
स्थानीय तहको चुनावमा ठूला दलका उम्मेदवारलाई पछारेर स्वतन्त्रलाई धरान उपमहानगरको नेतृत्व सुम्पेका धरानवासीले प्रदेश र प्रतिनिधि सभाको चुनावमा कसलाई पल्लाभारी बनाउँछन् भन्ने सबैतिर उत्सुकता छ ।
स्थानीय तहको चुनावमा स्वतन्त्र उम्मेदवार हर्क साम्पाङले चुनाव जितेर देशव्यापी चर्चा कमाएका थिए ।
सुनसरी–१ बाट प्रतिनिधिसभा सदस्यका लागि सत्ता गठबन्धनबाट माओवादी केन्द्रका मुक्सामहाङ मेन्याङ्बो (मुकेश) लिम्बू र एमालेको समर्थनमा जनता समाजवादी पार्टी (जसपा)का नेता अशोककुमार राई चुनावी प्रतिस्पर्धामा छन् । सत्तारूढ गठबन्धनमा कांग्रेस, माओवादी, लोसपा, र राष्ट्रिय जनमोर्चा छन् ।
सुनसरी–१ लिम्बु र राईविरूद्ध ११ जना स्वतन्त्र उम्मेदवार प्रतिस्पर्धामा छन् ।
स्थानीय चुनावमा धरानका मतदाताले स्वतन्त्र उम्मेदवारलाई जिताएका कारण आम चुनावमा पनि स्वतन्त्र उम्मेदवारकै पल्लाभारी हुन सक्ने विश्लेषण धरानमा सुन्न पाइन्छ ।

सुनसरी–१ मा राष्ट्रिय प्रजातन्त्र पार्टी, जनमत पार्टी, किराँत खम्बुवान साझा पार्टी, मंगोल नेशनल अर्गनाइजेसन, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, जनसमाजवादी पार्टी नेपाल र राष्ट्रिय स्वतन्त्र पार्टीले पनि उम्मेदवार बनाएको छ ।
एमालेको समर्थन पाएका जसपाका उम्मेदवार अशोक राई भने स्वतन्त्र उम्मेदवारले आफूलाई पराजित गर्न नसक्ने तर्क गर्छन् ।

सुनसरी–१ एमालेले जित्दै आएको क्षेत्र हो । राईको पृष्ठभूमि पनि एमाले नै हो । राई ०६९ सालमा एमाले छाडेर उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी पार्टीमा गएका थिए । ०४८ र ०५१ सालमा खोटाङबाट चुनाव जितेका राईले त्यसपछि प्रत्यक्ष निर्वाचन जितेका छैनन् । उनी २०७० सालको संविधान सभाको दोस्रो चुनावमा भने समानुपातिकबाट संविधानसभा सदस्य भएका थिए ।

२०७४ को चुनावमा राई सुनसरी–१ मा कांग्रेससँगको सहकार्यमा उम्मेदवार भएका थिए । तर, एमालेका उम्मेदवारसँग उनी पराजित भएका थिए । त्यसबेला एमाले र माओवादी केन्द्रको गठबन्धन थियो । अहिले उनै राई एमालेको समर्थनमा कांग्रेस र माओवादीसँग प्रतिस्पर्धा गरिरहेका छन् ।
राईविरूद्ध एमालेबाटै बागी उम्मेदवारी परेको छ । एमालेका मनोजकुमार मेन्याङ्बोले स्वतन्त्र उम्मेदवारी दिएका छन् ।
जसपाले एमालेसँग मिलेर जनपक्षीय माहोल निर्माण गरेको र यसअघि सधैं एमालेले नै जित्दै आएको क्षेत्र भएकोले यसपटक आफूले चुनाव जित्नेमा राई विश्वस्त छन् ।
सत्ता गठबन्धनका उम्मेदवार लिम्बु भने जनताको आवश्यकता र अपेक्षाका एजेन्डा अगाडि सारेकाले आफूले चुनाव जित्ने निश्चित रहेको दावी गर्छन् ।
धरान उपमहानगर क्षेत्रमा पर्ने सुनसरी क्षेत्र नम्बर–१ का मतदाता यसपटक पार्टीभन्दा पनि उम्मेदवार र उसको एजेन्डालाई प्राथमिकता दिने बताउँछन् ।
धरान उपमहानगरपालिका रेल्वे चोकका गणेशबहादुर भट्टराई यस क्षेत्रको विकासको एजेन्डा हेरेर भोट हाल्ने निष्कर्षमा रहेको बताउँछन् । तर, उनले कसलाई मत दिने भन्ने निर्क्यौल गरिसकेका छैनन् ।

