
काठमाडौं क्षेत्र नम्बर–२ बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार रहेकी कुन्ती पोख्रेलले काठमाडौंमा सवारी साधनको चाप व्यवस्थापनको लागि मन्त्रालय सार्नुपर्ने विचार व्यक्त गरेकी छन् ।
सोमबार काठमाडौंको मुलपानीमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले सिंहदबारका केही मन्त्रालय सार्नुपर्ने उनले बताएकी हुन् । उनी राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को केन्द्रीय सदस्य हुन् ।

चुनावी प्रचारमा व्यस्त रहेकी पोखरेलले सिंहदरबारमा रहेकामध्ये कम्तिमा ४ वटा मन्त्रालय काठमाडौं क्षेत्र नम्बर–२ मा सार्नुपर्ने उनले बताइन् ।
काठमाडौं क्षेत्र नम्बर–२ का मतदाताले चुनाव जिताएमा आफूले त्यसका लागि पहल गर्ने उनले बताइन् ।
त्यसैगरी, आफूले चुनाव जितेर सांसद भएमा सरकारले विनियोजन गरेको बजेट र खर्चको विवरण मतदाताको बीचमा ल्याउने र कमजोरी गर्नेलाई कारबाहीको लागि आवाज उठाउने उनले बताइन् ।

‘मलाई मतदाताले चुनाव जिताउनुभयो भने म विकास निर्माणका सबै फाइल खोल्न संसद आवाज उठाउँछु । त्यसले भ्रष्टाचार गर्नेहरुको तथ्य सार्वजनिक गर्न मद्दत मिल्छ’, उनले भनिन् ।
मंसिर ४ मा हुने चुनावमा काठमाडौं–२ का मतदाताले आफूलाई सहयोग गर्ने आश्वासन पाएको पोख्रेलले बताइन् ।
मतदाताले चुनाव जिताएको खण्डमा काठमाडौं–२ मा खानेपानी, फोहोर व्यवस्थापन, पूर्वाधार विकास, धार्मिक पर्यटन जस्ता क्षेत्रमा प्रखररूपमा काम गर्ने उनले बताइन् ।
‘नष्ट हुन्छौ तर भ्रष्ट हुँदैनौ’ भन्ने हाम्रो पार्टीको मुख्य नारालाई आत्मसाथ गरेर काम गर्ने प्रतिवद्धता पनि पोख्रलेलले व्यक्त गरेकी छन् ।