२९ जेठ २०८३, शुक्रबार
प्रतिनिधिसभा निर्वाचन

बारा- ४ को चुनावी हिसाब : मुस्लिम मतको बलमा इकवाल, किसान श्रेष्ठलाई गठबन्धनको भर !

बारा- ४ को चुनावी हिसाब : मुस्लिम मतको बलमा इकवाल, किसान श्रेष्ठलाई गठबन्धनको भर !

बारा क्षेत्र नम्बर ४ मा प्रतिनिधिसभा सदस्य पदका लागि सत्ता गठबन्धनबाट कृष्णकुमार श्रेष्ठ (किसान) र प्रतिपक्षी गठबन्धनबाट इकवाल मियाँ मुख्य प्रतिस्पर्धामा देखिएका छन् ।

श्रेष्ठ सत्ता गठबन्धनमा नेकपा एकीकृत समाजवादी केन्द्रका उम्मेदवार हुन् भने मियाँ नेकपा एमालेका उम्मेदवार हुन् ।

श्रेष्ठ यसअघि तनहुँ- १ बाट निर्वाचित भएका थिए । नेकपा एमालेबाट टिकट पाएका श्रेष्ठले २०७४ सालको चुनावमा नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई पराजित गरेका थिए ।

पछि नेकपा एमालेबाट नेकपा एकीकृत समाजवादी हुँदा उनले समाजवादी रोजेका थिए । सत्ता गठबन्धनबाट तनहुँ- १ मा यसपटक नेपाली कांग्रेसका रामचन्द्र पौडेललाई टिकट दिइएपछि उनले बारा- ४ बाट टिकट पाएका हुन् ।

त्यसैगरी मियाँ बारा- ४ कै निवर्तमान सांसद हुन् । २०७४ सालमा साविकको राष्ट्रिय जनता पार्टी (राजपा) नेपालबाट निर्वाचित भएका थिए । लोसपा सत्ता गठबन्धनमा सामेल हुँदा टिकट नपाउने भएपछि अन्तिममा टिकटकै लागि उनी एमाले प्रवेश गरेका हुन् ।

गणितीय हिसाबले सत्ता गठबन्धनको मतभार बढी छ, तर यस क्षेत्रमा एमालेको बलियो संगठन र मुस्लिम मतदाताको संख्या उल्लेख्य छ । सोही कारण दुई उम्मेदवारबीच कडा प्रतिस्पर्धा हुने देखिन्छ ।

सिमराको एक चिया पसलमा भेटिएका ६८ वर्षीय शिवप्रसाद बास्तोलाले एमाले उम्मेदवार मियाँको अवस्था अहिलेसम्म बलियो देखिएको बताए । मुस्लिम भोटलाई उनले कारण देखाए ।

‘मुस्लिम समुदायको २० देखि २१ हजार मत छ । त्यसमा बढी मत मियाँले नै पाउने सम्भावना छ,’ उनले भने, ‘त्यसबाहेक झन्डै सोही हाराहारीमा रहेको पहाडी मत पनि एमालेको संगठनका कारण उहाँले पाउन सक्नुहुन्छ ।' पहाडी मत जातभन्दा पनि दलगत आधारमा विभाजन हुने उनले बताए ।

इकवाल मियाँ

त्यसो त मुस्लिम समुदायकै भोट काट्नका लागि राष्ट्रिय प्रजातन्त्र पार्टीबाट जलिल देवान पनि प्रतिनिधिसभामा उम्मेदवार छन् ।

‘मुस्लिम समुदायको मतमध्ये केही मत उनले काट्न सक्ने अहिलेको स्थिति देखिएको छ,’ अर्का एक स्थानीयले भने, ‘तर अन्तिममा अधिकांश मत मियाँमै जान्छ ।’

राप्रपाकै नगर अध्यक्ष एमालेतिर ढल्किएको उनको विश्लेषण छ ।

अर्को चिया पसलमा भेटिएका राप्रपाका सिमरा नगर अध्यक्ष माधव त्रिपाठीले भने राप्रपाले कुनै पनि हालतमा एमाले उम्मेदवारका अगाडि सरेन्डर नगर्ने दाबी गरे ।

