
कैलालीको टीकापुर सामुदायिक पुस्तकालयमा उत्कृष्ट १ जना पाठकले हरेक महिना १० हजार रुपैयाँ पुरस्कार पाउने भएका छन् ।
पठन संस्कृतिलाई प्रभावकारी बनाउन टीकापुरस्थित सरोकार समूह र पुस्तकालयबीच भएको सहमतिअनुसार पुस्तकालयले यस्तो व्यवस्था गरेको हो ।
सरोकार समूहका अध्यक्ष प्रशान्त अर्याल र पुस्तकालयका अध्यक्ष ताराप्रसाद जोशीले शुक्रवार सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् । यो व्यवस्था भएपछि सामुदायिक पुस्तकालयमा गएर अध्ययन गर्नेहरू मध्येबाट प्रत्येक महिना १ जना पाठकले पुरस्कार पाउने भएका हुन् । समूहका अध्यक्ष अर्यालले पछिल्लो समय प्रविधि र स्मार्ट फोनले पढ्ने बानी हट्दै गएको बताए ।
‘काठमाडौंदेखि न्यूयोर्कसम्म पढ्ने बानी हराएको र स्मार्ट फोनमा हलुका विषयवस्तु हेर्ने र पढ्ने बानी बसेको छ,’ अर्यालले भने, ‘पुस्तकालय आएर गहन विषय अध्ययन गर्न सके असल चरित्र भएको व्यक्तित्व निर्माण हुन्छ ।’ उनले पठन संस्कृति प्रवद्र्धन गर्न शुरूमा १ वर्ष कार्यक्रम गरिने र प्रभावकारी भए कार्यक्रम थप गर्ने बताए ।
पुस्तकालयमा १० हजार बढी विभिन्न विधाका पुस्तक छन् । अहिले दैनिक ३०–३५ जना नियमित पाठक रहेको बताइएको छ । २०६४ सालमा स्थापना भएको पुस्तकालयमा वाचनालय र बाल कक्षको व्यवस्था छ । बिदाको दिन बाल कक्षमा बालबालिका रमाउने र पढ्ने व्यवस्था छ । पुस्तकालयमा करीब २ दर्जन ल्यापटप र कम्प्यूटर रहेको सूचना प्रविधि कक्ष छ । यहाँ बालबालिकालाई कम्प्यूटर सिक्ने व्यवस्था पनि मिलाइएको छ ।
टीकापुर सामुदायिक पुस्तकालय र सरोकार समूहले कार्यविधि बनाएर पुरस्कार वितरण गरिने छ । ‘मंसिरदेखि अर्काे मंसिर महिनासम्मका लागि पहिलो चरणका लागि सम्झौता भएको छ,’ समूहका सचिव नवराज भट्टराईले भने, ‘पुरस्कार वितरणलाई कार्यविधि बनाएर कार्यान्वयन गर्छाैं ।’
एनआरएनएका पूर्व कोषाध्यक्ष हिक्मत थापा र सरोकार समूह अध्यक्ष अर्यालले रकमको व्यवस्थाबारे आश्वस्त पारेका सचिव भट्टराईले बताए । सम्झौता हस्ताक्षर कार्यक्रममा पुस्तकालयका अध्यक्ष ताराप्रसाद जोशीले पठन संस्कृति पुनर्जागरण गर्न टीकापुर सरोकार समूहले गरेको सहयोगप्रति धन्यवाद दिए । उनले आगामी दिनमा अन्य कार्यक्रममा पनि सरोकार समूहसँग सहकार्य गर्ने अवसर मिल्ने आशा प्रकट गरे । पुरस्कारको व्यवस्थाले पाठकलाई प्रोत्साहन गर्ने जोशीको भनाइ छ ।