![जनताको बीचमा रहेर काम गरेकाले मैले चुनाव जित्ने निश्चित छ– परशुराम बस्नेत [कुराकानी]](https://lktcdn2.prixacdn.net/media/Purustom_Basnet_hs3xSb5L4t.png)
परशुराम बस्नेत
प्रदेशसभा सदस्य उम्मेदवार, मोरङ, क्षेत्र नम्बर ६ (ख)
म निर्वाचनमा उम्मेदवारी दर्तापछि विभिन्न अभियानमा सहभागी हुनका लागि बिहान ५ बजे उठ्छु । व्यस्तता बढी हुने भएकाले प्रायःजसो राति १ बजे सुत्छु । त्यो बीचमा जनतासँग भेटघाट, घरदैलो गर्छु ।
मैले गरेको घरदैलो र देखिएको पछिल्लो अवस्थाका बीचमा राजनीतिक दलप्रति जनताको असाध्यै अक्रोश छ । सबै जनताले के भनिरहेका छन् भने चुनावको समयमा मात्रै आउँछन्, चुनाव जितेर गएपछि फेरि अर्को चुनावमा मात्रै आउँछन् । त्यो कारणले गर्दा हामीले आफैंले चुनेका उम्मेदवार भेट्न पाउँदैनौं भन्ने जनताको ठूलो आक्रोश छ ।
अझै दोहोर्याउने उम्मेदवारलाई त झन् गाह्रो छ । म नेकपा एमालेको उम्मेदवारको हिसाबले भन्नु पर्दा एकातिर गठबन्धन छ, अर्को एमाले ।
आक्रोश पोखे पनि अन्तिममा हामी एमाले नै हो भन्ने मैले देखेको छु । यसले के संकेत गरेको छ भन्ने एमालेलाई नै विश्वास गर्छन्, मतदाताले । विभिन्न समुदाय, जनजाति लगायतका विभिन्न ठाउँमा बसेका मानिसहरूले म एमाले हुँ भन्ने देखाउनुभएको छ । जनतामा नेताप्रतिको अपेक्षा कम छ तर पनि काम गर्ने यिनै हुन भन्ने छ । पछिल्लो समय नेतालाई गाली गर्ने अभियान नै चलेको छ । यो भएको चाहिँ यो हाम्रो व्यवस्थाप्रति नै प्रहार गर्ने अभियान हो जस्तो लाग्छ ।
मेरो क्षेत्रमा गठबन्धनका कारण जनता असाध्यै निराश भएको मैले पाएको छु । जनता विक्षिप्त छन् । गठबन्धनका उम्मेदवार दिउँसो जनताको बीचमा जान सकेका छैनन् । राति-राति गम्छाले मुख छापेर गएका छन्, जसले गर्दा मोरङ ६ नम्बर क्षेत्रमा उनीहरू कमजोर देखेको छु ।
यो क्षेत्रमा लालबाबु पण्डितले राम्रो काम गरेका छन् । पछिल्लो २८/३० वर्षमा हुन नसकेको काम उनले गरेका छन् । त्यो एउटा सकारात्मक पक्ष हो ।
लालबाबु राजनीतिमा निष्कलंक मान्छे हो । उहाँको छविले पनि राम्रो काम गरेको छ ।

म पहिलोपटक चुनाव लडेको हुनाले युवा आन्दोलनमा लागेको र एमालेको सिपाहीको हिसाबले हेर्दा पनि युवा पंक्तिमा उत्साह छ ।
जनताले असाध्यै माया गरेको पाएको छु । त्यसले गर्दा जीत निश्चित छ । तर, निर्वाचन हो । गठबन्धन पक्षधरहरूमा उत्साह देखिएको छ । एमालेको पक्षमा आकर्षण देखिएकाले जित्ने निश्चित जस्तो छ ।
आन्तरिक मूल्यांकन पनि त्यही हो । यसलाई हामीले गरेका कार्यक्रमहरूले पनि पुष्टि गरेको छ । जनताको उत्साहजनक भाव देखिएको छ । यसले गर्दा हामी जित्छौं भन्ने हो ।
हरेक जनताको ढोका पुग्न असाध्यै गाह्रो छ । जनताको बीचमा आफ्नो कुरा राख्ने र नेताप्रतिको वितृष्णालाई बुझाउने काम गरेको छु । यत्रो लडेर ल्याएको व्यवस्थाका बारेमा मैले बुझाउने कोशिश गरेको छु । व्यवस्थाप्रति प्रहार भएको छ, त्यसलाई जोगाउनुपर्छ । अहिले व्यवस्थामा प्रहार गर्ने बेला भएको छैन भनेर जनतालाई बुझाउँदै आएको छु ।
केही नेता खराब भए भन्दैमा व्यवस्था नै खराब भएको छैन भन्ने कुरा मैले जनतालाई बुझाइरहेको छु । केही राजनीतिकर्मी खराब होलान्, तर राजनीति खराब होइन भन्ने बुझाइरहेका छन् ।
केही राजनीतिकर्मीले गर्दा जनतामा आक्रोश थपिएको पक्कै हो । अहिले केही खराब नेतृत्वले गर्दा काम गर्न नसकेको पनि देखिएकै छ । मैले त्यस्ता झूटका सपनाहरू जनतामा देखाएको छैन । स्थानीय ठाउँको धरातलको, भूगोलको र राजनीतिक अवस्थामा कुरा बुझेर जनतालाई यो गर्न सक्छु भनेको छु ।

एमालेले ७० वर्षपछि सल्लाहकारको भूमिका निर्वाह गर्नुपर्ने गरी विधानमा पारित गर्यो । तर, अरू पार्टीको त अहिले त्यो पनि छैन । राजनीतिमा आउने बाटो धेरै भएको तर त्यसबाट निकास हुने बाटो नभएकाले नेताहरूप्रतिको अविश्वास देखिएको छ ।
युवालाई उठायो भने केही काम गर्छन् कि भन्ने जनता लेबलको मनोभाव देखिएको छ । एमालेले अहिले युवाहरूलाई धेरै ठाउँमा उठाएको छ, तर मेरो त त्यस्तो छैन । युवाहरूलाई जिताउनुपर्छ भनेर मलाई जनताको साथ छ । यसपालि पनि एमालेले धेरै सीट ल्याउँछ ।
अहिले दोहोर्याएर जित्नका लागि नेताले धेरै काम गर्नुपर्छ र अर्को कुरा गठबन्धनमा धेरै बागी चुनावी मैदानमा उठेकाले उहाँले भन्दा मैले जित्न सहज छ ।
(बस्नेतसँग लोकान्तरका लागि गगन अर्यालर राजु बास्कोटाले गरेको कुराकानीमा आधारित ।)