
सशस्त्र प्रहरी बल नेपालले अत्यधिक मात्रामा कर्मचारीलाई बिदा स्वीकृत गरेको पाइएपछि सल्यान र जाजरकोटका गुल्मका कमाण्डरलाई जिम्मेवारीबाट फिर्ता बोलाएको छ।
सशस्त्र प्रहरी बलका प्रवक्ता तथा नायब महानिरीक्षक विष्णु प्रसाद भट्टका अनुसार सल्यान र जाजरकोटस्थित गुल्ममा कार्यरत सशस्त्र प्रहरी कर्मचारीलाई अस्वाभाविक रूपमा ठूलो संख्यामा बिदा दिइएको भन्ने उजुरी परेपछि प्रधान कार्यालयले छानबिन प्रक्रिया अघि बढाएको थियो।
उजुरीका आधारमा प्रधान कार्यालयले वरिष्ठ उपरीक्षक (एसएसपी) को नेतृत्वमा छानबिन टोली खटाएको थियो। टोलीले स्थलगत अध्ययन तथा अनुसन्धानपछि प्रतिवेदन बुझाएको र सोही प्रतिवेदनका आधारमा दुवै गुल्मका गुल्मपति रहेका डीएसपीलाई कमाण्डबाट फिर्ता बोलाइएको प्रवक्ता भट्टले जानकारी दिए।
फिर्ता बोलाइएका दुवै अधिकृतलाई सशस्त्र प्रहरी बल प्रधान कार्यालयको कानुन निर्देशनालयमा हाजिर गराइएको छ। उनीहरूमाथि विभागीय कारबाहीसमेत गरिएको सशस्त्र प्रहरीले जनाएको छ। रिक्त भएका दुवै गुल्ममा तत्काल नयाँ कमाण्डर खटाइने तयारी गरिएको छ।
यसैबीच, मुस्ताङको कोरला नाकाबाट दुई ट्रकमा अवैध रूपमा भित्रिएको भेप (इलेक्ट्रोनिक चुरोट) प्रकरणमा पनि सुरक्षा कमजोरी देखिएको भन्दै सशस्त्र प्रहरी बल बोर्डर आउट पोस्ट नेचुङका तत्कालीन कमान्डर सशस्त्र प्रहरी निरीक्षकमाथि छानबिन गरी कारबाही प्रक्रिया अघि बढाइएको प्रवक्ता भट्टले बताए।