![‘जेरी’ले लेखेको गीतमा अभिनय गरेका थिए शंकरले [भिडियो]](https://lktcdn2.prixacdn.net/media/313838251_868250864537866_6790508603689440945_n_8zgpckkucN.jpg)
नेपाली लोकदोहोरी क्षेत्रमा चर्चामा रहेको जोडी बबिता बानियाँ ‘जेरी’ र शंकर क्षेत्रीबीच बिहीवार मात्रै सम्बन्धविच्छेद भएको छ ।
उनीहरूको सम्बन्धलाई लिएर केही हप्तादेखि चासो बढेको थियो । अन्ततः दुवैले काठमाडौं जिल्ला अदालत पुगेर वैवाहिक सम्बन्धलाई पूर्णविराम लगाएका हुन् ।
उनीहरूको सम्बन्धविच्छेद यतिबेला लोकदोहोरी क्षेत्रमा चर्चाको विषय बनिरहेको छ । बबिता र शंकर दुवै लाइभ दोहोरीबाट चर्चामा आएका कलाकारहरू हुन् । उनीहरूले थुप्रै दोहोरी कार्यक्रममा समेत गीत गाएका छन् ।
धेरैलाई जानकारी नहुन सक्छ, बबिताले लेखेको गीतमा शंकरले अभिनय समेत गरेका छन् । ‘बगेको खोली’ बोलको लोकदोहोरी गीतलाई बबिताले लेखेकी हुन् भने गीतमा उनकै संगीत छ । १ वर्षअघि सार्वजनिक यस गीतमा शंकर क्षेत्री र मोडल अञ्जली अधिकारीको अभिनय छ ।
डिभोर्सको भोलिपल्ट शुक्रवार बबिताले गीत फेसबूकमा समेत शेयर गरेकी छन् । गीतको भिडियो शेयर गर्दै उनले लेखेकी छन्, ‘परिकल्पना गरेर शब्दहरू कोर्थे । गीत बनाउँथें । भाग्यले त्यतै डोर्याउन रैछ र !’
गीत बबिताकै अफिसियल यूट्युब च्यानलमा हेर्न सकिन्छ । गीतले भ्युज पनि राम्रो पाएको छ ।
बबिता र शंकरले ३ वर्षअघि प्रेम विवाह गरेका थिए । हालै डिभोर्स गरेकी बबिताले ‘चोट’ शीर्षकमा नयाँ मार्मिक खालको गीत ल्याउने समेत तयारी गरेकी छन् ।