‘हामी कुनै पनि हालतमा सरेन्डर गर्दैनौं,’ उनले लोकान्तरसँग भने, ‘पाँच वर्षमा यस क्षेत्रका जनताले मियाँको अनुहार नै देख्न पाएका छैनन् । जितेर गएपछि जनतालाई भेट्न समेत नआएको हुनाले मुस्लिम समुदाय पनि एमाले उम्मेदवार मियाँसँग असन्तुष्ट छन् ।’

असन्तुष्ट मुस्लिमहरूको मत राप्रपा उम्मेदवार जलिलले पाउने उनको दाबी छ ।

किसान श्रेष्ठ गठबन्धनको उम्मेदवार भए पनि नेपाली कांग्रेसको उम्मेदवार नभएकाले कांग्रेसको सबै मत उनले पाउने अवस्था नरहेको कांग्रेसका एक कार्यकर्ताले बताए ।

‘कांग्रेसको मतको कुनै भर छैन । उम्मेदवार नभएकाले कांग्रेसको मत तीन उम्मेदवारमा विभाजन हुनसक्छ,’ कांग्रेसका ती कार्यकर्ताले भने, ‘कांग्रेसकै नगर अध्यक्ष छविलाल विश्वकर्मा दिनमा किसान श्रेष्ठकै पक्षमा मत माग्नुहुन्छ, तर रातमा भने स्वतन्त्र उम्मेदवार इच्छाबहादुर वाग्लेलाई मत मागिरहनुभएको हल्ला छ ।’

स्थानीय तहको मतभारको आधारमा श्रेष्ठ नै बलियो देखिए पनि गठबन्धनको मत सुरक्षित गर्ने उनको चुनौती छ ।

सत्ता गठबन्धनको ४५ हजार मत छ र प्रतिपक्षी गठबन्धनको २७ हजार मात्र मत छ । त्यो नै किसान श्रेष्ठले जित्ने बलियो आधार रहेको अर्का स्थानीयले बताए ।

‘उहाँ श्रममन्त्री हुँदा यहाँका धेरै युवालाई नि:शुल्क वैदेशिक रोजगारीमा पठाउनुभयो,’ ती युवाले लोकान्तरसँग भने, ‘फेरि पनि सबैलाई आफ्नै खर्चमा विदेश पठाइदिन्छु भनेर भन्नुभएको छ । त्यस कारण युवाहरूको मत उहाँमा नै जान्छ ।’

किसान श्रेष्ठ

त्यसबाहेक सामाजिक कामहरू, खेलकुद लगायतमा समेत श्रेष्ठले सहयोग गरेको उनले बताए ।

पहाडी मतमध्ये अधिकांश मत श्रेष्ठले पाउने उनको आकलन छ । त्यसबाहेक त्यस क्षेत्रमा ८ हजार दलित मत, ८ हजार तेली मत, ५ हजार कानु मत, ५ हजार कलवार मत र ६ हजार जति बनियाँको मत छ । ती सबै मत दुवै उम्मेदवारमा विभाजन हुने उनले बताए ।

श्रेष्ठ सत्ता गठबन्धनकै उम्मेदवार भए पनि नेपाली कांग्रेसको सबै मत उनले नपाउने स्थानीयको आकलन छ ।

कांग्रेसमा सक्रिय रहेका श्रेष्ठकै व्यावसायिक साझेदार इच्छाबहादुर वाग्ले पनि उम्मेदवार भएका कारण कांग्रेसको केही मत उनलाई जानसक्ने स्थानीयले बताए । वाग्लेले स्वतन्त्रबाट उम्मेदवारी दिएका छन् । उनले कम्तीमा पनि २ हजारदेखि बढीमा ५ हजार मत काट्न सक्ने चर्चा छ ।

गत चुनाव जितेपछि जनताको सुखदु:खमा सधैं साथ रहेको, महिनामा दुईपटक जनताको बीच आएर गुनासो समाधान गरेका कारण पनि आफूले नै जित्ने मियाँको दाबी छ ।

