री रहेको समयमा आफ्नो जन्ममिति दिएर सन्तोषलाई चिना हेर्न लगाए । 

‘१४ वर्षसम्म तपाईं राजनीतिमा चम्किनुहुनेछ, पदमै रहेको बेला एकदिन तपाईंको राजनीतिक यात्रामा ग्रहण लाग्नेछ,’ गिरिजाप्रसाद कोइराला सरकारमा सञ्चारमन्त्री रहेका महराको भविष्यवाणी गरेका थिए, सन्तोषले । त्यो भविष्यवाणीले महरा एकछिन कालोनिलो भए ।

नभन्दै २०७७ असोजमा महरामाथि संसद् सचिवालयमा कार्यरत महिलामाथि दुव्र्यवहारको आरोप लाग्यो र उनले सभामुखबाट राजीनामा दिनुपर्‍यो ।

सानो छँदा ज्योतिषी बन्ने रहर महरामा पनि थियो, तर उनको बाटो अन्यत्र मोडियो । 

धर्मलाई अफिम भनेर भाषण गर्ने माओवादीका अन्य कतिपय नेताहरू अहिले पनि सन्तोषसँग चिना हेराउन जाने गरेका छन् । 

ज्योतिषी विद्यामा चासो राख्ने अर्का प्रधानमन्त्री, जसले ज्योतिषीकै भाग्य रेखा हेरे

२०५८ सालतिर राप्रपाका नेता भरत पाठकले सन्तोषलाई पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दको घरमा लगेका थिए । 

पाठकले चन्दलाई एकजना ज्योतिषीलाई लिएर आउँछु भनेका रहेछन् । भक्तपुरको लोकन्थलीस्थित चन्द निवासमा पुग्दा सन्तोष नै आश्चर्यमा परे । 

चन्द आफैँमा ज्योतिषी विद्यामा पोख्त रहेछन् । बैठक कोठामा ज्योतिष विद्यासम्बन्धी कयौं पुस्तक राखिएका थिए । 

परिचयपछि सन्तोषले चन्दको चिना हेरे । पटक–पटक प्रधानमन्त्री भइसकेका चन्दको भाग्यमा फेरि एकपटक प्रधानमन्त्री बन्ने योग देखियो । तर, सांसद नै नभएका व्यक्ति प्रधानमन्त्री बन्ने सम्भावना राजनीतिक रूपमा त्यति सहज थिएन । 

‘तपाईंको चिनामा फेरि राज्यको गाडी घोडा चढ्ने योग लेखेको छ, यसका लागि त्यति धेरै समय पनि नलाग्ला,’ सन्तोषले लोकेन्द्रबहादुरको भविष्यवाणी गरे । फेरि प्रधानमन्त्री बन्ने कुराबारे चन्दले खासै प्रतिक्रिया जनाएनन् ।

२०५९ साल असोज १९ गतेको पहिलो सफ्ट कु मार्फत तत्कालीन राजा ज्ञानेन्द्रले शेरबहादुर देउवालाई सत्ताच्युत गरेर चन्दलाई प्रधानमन्त्री बनाए । 

संयोग आफ्नो चिना हेर्न आएका ज्योतिषीको पूर्वप्रधानमन्त्री चन्दले चिना हेरेर पठाएका थिए । ज्योतिषी विधामा पोख्त सन्तोषको बारेमा चन्दले गरेको भविष्यवाणी धेरै हदसम्म मिल्यो पनि ।

भीआईपीको संगत, तर प्रचारभन्दा बाहिर

सन्तोषको मोबाइल फोन प्रायः अफ हुन्छ, उनलाई भेटाउन मुस्किल पर्छ । प्रचारप्रसार या अन्तर्वार्ता दिएर उनले यो ख्याति कमाएका भने होइनन् । देशका भीआईपी र व्यापारीहरू शायदै होलान् उनले चिना नहेरेका । 

उनलाई राजनीतिक नेतृत्वसँग परिचित गराउने कामको शुरूआत भने स्व. शैलजा आचार्यले गरेकी थिइन् । वनारसमा पढ्दै गरेका सन्तोषलाई नेपाल ल्याउने काम पनि उनै शैलजाले गरेकी थिइन् । स्व. गिरिजाप्रसाद कोइरालाकी भान्जी शैलजा जसप्रति सन्तोषको सधैँ आदर भाव छ ।

