
बामपन्थी नेता तथा स्वतन्त्र उम्मेदवार घनश्याम भुसालले चुनावपछि पनि देशले गठबन्धन माग गर्ने दावी गरेका छन् ।
रुपन्देहीको तिलोत्तमा ९ स्थित गौतमबुद्ध प्राविमा मतदान गरेपछि प्रतिक्रिया दिँदै नेता भुसालले कुनै न कुनै प्रकारको गठबन्धन बन्ने निश्चित जस्तै रहेको बताए ।
अब बन्ने गठबन्धनले ‘कमन मिनिमम प्रोग्राम’ बनाउनुपर्ने बताए ।
‘घोषणापत्रको जस्तो होइन डिटेल प्रोग्राम गरे भने हाम्रो व्यवस्थाको अभ्यास अझै राम्रो जान्छ । त्यो एकदमै जरुरी पनि छ । म चाही त्यो पार्टीहरुले गरुन भन्ने चाहन्छु,’ भुसालले भने ।
देशमा केही राजनीतिक अस्थिरताहरु आए पनि अहिले लिकमा आएको बताउँदै भुसालले संविधान र संविधानका अभ्यासहरू 'स्मूथ' हुन थालेको बताउँदै संघीय लोकतान्त्रिक गणतन्त्रको अभ्यासको दोस्रो निर्वाचनले अझ बलियो बनाउने बताए ।
भुसाल एमाले परित्याग गरी रुपन्देही १ बाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवार छन् ।
उनलाई सत्तारुढ गठबन्धनले सघाएको छ । उनीसँग एमाले सचिव छविलाल विश्वकर्मा प्रतिष्पर्धी छन् ।