
'लोकान्तर राउण्ड अप'मा पाठकवृन्दलाई स्वागत छ । सधैँझैँ आज पनि हामी बितेको २४ घण्टाका मुख्यमुख्य घटनाक्रमसहित उपस्थित भएका छौँ-
पछिल्लो तीन दिनको अवधिमा आत्मदाहबाट मुगुका गणेश नेपाली र काठमाडौँका अश्विन राउतले ज्यान गुमाएका छन् । यसैगरी सर्लाहीका विवेक मण्डल मृत्युसँग जुधिरहेका छन् । यी तीनै घटनाको पृष्ठभूमि केलाउँदा राज्यप्रतिको चरम असन्तुष्टि, बेरोजगारी, बढ्दो ऋणको भार र मानसिक तनाव नै मुख्य कारकका रूपमा देखिएका छन् ।
आत्मदाहको यो पछिल्लो शृङ्खलाको सुरुवात मुगुका ३५ वर्षीय गणेश नेपालीबाट भयो । काठमाडौँको त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि राइड सेयरिङमार्फत परिवारको गुजारा चलाउँदै आएका गणेशले असार २५ गते आफ्नै शरीरमा आगो लगाएका हुन् । यसैगरी राउतले शनिबार आत्मदाह गर्दा मण्डलले शुक्रबार आत्मदाह प्रयास गरेका हुन् ।
००००
चालु आर्थिक वर्षको असार २७ गतेसम्म देशभर ११ जनाले आत्मदाह र आत्मदाह प्रयास गरेको तथ्याङ्क छ । प्रहरी प्रधान कार्यालयका अनुसार ती घटनामा संलग्नमध्ये आठ जनाको मृत्यु भइसकेको छ । तीन जना भने अहिले उपचाररत छन् ।
प्राप्त विवरणअनुसार रौतहट, बाँके, रूपन्देही, दाङ, काभ्रे र सर्लाहीमा आत्मदाहका घटना भएका छन् । सबैभन्दा धेरै चार वटा घटना काठमाडौंमा भएका छन् ।
तथ्याङ्कअनुसार ११ घटनामध्ये सात घटनामा महिलाले आत्मदाहको प्रयास गरेका छन् भने चार घटनामा पुरुष संलग्न रहेका छन् ।
००००
जुड बेलिङ्घमको उत्कृष्ट प्रदर्शनको मद्दतले इङ्गल्याण्ड फिफा विश्वकप २०२६ को सेमिफाइनलमा प्रवेश गरेको छ।
मियामी स्टेडियममा आइतबार बिहान भएको अत्यन्तै रोमाञ्चक र तनावपूर्ण क्वार्टरफाइनल खेलमा इङ्गल्याण्डले नर्वेलाई २–१ गोल अन्तरले पराजित गर्दै अन्तिम चारमा आफ्नो स्थान सुरक्षित गरेको हो।
००००
असार १८ गते सुर्खेतबाट कालिकोटतर्फ गइरहेको सवारीसाधन कर्णाली नदीमा खसेर बेपत्ता भएका चार जनामध्ये तीन जनाको शव भेटिएको छ ।
दैलेख जिल्ला प्रहरी कार्यालयका प्रमुख श्रवणकुमार विकका अनुसार दुर्घटनाको नौ दिनपछि शनिबार अछामको तुर्माखाँद गाउँपालिका–२, जमगडामा पर्ने कर्णाली किनारमा पञ्चपुरी नगरपालिका–८ माझिगाउँ सुर्खेतका तुलाराम सुवेदीको शव भेटिएको हो । यससँगै शव फेला पर्नेको संख्या तीन पुगेको हो ।
००००
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आइतबार र सोमबार देशका विभिन्न क्षेत्रमा भारीदेखि अति भारी वर्षाको सम्भावना रहेको भन्दै उच्च सतर्कता अपनाउन सर्वसाधारणलाई आग्रह गरेको छ।
जल तथा मौसम विज्ञान विभागको पूर्वानुमान उद्धृत गर्दै प्राधिकरणले कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका थोरै स्थान तथा मधेश प्रदेशसहित ती तीनै प्रदेशका तराईका एक–दुई स्थानमा भारीदेखि धेरै भारी वर्षा हुने जनाएको छ।
००००
कीर्तिपुरस्थित राधास्वामी होल्डिङ सेन्टरमा बाढी प्रभावित सुकुम्बासीको अवस्था बुझ्न पुग्दा पक्राउ परेका जेनजी मुभमेन्ट अलायन्सका तीन अभियानीमध्ये दुई जना रिहा भएका छन् ।