शैलजा वनारसमा गएको अवसरमा त्यहाँ नेपाली विद्यार्थी समाजले एउटा कार्यक्रम आयोजना गरेको थियो । त्यही कार्यक्रममा शैलजासँग उनको परिचय भएको थियो । 

‘तपाईंजस्तो मान्छे यहाँ बस्नु हुँदैन, तपाईं नेपाल आउनुपर्छ, काठमाडौंमा बस्ने व्यवस्था मैले गर्दिन्छु,’ शैलजाले भनेकी थिइन् । 

संस्कृतमा शास्त्री पास गरेपछि उनी अहिले बन्द भइसकेको नेकोन एयरको विमानबाट काठमाडौं आएका थिए । 

सन्तोषले हेरेका चिनामा शैलजा आचार्य र मरिचमान सिंह श्रेष्ठका चिना अब्बल थिए । दुवै जनाको निधन भइसकेको छ । २०४६ सालमा प्रजातन्त्र स्थापनाअघि मरिचमान प्रधानमन्त्री थिए । भारतले लगाएको नाकाबन्दी सामना गरेको भन्दै उनलाई राष्ट्रवादी प्रधानमन्त्रीको रूपमा अहिले पनि स्मरण गर्ने गरिन्छ । 

झापाका मोहन ओलीले सन्तोषलाई मरिचमानकोमा लगेका थिए । ‘मान्छेहरू मलाई पञ्चे र मरिचे भन्छन्, देशका लागि सकेसम्म राम्रो काम गरेको छु, नराम्रो केही गरेको छैन,’ उनले भन्ने गर्दथे । सामान्य पारिवारिक पृष्ठभूमिका मरिचमान प्रधानमन्त्री बनेका थिए । 

२०४६ सालमा प्रजातन्त्र पुनःस्थापनापछि शैलजा कांग्रेस राजनीतिको केन्द्रमा थिइन् । शैलजासँगै कांग्रेसका चक्र बास्तोताले पनि समय–समयमा सन्तोषसँग आफ्नो चिना देखाउँथे । शैलजा, चक्र बास्तोला जस्ता कांग्रेसका पुराना नेताहरू जसले कर्मसँगै भाग्यमा पनि विश्वास राख्ने ।

पूर्वप्रधानमन्त्री सूर्यबहादुर थापाले एकदिन सन्तोषलाई मालिगाउँस्थित निवासमा बोलाएका थिए । 

छोरा सुनिल र नाति सिद्धार्थलाई एकै ठाउँमा राखेर चिना हेराउन बोलाएका रहेछन् । सुनिल थापाको चिना हेरेपछि सन्तोषले राजनीतिमा आउन सुझाव दिए । तर सुनिलले राम्रो जागिर खाइरहेको भन्दै राजनीतिमा आउने रुचि नभएको बताए । त्यसपछि सूर्यबहादुर कड्किए, ‘तिमीलाई मैले राजनीति गर्नुपर्छ भनेर कानून पढाएँ, तिमीलाई के कमाउनु छ र अझै जागिर गर्ने ? यी बाबु (सन्तोष)ले भनेपछि तिमी राजनीतिमा आउनु पर्छ ।’ 

त्यसको केही समयपछि सुनिल राष्ट्रसंघको जागिर छाडेर राजनीतिमा आए । २०७० सालमा पहिलो प्रयासमै सांसद जिते र सुशील कोइराला सरकारमा मन्त्री पनि बने । कांग्रेसको सहमहामन्त्री समेत भइसकेका सुनील अहिले धनकुटाबाट सत्ता गठबन्धनको साझा उम्मेदवार छन् । 

सूर्यबहादुरसँग सन्तोषको बारम्बार भेट भइरहन्थ्यो । जीवनका आखिरी दिनमा पनि सूर्यबहादुरले ज्योतिषीसँग परामर्श गरिरहेको सन्तोषको अनुभव छ । 

