
हलमा केही सातायता नयाँ नेपाली फिल्म रिलिज भएका छैनन् । युट्युबमा हरेक दिन सार्वजनिक हुने म्युजिक भिडियोको संख्यामा पनि ह्वात्तै कमी आएको छ । नयाँ फिल्म प्रदर्शनमा नआउनु र म्युजिक भिडियो सार्वजनिक हुने संख्यामा कमी आउनुको मुख्य कारण हो– आमचुनाव ।
राजनीतिमा सम्बद्ध नेता कार्यकर्ता मात्र होइन्, सबै क्षेत्रका ब्यक्तिहरू अहिले चुनावी माहोलमा छन् । चुनावी माहोलकैबीच विश्वकप फुटबल प्रतियोगिता शुरू हुनेक्रममा छ ।
यी दु्ई माहोलका कारण नयाँ नेपाली फिल्म र म्युजिक भिडियोहरू रिलिज नभएको सरोकारवालाहरु बताउँछन् ।
नेपाल चलचित्र निर्माता संघका अध्यक्ष नवल खड्काले चुनाव र विश्वकप फुटबल प्रतियोगिताका कारण यतिबेला फिल्म रिलिज गर्ने ‘रिस्क’ निर्माताहरूले नलिएको हुनसक्ने बताउँछन् ।
‘मुख्य कारण त आमचुनाव हो । त्यसमाथि विश्वकप फुटबल पनि शुरू हुँदैछ’, खड्काले भने, ‘सोही कारण दर्शकहरुको ध्यान चुनाव र विश्वकपतिर हुने भएकाले, हलमा दर्शकहरु नजालान् भन्ने सोँचेर निर्माताहरुले फिल्म नल्याएका हुन् ।’
छैनन् नयाँ नेपाली फिल्म
सरकारले प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनको मिति घोषणा गरेसँगै निर्माता एवं निर्देशकहरुले मंसिर–४ आसपास आफ्नो फिल्मको प्रदर्शन मिति तोकेनन् । हिजो (शुक्रबार) कुनै नयाँ नेपाली फिल्म रिलिज भएनन् । अघिल्लो साता पनि कुनै नेपाली फिल्म प्रदर्शनमा आएको थिएन् । त्यसअघि, कात्तिक १८ मा मल्टिस्टारर नेपाली फिल्म रिलिज भएको थियो, ‘लाखे’ ।
कात्तिक ११ गतेदेखि प्रदर्शनमा आएको प्रदीप भट्टराई लिखित एवं निर्देशित फिल्म ‘महापुरुष’ नै यतिबेला हलमा प्रदर्शन भईरहेको छ । दर्शकबाट राम्रो प्रतिक्रिया पाउँनु र अपेक्षित नयाँ फिल्म नहुनुका कारण अझै केही साता ‘महापुरुष’ हलमा रहिरहने देखिन्छ ।

चुनावका कारण हलमा नेपाली फिल्मको खडेरीको क्रम अझै केही साता रहने देखिएको छ । साना फिल्म प्रदर्शनमा आए पनि अपेक्षा गरिएका फिल्म प्रदर्शनमा आउन भने पुस महिना नै कुर्नुपर्ने निर्माताहरू बताउँछन् ।
यद्यपी यसबीचमा केही फिल्महरु भने प्रदर्शनमा आउनेछन् । आउँदो शुक्रबार (मंसिर ९ गते) सलोन बस्नेत अभिनित ‘मिलन’ नामक फिल्म प्रदर्शन हुँदैछ । त्यसको एक सातापछि मंसिर १६ गते रिस्ता बस्नेत अभिनित फिल्म ‘पासो’ प्रदर्शनमा आउनेछ । मंसिरको २३ गते नम्रता सापकोटा र भोलाराज सापकोटा अभिनित फिल्म ‘डेसान’ र दक्षिण एसियाली खेलकुदमा स्वर्ण पदक विजेत राजकुमार राईको फिल्म ‘सोल अफ द कमाण्डो’ प्रदर्शन हुनेछ ।
‘होल्ड’मा म्युजिक भिडियो
