
जाँचबुझ र कानूनी प्रक्रियाका त्रुटिका कारण कतिपय निर्दाेषले समेत सजाय भोग्नुपर्ने हुन्छ । यस्तै घटना भएको छ अमेरिकामा ।
अमेरिकाका क्लाउड फ्रान्सिस गारेटलाई प्रेमिका लोरी लीको हत्या आरोप लगाउँदै ३० वर्षसम्म जेलमा थुनियो । आफू संलग्न नभएको भन्दै उनले विभिन्न निकायमा हारगुहार गरे ।
उनको गुहारपछि अदालतले थप जाँचबुझ गर्दा उनी निर्दाेष ठहर भए । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार रिहा भएको ५ महिनामा उनको निधन भएको छ ।
स्थानीय पत्रकार लिलियाना सेगुराले लेखेकी छन्, ‘यो ठीक भएन । क्लाउड ३० वर्षसम्म यस्तो अपराधका लागि जेलमा बसे, जुन उनले गरेकै थिएनन् । उनले कैयौ लडाइँ लडे ।’
जेलबाट रिहा भएपछि उनले छोरी र नातिसँग बाँकी जीवन बिताइरहेका थिए तर उनको खुशी धेरै समय टिकेन ।
रिपोर्टअनुसार अमेरिकाको एक घरमा भएको आगलागीका क्रममा उनकी प्रेमिकाको मृत्यु भएको थियो ।