तर सन्तोष एक व्यक्तिको चिनाबारे अर्कोलाई भन्दैनन् । ‘मलाई मेरो गुरुले एक जनाको चिना अर्कोलाई नभन्नु र कसैको चिना हेरेबापत पैसाको रेट नतोक्नु भनेर निर्देशन दिनुभएको थियो,’ सन्तोष भन्छन्, ‘एक व्यक्तिको चिना अर्कोलाई नदेखाउनु भन्ने गुरुदिक्षालाई मैले शिरोधार्य गर्दै आएको छु ।’

सन्तोष वशिष्ठ ढुङ्गाको काप फोरेर उम्रेको पिपल

झापाको अर्जुनधारा गाविसको टाङटिङ खोला र विरिङ खोलाको बीच रमाइलो बस्तीमा सन्तोषको जन्म भएको थियो । तेह्रथुमको आठराईबाट झापा बसाइ सरेका भट्टराई परिवारको आर्थिक स्रोत केही नभएकाले सन्तोषका बुवालाई परिवार पाल्न धौधौ थियो । स्थानीय अरुणोदय प्राविमा कक्षा ५ सम्म अध्ययन गरेपछि उनी संस्कृत गुरुकुलमा पुगे । 

झापाका ब्रम्हज्ञानी मानबहादुर काफ्लेले बुवालाई भेटेर सन्तोषलाई संस्कृत पढाउन प्रस्ताव गरेका थिए । १०४ वर्ष बाँचेका मानबहादुर आफैँले नपढेको भएपनि सप्‍ताह पुराण लागेको ठाउँमा पण्डितले सही वाचन गरे नगरेको थाहा पाउँथे । काफ्लेको सुझावपछि बुवाले सन्तोषलाई अर्जुनधारा जलेश्वर धाममा संस्कृत गुरुकुलमा लगे । जहाँ आचार्य पुष्पलाल निरौलाले चण्डी, रुद्री, गीता, हितोपदेश लगायत सिकाएका थिए । 

गुरुकुलमा कक्षा १० सम्म अध्ययन गरेपछि सन्तोष थप अध्ययनका लागि भारतको वनारस गए । वनारसमा उनले पूर्वमध्यमा, उत्तरमध्यमा, शास्त्री र सन् २००२ मा आचार्य उत्तीर्ण गरे ।

सामान्य परिवारमा जन्मेका उदयनारायण भट्टराई त्याग, तपस्या र मेहनतका कारण प्रख्यात ज्योतिषी सन्तोष वाशिष्टको परिचय बनाउन सफल भए । 

शास्त्री पास गरेपछि काठमाडौं आएका सन्तोषको लत पैसा कमाउनेतर्फ लाग्यो, घरमा पैसा पठाउनुपर्ने बाध्यताका कारण । दिदीको बिहे र भाइहरूको पढाइका लागि पैसा कमाउनुपर्ने जिम्मा सन्तोषको काँधमा आएको थियो । काठमाडौंमा आएर ज्ञानेश्वरमा टिनको छाप्रोमुनिको कोठा भाडामा लिएका थिए । भाडा थियो, ८५० रुपैयाँ ।

काठमाडौं आएर त्रिवि केन्द्रीय क्याम्पसमा नेपाली विषयमा एमएमा भर्ना भएका सन्तोष कुनै दिन पैसा अभावमा ज्ञानेश्वरबाट कीर्तिपुरसम्म हिँड्दै गएका थिए । 

कीर्तिपुरमा पढाइकै सिलसिलामा साथीहरूले आफ्नो हात हेर्न लगाउने, परिवारका सदस्यको चिना हेर्न लगाउने गर्दागर्दै उनले आफ्नो परिचय बनाइसकेका थिए । ‘मैले कहिलै होडिङ बोर्ड राखेर प्रचार गरेको होइन, माउथ पब्लिसिटीले नै मेरा ग्राहक बनेका हुन्,’ सन्तोषले भने । 

सन्तोषको परिवार आर्थिकरूपमा यति विपन्न कि कुनैदिन उनी र आमा डोकोभरी तोरीको साग लिएर बेच्न बजार जाने गर्दथे । ५० पैसा मुठा साग बेच्दै जाँदा नबिकेको साग भने आमाले मजदूरहरूलाई बाँड्ने गर्थिन् ।

‘बाँडेको चिज खेर जाँदैन, गरीबलाई दिनुपर्छ । आमाले यसो भन्नुहुन्थ्यो,’ बाल्यकालको घटना स्मरण गरे । 