प्रहरी नियन्त्रणका क्रममा घाइते भएका माजिद अन्सारीलाई भने थप उपचारका लागि महाराजगञ्जस्थित शिक्षण (टिचिङ) अस्पताल लगिएको छ।
००००
नेपाली कांग्रेसका सभापति गगन थापाले कीर्तिपुरस्थित होल्डिङ सेन्टरमा बाढीपीडित सुकुम्बासीको अवस्था बुझ्न पुगेका युवामाथि प्रहरीले कुटपिट गरी नियन्त्रणमा लिएको घटनाको आलोचना गरेका छन्।
शनिबार फेसबुकमार्फत प्रतिक्रिया जनाउँदै थापाले बाढीपीडितको अवस्था बुझ्न र राज्यसँग जवाफ माग्न पुगेका माजिद अन्सारी, नहेन्द्र खड्का, सरिश्मा थापालगायत युवामाथि निर्ममतापूर्वक कुटपिट गरी नियन्त्रणमा लिनु अत्यन्तै चिन्ताजनक, लज्जास्पद र घोर निन्दनीय भएको बताएका छन्।
००००
बझाङको केदारस्यूँ गाउँपालिकामा जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ ।
केदारस्यूँ गाउँपालिका–७ काँडाचौरबाट दुर्गाथली गाउँपालिका–चुहावनतर्फ जाँदै गरेको सुदूरपश्चिम प्रदेश ०१-००१ च २६४४ नम्बरको जीप दुर्घटना हुँदा अन्य पाँच जना घाइते भएका केदारस्यूँ गाउँपालिकाका अध्यक्ष गणेशबहादुर बोहराले लोकान्तरलाई जानकारी दिए ।
००००
काठमाडौं महानगरपालिका- १८ ले तपिंताँ पार्कमा महानगरपालिकाका संस्थापक प्रमुख प्रेमलाल सिंह (पीएल सिंह)को प्रतिमा राखेको छ ।
शनिबार महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डंगोलले प्रतिमा अनावरण गरिन् । कार्यक्रममा कार्यवाहक प्रमुख डंगोलसहित वडाध्यक्षहरू, कार्यपालिका सदस्य, वडा सदस्यहरू, दिवंगत सिंहका परिवारका सदस्य र स्थानीयबासी सहभागी थिए ।
००००
नेपाली कांग्रेसका नेता शेखर कोइराला र प्रकाशशरण महतबीच भेटवार्ता भएको छ । उनीहरूबीच शनिबार दिउँसो विराटनगरस्थित कोइराला निवासमा भेटवार्ता भएको हो ।
००००
राष्ट्रिय भूमि आयोगका पूर्वउपाध्यक्ष नहेन्द्र खड्का पक्राउ परेका छन् । सुकुम्बासीलाई सरकारविरुद्ध उकासेको आरोपमा उनी शनिबार दिउँसो पक्राउ परेका हुन् ।
००००
अविरल वर्षापछि आएको बाढीका कारण कीर्तिपुरस्थित होल्डिङ सेन्टर डुबानमा परेपछि त्यहाँ आश्रय लिइरहेका सुकुम्बासीहरू पुनः विस्थापित भएका छन्। प्रभावितहरूलाई हाल कीर्तिपुरस्थित स्मृति भवनमा अस्थायी रूपमा स्थानान्तरण गरिएको छ।
गएराति होल्डिङ सेन्टरभित्र पानी पसेपछि आश्रित परिवारहरूले आफ्ना सामान सुरक्षित स्थानमा सार्न थालेका थिए। घटनापछि सेन्टर क्षेत्रमा नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको बाक्लो सुरक्षा व्यवस्था गरिएको छ।
००००
नेपाल राष्ट्र बैंकअन्तर्गतको बैंक तथा वित्तीय संस्था नियमन विभागले बैंक तथा वित्तीय संस्थालाई आफूसँग रहेका निष्क्रिय खातालाई न्यून गर्ने सम्बन्धमा कार्ययोजना बनाएर २०८३ पुस मसान्तसम्ममा लागू गर्न निर्देशन दिएको छ ।
राष्ट्र बैंकले इजाजतपत्रप्राप्त ‘क’ वर्गका वाणिज्य बैंक, ‘ख’ वर्गका विकास बैंक र ‘ग’ वर्गका फाइनान्स कम्पनीहरूलाई शुक्रबार जारी गरिएको एकीकृत निर्देशन, २०८२ मा संशोधन तथा परिमार्जन गरेर निष्क्रिय खाता न्यूनीकरण गर्नेतर्फ आवश्यक काम अघि बढाउन निर्देशन दिएको हो ।