सबैको ध्यान चुनाव र विश्वकपमा हुने भएकाले म्युजिक भिडियोले युट्यु्बमा अपेक्षित भ्युज प्राप्त नगर्ने डर लगानीकर्ताहरूमा देखिन्छ । सोही कारण निर्माण भएका म्युजिक भिडियोहरूसमेत सार्वजनिक भएका छैनन् । पछिल्लो सातायता म्युजिक भिडियो सार्वजनिक गर्ने क्रम ५० प्रतिशतले कमी आएको निर्देशकहरु बताउँछन् ।

‘निर्माण भएकामध्ये ५० प्रतिशतभन्दा बढी म्युजिक भिडियोहरु होल्डमा छन्’ चल्तापुर्जा निर्देशक काजिश श्रेष्ठले भने, ‘अब चुनाव र विश्वकपको माहोल सकिएपछि एकैपटक धेरै म्युजिक भिडियोहरु आउने देखिन्छ ।’ निर्देशक श्रेष्ठ स्वयंमले तयार गरेका आधा दर्जनभन्दा बढी म्युजिक भिडियोहरु होल्डमा छन् ।
ती म्युजिक भिडियोहरु चुनाव र विश्वकपको माहोल सकिएपछि मात्रै सार्वजनिक हुने श्रेष्ठ बताउँछन् । चुनावको एक सातासम्म फ्याट्टफुट्टरुपमा मात्रै म्युजिक भिडियोहरु आउने उनको बुझाई छ ।
पुसपछि भने फिल्मको बाढी
आशा गरिएका फिल्मका लागि भने पुस १५ कुर्नुपर्ने देखिन्छ । उक्त मितिमा आर्यन सिग्देल र उपासना सिंह ठकुरी अभिनित ‘डिसेम्बर फल्स’ र प्रियंका कार्की अभिनित ‘चि मुसी चि’ र ऋचा शर्माको फिल्म ‘कौसिद’ प्रदर्शनमा आउनेछ ।
पुस २९ मा सारा सिपाइली अभिनित ‘गुञ्जन’सँगै पुष्प खड्का र साम्राज्ञी राज्यलक्ष्मी शाह अभिनित फिल्म ‘तिम्रो मेरो साथ’ र राजु गिरीको निर्देशन रहेको ‘दिलमाया–२’ प्रदर्शनमा आउँनेछ ।
पुसपछि, माघ २० गतेका लागि जीतु नेपाल र साम्राज्ञी राज्यलक्ष्मी शाह अभिनित फिल्म ‘ह्यारीकी प्यारी’ले प्रदर्शन मिति घोषणा गरेको छ । माघका लागि अहिलेसम्म अन्य फिल्मले प्रदर्शन मिति तोकिसकेका छैनन् । यद्यपी माघे संक्रान्तीमा फिल्मको व्यापार राम्रो हुने भएपछि केही फिल्महरु प्रदर्शनमा आउने देखिन्छ ।
फागुनमा भने हेभीवेट फिल्मबीच प्रतिस्पर्धा हुने देखिएको छ । फागुन–५ गते रामबाबु गुरुङ्ग निर्देशित ‘फूलबारी’, नारायण रायमाझी निर्देशित ‘परदेशी–२’ र घनश्याम लामिछाने निर्देशित ‘लण्डन टु पेरिस’ प्रदर्शनको तयारीमा छन् ।
फागुन १२ मा सरोज खनालको फिल्म ‘बगान’ प्रदर्शनमा आउँनेछ । फागुनको १९ गते भने वर्षकै सबैभन्दा ठूलो प्रतिस्पर्धा हुने देखिएको छ । फागुन १९ मा दीपकराज गिरी र दीपाश्री निरौलाको ‘छक्कापञ्जा–४’, अनमोल केसीको ‘छड्के–२’, सुरज पाण्डे निर्देशित ‘परस्त्री’ र लक्ष्मण सुनार निर्देशित ‘बुलाकी’ प्रदर्शनमा आउँनेछ ।
चैतको १० गतेका लागि जोन योञ्जन निर्देशित ‘म राजेश हमाल’ले प्रदर्शन मिति तय गरेको छ । वैशाख १ गते फिल्मबीच ठूलो प्रतिस्पर्धा हुने देखिएको छ । उक्त मितिका लागि रामबाबु गुरुङको ‘जारी’, विकासराज आचार्यको ‘नाइँ नभन्नु ल–६’ र झरना थापाको ‘भागवत् गीता’ले प्र्रदर्शन मिति तय गरेका छन् ।