सन्तोषले जीवनमा बिर्सन नसक्ने एउटा घटना छ, भारतको रेल्वे स्टेसनमा बिताएको त्यो रात । सन् १९९६ मा घरबाट अध्ययनका लागि वनारस जाँदै थिए, रेलमा उनको पकेट मारियो । रेलको टिकट पनि पकेटमारले लगेछ ।

टिकट नदेखाइ रेल्वे स्टेसनबाट बाहिर निस्कन नमिल्ने । त्यसपछि सन्तोषले रेल्वे स्टेसनभित्रको एक चमेनागृहमा कामको लागि अपिल गरे । धेरै अनुरोधपछि मोहन जैसवालले सन्तोषलाई काम दिए । 

दिनभरी काम गरेर राति त्यही रेष्टुराँको एउटा कुनामा सन्तोषले रात गुजारे । भोलिपल्ट बिहान सन्तोष उठेर नित्य कर्म र ध्यान गर्न लागे । उनले मन्त्र जप्दै गरेका बेला होटलका साहु जैसवालको नजर सन्तोषमाथि पर्‍यो । उनले सोधखोज गरेपछि सन्तोषले आफू वनारस हिँडेको र पकेटमारीका कारण काम खोजेको बताए । 

सबै थाहा पाएपछि मोहनले केही खर्च दिएर उनलाई स–सम्मान बिदाइ गरे । ‘मोहन जैसवालले लगाएको गुन मैले तिर्न पाइनँ, पछि म उनलाई खोज्दै गएँ, तर रेल्वे स्टेसन विस्तारका क्रममा उनी त्यहाँबाट विस्थापित भइसकेका रहेछन्,’ सन्तोष स्मरण गर्छन्, ‘मेरो जीवनमा एउटा कहिल्यै नमेटिने घटनाको रूपमा उनलाई सम्झिरहेको छु । उनलाई भेटेर मैले त्यो सहयोगको गुन तिर्न बाँकी छ ।'

भारतका नेताहरूसँग पनि उस्तै सम्बन्ध

सन्तोष वशिष्ठको नेपालमा मात्र होइन विदेशमा पनि उस्तै सम्बन्ध छ । भारत, भुटानदेखि दुबईका उच्च घरानासँग उनको सम्बन्ध छ । भारतकी पूर्व परराष्ट्रमन्त्री सुष्मा स्वराजसँग उनको विशेष सम्बन्ध थियो । सुष्माको निमन्त्रणामा सन्तोष धेरैपटक भारत गएका छन् । 

लोकसभाका झण्डै एकदर्जन सांसदसँग उनको अहिले पनि उस्तै घनिष्ट सम्बन्ध छ । उनीहरूको निमन्त्रणामा बेलाबखत उनी भारत गइरहन्छन् ।

भारतका केही व्यापारी र सेलिब्रेटी पनि सन्तोषसँग ज्योतिषीय परामर्श लिने गर्छन् । आफ्नो वेबपेजमा सन्तोषले नेपालको सँगै भारतको नम्बर पनि राखेका छन् । ‘कुनैबेला महिनामा तीनपटकसम्म दिल्ली गएँ, भारतका प्रतिष्ठित व्यक्तिहरूले समय–समयमा आफ्नो चिना हेराउँछन्,’ सन्तोषले भने । 

सन् २०१७ मा इन्डोनेसियाको बालीमा सम्पन्न अन्तर्राष्ट्रिय ज्योतिषी सम्मेलनमा उनले 'वेष्ट एस्ट्रोलोजर अफ एसिया अवार्ड' प्राप्त गरेका थिए । सन् २०२० मा भारतको कोलकत्तामा 'ज्योतिष शिरोमणि अवार्ड' र सन् २०१६ मा दिल्लीमा 'ग्लोबल अचिभर्स अवार्ड' पाएका छन् । देश विदेशमा पाएका अवार्ड दुई दर्जनभन्दा बढी छन् । 

अन्तर्राष्ट्रिय पत्रिका www.bloomberg.com मा उनको ‘द टप एस्टोलोजर इन एसिया विल फ्रोकास्ट योर फाइनान्सियल फ्युचर’ शीर्षकको सामग्री प्रकाशित भएको छ । 

