![काठमाडौं- २ की कान्छी उम्मेदवार : घण्टी बजाउँदै चुनावी घरदैलोमा सोविता [भिडियो]](https://lktcdn2.prixacdn.net/media/Sovita_Gautam13_UrY51xAeVD.png)
शुक्रवार काठमाडौं महानगरपालिका वडा नम्बर ९ मा पुग्दा २७ वर्षीया सोविता गौतमको टीम चुनावी घरदैलोमा व्यस्त थियो ।
काठमाडौं क्षेत्र नम्बर २ बाट राष्ट्रिय स्वतन्त्र पार्टीको टिकट लिई प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दिएकी गौतम घण्टी बजाएर स्थानीयसँग भोट मागिरहेकी थिइन् ।

अधिवक्ता र सञ्चारकर्मीको रूपमा काम गर्दै आएकी गौतम पुराना पार्टीका स्थापित नेतालाई विस्थापित गर्ने भन्दै चुनावी मैदानमा छिन् ।
ठूला पार्टीका नेताले राजनीतिमा विकृति सिर्जना गरेको तर्कसहित मतदाताको बीचमा पुगेकी उनी एकपटक आफूलाई मौका दिन आग्रह गरिरहेकी थिइन् ।

'३०औं-४०औं वर्ष पुराना पार्टीलाई हेरियो, तर जनताको आकांक्षा पूरा गर्न सकेनन् । अब नयाँ पुस्तालाई एकचोटि हेरौं भन्ने आममतदाताको आवाज मैले पाएको छु,' सोविताले लोकान्तरसँग भनिन् ।
हारजीत जे भए पनि आफू राजनीतिमै सक्रिय रहने उनको जिकिर छ ।

'जिते पनि, हारे पनि म यो प्ल्याटफर्म छाडेर कतै जाने छैन । निरन्तर यसैमा सक्रिय रहनेछु,' उनले भनिन्, 'समाजको निम्ति, राष्ट्रको निम्ति निरन्तर आवाज उठाइरहनेछु । युवा पुस्ताको प्रतिनिधित्व गरिरहनेछु । समाजका मुद्दालाई सदनसम्म पुर्याउन भूमिका खेल्नेछु ।'
चुनाव निकै महंगो भइसकेको अनुभव बाँड्दै गर्दै उनले नागरिकहरूले सचेत भएर मतदान गर्ने विश्वास व्यक्त गरिन् । 'मतदाता सचेत भइसक्नुभएको छ । मत हाल्दा विवेक प्रयोग गर्नुहुनेछ,' आशा व्यक्त गर्दै गौतमले भनिन्, 'पुराना पार्टीका नेताले जति प्रभावित पार्न खोजे पनि मतदाताले विवेक प्रयोग गर्ने अपेक्षा छ ।'

उनले आफ्नो पुस्ताका युवाको भविष्यका लागि राजनीतिमा आएको बताइन् ।
'राजनीतिमा इमान्दारिता हुनुपर्छ, जुन ममा छ । मैले मेरो पुस्ताका लागि राजनीति गरेको हुँ । मेरो पुस्ताले यो देशमा आशा देखिरहेका छैन । मेरो पुस्तालाई आशा देखाउन म राजनीतिमा आएकी हुँ । म उहाँहरूलाई देशमै बस्ने वातावरण बनाउन राजनीतिमा होमिएकी छु,' गौतमले भनिन् ।
हेर्नुहोस्,थप भिडियोमा :
काठमाडौं– २ मा सत्ता गठबन्धनले पूर्वसभामुख ओनसरी घर्तीलाई उम्मेदवार बनाएको छ । एमालेबाट मणिराम फुँयाल उम्मेदवार छन् ।
अघिल्लो स्थानीय तह चुनावका बेला राष्ट्रिय स्वतन्त्र पार्टी गठन नै नभएकाले उक्त पार्टीको मत कति छ भनेर अनुमान गर्न गाह्रो छ ।
स्थानीय तहको मत हिसाब गर्दा गठबन्धनमा रहेका दलहरूको मत एमालेको भन्दा बढी हुन आउँछ । एकल मतको हिसाबले भने काठमाडौं– २ मा एमाले पहिलो पार्टी हो ।
गत वैशाखको चुनावमा एमालेले १७ हजार ३२८, कांग्रेसले १४ हजार १२८, एकीकृत समाजवादीले ७ हजार ९११, राप्रपाले ७ हजार २०० र माओवादी केन्द्रले ३ हजार १३१ मत ल्याएका थिए ।
हेर्नुहोस्, सोविताको चुनावी घरदैलोका थप तस्वीर :