उनले भने, ‘नेताको भाषण धेरै सुनियो । भनेअनुसार काम गरेका छैनन् । पार्टीका नेताले जनअपेक्षा पूरा नगरेकै कारण स्थानीय तहमा स्वतन्त्रलाई जिताएका हौं । अब यस पटक पनि पार्टीभन्दा व्यक्ति र उसका एजेन्डालाई हेर्ने हो ।’
जनतालाई आश्वासन नभएर काम चाहिएको तर, पुराना दलका नेताले बचन पूरा गर्न नसकेको भट्टराईले बताए । काम गर्ने व्यक्तिलाई स्थानीयले मत दिन चाहेको उनले बताए ।
नेपाली सेनाबाट अवकाश प्राप्त धरानका ६९ वर्षीय चन्द्रबहादुर ४० वर्ष अगाडि आफ्नो क्षेत्रमा रेल गुडेको सम्झँदै भन्छन्, ‘भएको विकास निर्माण मास्ने, नयाँ सिर्जना गर्न नसक्नेलाई भोट दिँदैनौं । यस्तो नेतृत्व आओस् जसले ४ दशक अगाडिजस्तै धरानमा रेल कुँदाउने योजना ल्याएर काम गरोस् ।’

दीर्घकालीन सोच र योजना भएका उम्मेदवारलाई मत दिएर जिताउनुपर्ने उनी बताउँछन् ।
धरानका अर्का मतदाता चन्द्रबहादुर लिम्बुले सुकुम्बासीको समस्या समाधान गर्ने, धरानलाई पानी खुवाउने, मासिँदै गएको वन जोगाउनेलाई भोट दिएर जिताउनुपर्ने बताए । ‘जनताको प्रमुख समस्या जसले सुन्छ उसैलाई मत दिनुपर्छ’, उनले भने ।
एक दशकअगाडि नै एमाले छोडेर हिँडेका अशोक राईको चुनाव चिन्ह छाता छ तर, उनलाई चुनाव जित्न भने एमालेकै ओत चाहिएको छ ।
मतदाताको घरमा पुग्दा देखिएको उत्साह र जनताको अपेक्षा आफ्नो पक्षमा रहेको भन्दै चुनाव आफूले जित्ने राईको दावी छ । सुनसरीमा देखिएको खानेपानी समस्या, सडक निर्माण, रोजगारीका प्रमुख समस्या छन् । यी समस्या समाधान गर्न सक्ने क्षमता आफूमा भएकाले जनताले आफूलाई मत दिने उनको दावी छ ।

‘एमालेसँग गरेको तालमेलअनुसार जसपाले पाएको १९ वटै प्रतिनिधिसभा सदस्य जित्छौं । यही चुनावबाट जसपा राष्ट्रिय पार्टी हुन्छ’ राईले भने । राई यस पटक कम्तीमा ५ हजार मतान्तरले चुनाव जीत आफ्नो पक्षमा हुने दावी गर्छन् ।
सत्तारूढ गठबन्धनका साझा उम्मेदवार लिम्बु भने धरानमा विमानस्थल बनाउने, धरानबाट जोगवनीसम्म रेलमार्ग निर्माण गर्ने, रङ्गशालाको निर्माण सक्ने, खानेपानी समस्याको दीर्घकालीन समाधान गर्ने एजेन्डासहित चुनावी मैदानमा छन् । आफूले जनताको आवश्यकता र अपेक्षा अनुसारका एजेन्डा ल्याएकाले सुनसरी–१ का जनताले आफूलाई विश्वास गर्ने दावी गर्छन् ।

एमाले–जसपाका उम्मेदवारविरुद्ध एमालेकै बागी उम्मेदवार भएको कारण त्यसको फाइदा आफूलाई हुने विश्लेषण लिम्बुको छ ।
धरानमा स्वतन्त्र उम्मेदवार भएर चुनाव जितेका मेयर हर्क साम्पाङ भने अहिलेसम्म कुनै पनि उम्मेदवारको पक्षमा खुलेका छैनन् । उनी नखुलेका कारण पनि उनलाई सघाएका मतदाताले कसलाई मत दिन्छन् भन्ने अझै यकिन भइसकेको छैन ।