भारतीय मात्र होइन अन्य देशका नागरिकले पनि सन्तोषसँग ज्योतिषीय परामर्श लिन्छन्, जसका लागि भाषाको सहजीकरण गर्छिन्, सन्तोषकी जेठी छोरी ।

‘संस्कृत र नेपाली व्याकरणको विद्यार्थी भएकाले मेरो अंग्रेजी कमजोर छ । छोरीले मलाई अंग्रेजी र मैले छोरीलाई संस्कृत पढाउँदैछु,’ सन्तोष भन्छन् । 

छोरीले पनि संस्कृत सिक्नका लागि रुचि देखाएकाले आफूले पढाइरहेको उनले बताए ।

बजारमा आएका प्रायः पुस्तक नछुटाउने सन्तोषले ठट्टा गर्दै भने, ‘छोरीलाई दाइजोस्वरूप एक गाडी किताब दिनेछु ।’

मनिषा कोइरालाबारे गरिएको त्यो भविष्यवाणी

कुनै दिन एकजना व्यक्ति अर्कै व्यक्तिको चिना लिएर सन्तोषकोमा पुगेका थिए । त्यो समयमा चलेको ग्रहदशाका अनुसार त्यो चिनामा गम्भीर रोगको संकेत देखियो ।

‘यो कसको चिना हो, मलाई थाहा छैन, तर यो चिना सही छ भने उहाँलाई क्यान्सर लागेको हुनुपर्छ,’ सन्तोषको कुरा सुनेर त्यो चिना लिएर आएका व्यक्ति मर्माहत भए । 

ज्योतिषीको कुरापछि स्वास्थ्य परीक्षण गर्दा क्यान्सर देखियो । त्यो चिना थियो- चर्चित अभिनेत्री मनिषा कोइरालाको । 

‘उहाँले त्यसो भनेपछि मात्र मैले स्वास्थ्य जाँच गर्दा क्यान्सर थाहा भएको थियो,’ गत वर्ष कोइराला परिवारको जमघट चलिरहेको समयमा मनिषाले यो रहस्य खोलेकी थिइन्, जहाँ सन्तोष पनि उपस्थित थिए । 

कतिपयलाई अन्धविश्वासजस्तो लाग्न सक्छ, यदि मिलेको चिना छ भने हेर्न जान्ने ज्योतिषीले मानिसको स्वास्थ्यको बारेमा पनि भन्दा रहेछन् । 

एकपटक ज्योतिषी सम्मेलनमा केही व्यक्तिको चिना हेरेर छलफल गर्ने कार्यक्रम थियो । एक २८ वर्षीय युवाको चिनाको कुण्डली प्रोजेक्टरमा देखाइयो । 

ज्योतिषी टीकाराम शर्मा भुसालले भने- 'यदि चिना सही छ भने यो व्यक्ति मरिसकेको हुनुपर्छ, त्यसकारण यो चिनाको बारेमा छलफल नै नगरौं !'

हुन  पनि ती व्यक्ति मरिसकेका थिए । तर पनि रिसर्चको रूपमा त्यो चिनाको कुण्डली छलफलमा राखिएको थियो । 

नेपाल ज्योतिषी परिषद्को कार्यक्रमको सिलसिलामा सन्तोष एकपटक जुम्ला पुगेका थिए । त्यहाँ एक वृद्ध ज्योतिषीले चिना नै नहेरी सन्तोषको भविष्यवाणी गरिदिएछन्, '४०– ४५ दिनमा तपाईंको बिहे हुन्छ ।'

भाइको बिहे भैसकेको थियो, सन्तोषको बिहेको तयारी थिएन । तर भइदियो ठ्याक्कै ।

‘तन्त्र विद्या जानेका ती ज्योतिषीले मेरोबारे गरेको भविष्यवाणी मिल्यो, उहाँले भनेकै समयमा मेरो विवाह भयो । ज्योतिष भनेको विज्ञान नै हो,’ सन्तोष भन्छन् ।

मंसिर ४ को चुनाव मितिमा सन्तोषको परामर्श

शेरबहादुर देउवा ७ पटक प्रधानमन्त्री बन्छन् भन्ने भविष्यवाणी गरेका कारण ज्योतिषी सुरेशचन्द्र रिजाल चर्चामा रहन्छन् ।