‘संसदीय विकास क्षेत्रको रकमदेखि संघ सरकार र प्रदेश सरकारको बजेट ल्याएर थुप्रै विकास गरेको छु,’ मियाँले लोकान्तरसँग भने, ‘विद्यालय भवन, सडक निर्माण, पोलिटेक्निक इन्स्टिच्युट, सिँचाई आदि सबै क्षेत्रमा विकास गरेको छु । त्यस कारण पनि जनताको मनमनमा बस्न सफल भएको छु ।’

साविकमा उनले राजपाबाट चुनाव जितेका कारण हालको लोसपाबाट पनि आफूलाई मत आउने उनको विश्वास छ । लोसपाका नगर अध्यक्ष नै एमालेमा आइसकेका कारण लोसपाको मत पनि उनले पाउने दाबी गरे ।

‘अब चुनाव जितेर आएपछि विकास निर्माणका अधुरा काम पूरा गर्नेछु,’ उनले थपे, ‘मैले जन्मदिएको पोलिटेक्निक इन्स्टिच्युटबाट दक्ष जनशक्ति उत्पादन गरेर बेरोजगार युवालाई रोजगारी प्रदान गरेर बोरोजगारीको समस्या समाधान गर्नेछु ।’

त्यसबाहेक विकास निर्माणका काम साथै किसानको समस्या समाधान गर्ने आफ्नो प्रमुख प्राथमिकता रहने उनले बताए ।

यता किसान श्रेष्ठले भने गठबन्धनको मतभार नै आफ्नो जीतको प्रमुख आधार भएको बताए । बारा- ४ मा मात्र नभएर देशभर वाम लोकतान्त्रिक गठबन्धनको लहर चलेको आफूले सहजै जित्ने उनको दाबी छ ।

त्यसबाहेक २०७० मंसिर १ गतेदेखि आफूले बाराको जीतपुर सिमरालाई आधार बनाएर व्यावसायिक तथा सामाजिक कार्यमा लगानी गर्दै आएकाले पनि चुनाव जित्ने उनको कथन छ ।

‘टुरिस्ट उम्मेदवारको हल्ला मेरा विरोधीहरूले शुरूमा चलाउनुभयो, तर अहिले त्यो सबै हल्ला धुलोमा मिलिसक्यो,’ उनले लोकान्तरसँग भने, ‘त्यसैले बाहिरिया र भित्रिया उम्मेदवारको हल्ला फैलाउनुको अब कुनै तुक छैन ।’

स्वतन्त्रबाट लडेका उम्मेदवार इच्छाबहादुर वाग्लेले बढीमा २ सय मत काट्ने उनको जिकिर छ ।

'उहाँले मेरो १ सयदेखि २ सयसम्म भोट काट्नुहोला,’ श्रेष्ठले लोकान्तरसँग भने, '१० देखि १२ हजारको मतान्तरले म जित्छु, त्यसमा १ सय वा २ सय भोट काटिनुको कुनै अर्थ छैन ।’

अर्कातर्फ स्वतन्त्रबाट लडेका इच्छाबहादुर वाग्ले भने प्रतिस्पर्धा द्विपक्षीय नभएर त्रिकोणात्मक भएको दाबी गर्छन् ।

‘जीतपुर सिमरा बनाउन मेरो भूमिका रहेको कुरालाई ध्यानमा राख्दै मतदाताले मलाई नै जिताउनुहुन्छ,’ वाग्लेले लोकान्तरसँग भने, ‘मसँग जीतपुर सिमरासहित सिंगो क्षेत्रलाई नै समृद्ध बनाउन भिजन छ । त्यही भिजनका आधारमा पनि म चुनाव जित्छु ।’

आफ्ना प्रतिस्पर्धीले विगत पाँच वर्षसम्म सांसद भएर पनि कुनै काम गर्न नसकेको आरोप उनले लगाए ।

'उहाँहरूसँग कुनै भिजन नै छैन । तर मसँग भएको भिजन यहाँका सबै मतदाताले बुझिसक्नुभएको छ,’ उनले थपे, ‘यस क्षेत्रका जनताले मलाई नै जिताउनुहुन्छ ।’

salt training

कमेन्ट गर्नुहोस्