२९ जेठ २०८३, शुक्रबार
प्रतिनिधिसभा निर्वाचन

रेखाको चुनावी घरदैलोमा ९ घण्टा : जहाँ पुग्यो त्यहीँ सेल्फी लिन र भिडियो खिच्न चाहनेको भीड

रेखाको चुनावी घरदैलोमा ९ घण्टा : जहाँ पुग्यो त्यहीँ सेल्फी लिन र भिडियो खिच्न चाहनेको भीड

मंसिर ४ को चुनाव नजिकिँदै गर्दा मोरङ क्षेत्र नम्बर ३ को प्रतिनिधिसभा सदस्य पदकी उम्मेदवार रेखा थापालाई भ्याइनभ्याइ छ । 

बिहानदेखि बेलुकासम्म चुनावी सभा र घरदैलोमा व्यस्त हुन थालेकी रेखा बिहीवार दिउँसोको चर्को घाममा पसिना चुहाउँदै पथरीशनिश्चरे गाँउपालिकामा घरदैलोमा थिइन् ।

लोकान्तर टोलीले १ नम्बर प्रदेश गौरवको आयोजना भित्री विराटनगर—सुन्दरहरैँचा सडक खण्ड हुँदै करीब ३५ किलोमिटरको यात्रा तय गरेर रेखालाई पछ्याएको छ ।

राप्रपाका तर्फबाट उम्मेदवार रहेकी रेखासँग हामीले बुधवार बेलुका नै बिहीवारको चुनावी कार्यतालिका मागेका थियौं ।

तालिकाअनुसार बिहान १० बजे रेखाले पथरीशनिश्चरे– १० चौकीडाँडाँमा घरदैलो गर्दै मत माग्ने कार्यक्रम थियो ।

कार्तिकको अन्तिम साता लागि सक्दा पनि तराईमा दिउँसोको समय चर्को घाममा हिँड्न मुस्किल पर्छ ।

निलो कुर्ता र सेतो सुरुवाल लगाएर रातो पछ्यौरा ओढेकी रेखा त्यही पछ्यौरीले पसिना पुछ्दै घरदैलोमा व्यस्त थिइन् । 

मतदातासँग फोटो, भिडियो खिच्ने, चुनाव प्रचारका सामग्री दिने, आफ्नो चिह्न हलोमा स्वस्तिक छाप लगाउन सिकाउने काममा उनको ध्यान थियो ।

रेखा पुग्दा हरेक ठाउँमा भीड जम्मा हुने रहेछ । शायद कलाकारिता क्षेत्रमा गरेको योगदानका कारण पनि हुनसक्छ । उनीसँग कुरा गर्न र फोटो खिच्न मानिसहरू आफूले गर्दै गरेको काम छाडेर आउँथे ।

रेखाले पनि कुनै हतारोविना मतदातासँग फोटो, भिडियो खिच्ने रहिछन् । मतदातासँग भेट्दा युवापुस्तालाई दाइभाइ भन्दै सम्बोधन गरेर नमस्कार गर्ने, बुढापाकासँग बा तपाईंको छोरी परिवर्तन चाहन्छे भनेर आशीर्वाद लिने र महिलाहरूसँग अंकमाल गरेर मत माग्ने उनको शैली रहेछ ।

उनी जहाँ पुग्यो, त्यहाँ हाम्री हिरोइन आइन् भन्दै स्थानीय उनकै वरिपरि जम्मा हुने र कुरा सुन्ने रहेछन् । कतिपयले रेखालाई आफ्ना गुनासा सुनाएको पनि पाइयो ।

मतदाताले उनलाई बोल्न पनि आग्रह गरे । सानै जमात भए पनि उनले गाडीबाट साउन्ड सिस्टम र माइक निकालेर भाषण दिने रहिछन् । धपेडी र धूलोधुवाँले हुनसक्छ, उनको आवाज धोत्रो सुनिएको थियो ।

उनी अनुकूल समय मिलाउँदै सामाजिक सञ्जालमा फोटो र भिडियो पोस्ट्याउन पनि भ्याइरहेकी थिइन् । जहाँ पुग्यो त्यहाँको गतिविधि तत्कालै सामाजिक सञ्जालमा राख्दिरहिछन् ।

‘मैले जनताको समस्या सामाजिक सञ्जालमा पनि पोस्टाउने गरेकी छु । ठूला भन्ने नेताहरूले पनि देशको वास्तविक जनताको अवस्था के छ, गुनासाहरू के छन् भन्ने थाहा पाउनु जरुरी छ,’ रेखाले भनिन् ।

जहाँ पुग्यो त्यहीँ फोटो भिडियो लिने गरेकाले होला रेखाको मोबाइलमा बिहीवार दिउँसोम्म १६ हजार ४ सय वटा फोटो र १७ सय वटा भिडियो रहेको पाइयो ।