देउवाले स्थानीय तहको चुनाव र प्रतिनिधिसभाको चुनावको मिति घोषणा गर्ने बेलामा पनि रिजालसँग छलफल गरेका थिए । 

देउवाले ज्योतिषीय परामर्श लिने अर्का ज्योतिषी भने सन्तोष हुन् । तर सन्तोष देउवासँगको सम्बन्ध बाहिर ल्याउन चाहँदैनन् ।

मंसिरको चुनावका सम्बन्धमा निर्वाचन आयोगका उच्च अधिकारीले सन्तोषसँग परामर्श गरेका थिए । उम्मेदवारी मनोनयनको कार्यक्रम कोजाग्रत पूर्णिमाको दिन राख्ने सल्लाह सन्तोषले दिएका थिए ।

दशैंको पूर्णिमाको दिन नै हतार गरेर किन मनोनयनको समय राखियो भन्ने कौतुहलता भएको थियो । त्यो दिन उम्मेदवारी मनोनयनको कार्यक्रम राख्न उपयुक्त हुने सल्लाह सन्तोषले दिएका थिए । 

राजनीतिक दलका नेताको भाग्य रेखा हेरेका सन्तोष देश बन्न नसकेकोमा चिन्तित छन् । 

‘नीति निर्माण र राजनीतिक नेतृत्व दिने तहमा बसेका प्रायः सबैको चिना हेरेको छु, सबैको चिना अब्बल छ,’ सन्तोषको निष्कर्ष छ, 'राजयोग भएका राजनेताहरू पनि सीमित स्वार्थमा रम्दा देश बनेन ।’

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १९, २०८०

समय : आइतवार बिहान ७ बजे  स्थान : नलगाड नगरपालिका, १ चिउरी, जाजरकोट (भूकम्पले सबैभन्दा धेरै क्षति पुर्‍याएको ठाउँ)  ‘मेरी आमालाई किन यस्तो भयो ? मलाई पनि बाँच्न मन छैन,...

मंसिर ३०, २०८०

बुधवार काभ्रेको धुलिखेलस्थित काठमाडौं विश्वविद्यालयका १ हजार ८३८ जना विद्यार्थीमाझ सनम ढकाल दृश्यमा आए । एमबीबीएसमा सर्वोत्कृष्ट भएर गोल्ड मेडल ल्याउँदै सनम दीक्षित भएसँगै सबैमाझ परिचित भएका हुन् ।  काठम...

माघ २७, २०८०

भगवान् गौतम बुद्धको जन्मस्थल लुम्बिनी विश्वकै लागि शान्तिक्षेत्र हो । यो क्षेत्र आउँदो महिना विशेष हुने भएको छ । विश्वकै प्रतिष्ठित र ठूलो पुरस्कार मानिने नोबेल पुरस्कार विजेताहरूको जमघट हुने भएपछि विशेष हुन लागेक...

फागुन ५, २०८०

श्रीमान्–श्रीमती नैं शाखा अधिकृत, त्यो पनि एकसाथ । यस्तो सुखद संयोग सरकारी सेवामा प्रवेश गर्न चाहनेमध्ये कमैलाई मात्र जुर्ने गर्छ । तर, गुल्मीको धुर्कोट गाउँपालिका वडा नम्बर–६ का सुरेन्द्र पाण्डे र रमित...

माघ ५, २०८०

मनीषा जीसीको वास्तविक नाम विष्णु घर्ती क्षेत्री हो । गुल्मीको धुर्कोट गाउँपालिका– ३ हाडहाडेकी विष्णुलाई धेरैले मनीषा भनेर चिन्छन् । उनै मनीषा लोक सेवा आयोगले लिएका पाँचवटा परीक्षामा एकसाथ नाम निकालेर अह...

माघ २०, २०८०

नृत्यका पारखीहरूका लागि लुम्बिनी प्रदेशमा लोकप्रिय नाम हो किशोर थापा । रुपन्देहीका किशोरको परिचय खाली नृत्यकार (डान्सर)मा मात्र सीमित छैन । उनी नृत्य निर्देशक, गायक, मोडल र फूटबल खेलाडीको रूपमा समेत उत्तिकै च...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x