‘मेरो मोबाइल अहिले मतदाताका फोटो र भिडियोले भरिएको छ । त्यसले भोलिका दिनमा विश्लेषण गर्न मद्दत पुग्छ,’ उनले भनिन् ।

रेखालाई चुनावी घरदौलो अभियानदेखि हरेक कोणसभामा पुर्‍याउने काम उनका श्रीमान् बलराम शाही ठकुरीले गरिरहेका छन् । गाडी ठकुरी आफैंले हुइँक्याउँछन् । रेखा निशानको रातो गाडीमा हिँड्छिन् ।

रेखाले प्रदेश सभा उम्मेदवार तीर्थबहादुर गुरुङलाईलाई पनि सँगै लिएर हिँडेको देखियो । 

उनको चुनावी प्रचार टोली तथा साउन्ड सिस्टम बोक्नका लागि अर्को एउटा पीकअप भ्यान सँगै थियो । २/४ वटा मोटरसाइकल पनि उनको अघिपछि लागेका थिए ।

जनतामाथि दलहरूको बेइमानी सहन नसकेर ऐश आरामको जिन्दगी छाडी राजनीतिमा आएको रेखाले बताइन् ।

‘नेताहरूले राम्रा र जनअपेक्षा अनुसारका काम नगरेका कारण युवा पुस्ताले औंला उठाउनुपर्ने आवश्यकता औल्याउँदै म आफैं चुनावी मैदानमा होमिएकी छु,’ उनले भनिन् ।

जनतालाई झूटो आश्वासन दिएर नेताले धोका दिएको भन्दै आफूले जनअपेक्षा अनुसार काम गर्ने उनको प्रतिबद्धता छ । युवा पुस्तालाई संसदमा पुर्‍याउन उनले मतदातालाई अपिल गरिन् ।

अघिल्लोपटक जम्मा १ सीट मात्रै जितेको राप्रपाले यसपटक देशैभरीको नतिजालाई प्रभावित पार्ने दाबी गरेको छ । मोरङ ३ मा आफूले जीत हात पार्ने दाबी रेखाले गरिन् ।

विगत एक महिनादेखि अघिपछि रहेका रेखाका श्रीमान पनि राप्रपाको पक्षमा माहोल राम्रो देखिएको बताउँछन् ।

‘मैले राजनीति बुझ्दिन थिएँ । अहिले रेखा जहाँ गयो त्यहीँ भीड हुने, उनको पक्षमा जनलहर देखिनुले चुनावी परिणाम उनकै पक्षमा आउँछ जस्तो लाग्छ,’ ठकुरीले भने ।

स्थानीयले बाटो, खानेपानी लगायतका समस्या राखिरहेका थिए । कतिपयले जग्गामा दोहोरो स्वामित्वको समस्या रहेको भन्दै त्यसलाई समाधान गर्न आग्रह गरे ।

रेखाको चुनावी घरदैलोका क्रममा भेटिएकी स्थानीय तारा पोखरेलले महिलाको समस्या महिलाबाटै समाधान हुने भएकाले रेखालाई भोट दिने बताइन् ।

‘समस्या समाधानको नेतृत्व सक्षम युवालाई दिनुपर्छ । महिलाको समस्या महिलाबाटै समाधान हुने भएकाले पनि हामी मत दिन्छौं,’ उनले भनिन् ।

यस्तै धारणा मोरङ– ३ कै मतदाता सुनिता बस्नेतले पनि राखिन् । यसअघि जितेकाहरूले जनअपेक्षाअनुसार काम नगरेको उनको गुनासो थियो ।

राजनीतिक दलहरूले जनताका समस्या बेवास्ता गरेको, चुनावका बेला मात्रै गाउँमा आउने गरेको गुनासो स्थानीयले गरे ।

करीब ९ घण्टा रेखालाई पछ्याउँदा उनले चुनावी माहोल बनाएको देखियो । तर, घरमा आएका उम्मेदवारलाई मत दिन्नौं भनेर कमैले मात्र भन्छन् । रेखालाई पनि मत दिन्नँ भन्ने मान्छे भेटिएनन् ।

रेखाको अभियानका क्रममा देखिएको माहोल मतमा कत्तिको परिणत हुन्छ, अहिल्यै भन्न सकिने अवस्था छैन । रेखाले जिते पनि, नजिते पनि मोरङ– ३ को चुनावी अंक गणितमा भने उनले प्रभाव पार्ने देखिएको छ ।

यस क्षेत्रमा सत्ता गठबन्धनबाट कांग्रेसका सुनिल शर्मा र एमालेबाट निवर्तमान सांसद एवं पूर्वमन्त्री भानुभक्त ढकाल उम्मेदवार छन् ।

salt training

कमेन्ट गर्नुहोस्